हेटौँडा/चीनको तिब्बततर्फबाट आएको भोटेकोसी बाढीका कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस बागमती प्रदेशले दुःख व्यक्त गरेको छ।
प्रदेश सभापति इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै बाढीका कारण तटीय क्षेत्रमा जोखिम बढिरहेकाले सम्भावित क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय गरी उद्धार, उपचार तथा राहतका कामलाई तत्काल तीव्र बनाउन कांग्रेस बागमती प्रदेशले आग्रह गरेको छ।
विपद्को समयमा नागरिकलाई संयमित र सुरक्षित रहन आग्रह गर्दै कांग्रेसले स्थानीय प्रशासनसँग समन्वय गरेर उद्धार तथा राहतमा सक्रिय हुन आफ्ना जिल्ला, क्षेत्र, गाउँ/नगर र वडा कार्यसमितिसहित शुभेच्छुकहरूलाई समेत अपिल गरेको छ।











