हेटौंडा/मकवानपुरको राक्सिराङ गाउ“पालिका–३, गलमटे केराबारिमा रहेको मनमोहक पर्यटकीयस्थल जलपरी झरना उक्त क्षेत्रको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । हेटौंडाआसपासबाट झरना हेर्नका लागि पर्यटकको आगमन बढ्न थालेपछि उक्त क्षेत्रले पर्यटकीय गन्तव्यका रुपमा चर्चा कमाउन थालेको हो ।

हेटौंडा बजारबाट करिब ३० किलोमिटर र मनहरीबाट करिब १० किलोमिटर पार गरेपछि जलपरी झरना पुग्न सकिने राक्सिराङ–३ का वडा खध्यक्ष उत्तम वाइबाले जानकारी दिए । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परिरहेको झरनाको प्रवद्र्धनस“गै पूर्वाधार विकासका लागि वडा कार्यालय निरन्तर लागिरहेको उनले बताए । झरनास“गै चमेरे गुफासमेतलाई समेटेर पर्यटकीय विकासका योजना अघि बढाइएको वडा अध्यक्ष वाइबाले बताए ।

जलपरी झरनाको पर्यटकीय उपयोगलाई लक्षित गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी यसको संरक्षण र प्रवद्र्धनका लागि २०७४ सालयता निरन्तर प्रयास गरिएको भन्दै उनले भने–यहा“को पूर्वाधार विकासका लागि प्रदेश तथा पालिकाबाट हालसम्म एक करोड २७ लाख बजेट विनियोजन भइ विभिन्न काम भएका छन् । झरनापरिसरमा वडा कार्यालयका तर्फबाट बुद्धमूर्ति राखिएको उनले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत् परिसरमा पदमार्ग निर्माणस“गै विभिन्न फूलका बिरुवा रोपिएका छन् ।

पछिल्ला वर्षमा पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत् गरी वनभोजस्थल पनि निर्माण गरिएका जानकारी दि“दै वडा अध्यक्ष वाइबाले हाल परिसरमा दुई वटा वनभोजस्थल व्यवस्थितरुपमा रहेको जानकारी दिए । ‘जलपरी झरना घुम्न र वनभोजका लागि आउने सर्वसाधारणको आकर्षण बर्सेनि बढ्दो छ,’ उनले भने–अत्यावश्यकीय पूर्वाधार विकासस“गै राम्रो प्रवद्र्धन गरिए यो एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास हुने पक्का छ ।

जलपरी झरना र चमेरे गुफालाई पर्यटनस“ग जोड्दै तल गाउ“मा घरबास सञ्चालन गर्नु अपरिहार्य भएको स्थानीय रामकुमार एलनले बताए । ‘जलपरी झरनालाई पर्यटनस“ग जोड्न सकेमा यसले राक्सिराङ गाउ“पालिकास“गै मकवानपुरकै पर्यटनमा विशिष्ट योगदान दिने देखिन्छ,’ उनले भने–१२ महिना नै अटुटरुपमा पानी झरिरहने झरनालाई पर्यटकीय उपयोगका लागि स्थानीय सरकारस“गै प्रदेश र संघको संयुक्त सहयोग र सहकार्य अपरिहार्य छ । यहा“को पर्यटकीय विकासले ग्रामीण अर्थतन्त्रमा पनि विशिष्ट योगदान पुग्ने उनले बताए ।

पछिल्ला समयमा वनभोजका लागि निर्माण गरिएका टहरास“गै पदमार्ग व्यवस्थित गरिएका कारण आउने पर्यटकलाई झरनासम्म पुग्न सहज भएको छ । वडा अध्यक्ष वाइबाका अनुसार त्यहा“को समग्र विकासस“गै व्यवस्थापनमा हरियाली सामुदायिक वनले महत्वपूर्ण सहयोग गरिरहेको छ । झरनाभन्दा तल विशेषगरि तामाङ, मगर र चेपाङ बस्ती रहेको जानकारी दि“दै उनले ती वस्तीमा घरबास सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

‘हामीले घरबास सञ्चालनका लागि स्थानीयलाई प्रेरित गरिरहेका छौं,’ उनले भने–जलपरी झरना र चमेरे गुफाको विकासस“गै पूर्वाधार निर्माण, प्रचारप्रसार र पर्यटन प्रवद्र्धन गर्दै यहा“ आउने पर्यटकका लागि घरबास सञ्चालन गर्न सकिए यसले गाउ“मा पर्यटकको चहलपहल पनि बढ्ने, रोजगारीका अवसर सिर्जना भइ स्थानीयको आयआर्जन वृद्धि हुने थियो । झरनापरिसरमा राखिएको बुद्धमूर्तिस“गै मृगलाई झम्ट“दै गरेको बाघको मूर्ति, झरनाको छेऊमा राखिएको जलपरीको मूर्तिका साथै तस्बिर खिच्नका लागि बनाइएको आकर्षक स्थान आदिले पर्यटकलाई लोभ्याइरहेको छ ।

पछिल्ला समय हेटौंडाका साथै चितवनलगायत स्थानबाट दिनानुदिन पर्यटकहरु आउने गरेका छन् । सार्वजनिक बिदाको दिन त्यहा“ जाने पर्यटकको संख्या बढी हुन्छ । बर्दघाटबाट जलपरी झरना घुम्न आएका प्रदीप बिकले झरना तथा त्यहा“को परिवेशले आफूलाई निकै मोहित बनाएको अनुभव सुनाए । चितवनमा आफन्तकोमा आउ“दा केही समय छुट्याएर आफू झरनामा पुगेको बताउ“दै उनले यसको प्रचारप्रसार गर्न सकिए आकर्षक पर्यटकीय गन्तव्य बन्नसक्ने धारणा राखे ।

झरनापरिसरमा भेटिएका चितवन भण्डाराका अभिषेक सुनारले आफू दोस्रोपटक आएको बताए । ‘केही समय पहिला साथीहरुस“ग घुम्न आएको थिए“,’ उनले भने–झरना तथा यहा“को परिवेश लोभ्याउने खालको छ । दोस्रोपटक आफन्तहरु लिएर घुम्न आएको हु“ । जलपरी झरना तथा चमेरे गुफा पार्क क्षेत्रमा पर्यटकको सुबिधालाई लक्षित गरी बिजुलीको लाइन विस्तार गर्न लागिएको छ । झरनाका कारण गाउ“मा चहलपहल बढ्दै गएपछि स्थानीयले चिया तथा खाजा पसल थप्ने क्रम पनि बढेको छ ।

आगामी दिनमा पर्यटकीय चहलपहल बढ्ने देखेर स्थानीय छेकु दोर्जेपाख्रिनले गाउ“मा चिया तथा खाजा पसल सञ्चालन सुरु गरेको जानकारी दिए । ‘ठाउ“ठाउ“बाट झरना तथा पार्कमा पर्यटक आउन थालेका कारण चहलपहल बढिरहेको छ,’ उनले भने–आउने पर्यटकलाई चिया तथा खाजाको सुबिधा उपलब्ध गराउने उद्धेश्यसाथ मैले चिया तथा खाजा पसल सुरु गरेको छु । यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि तीन तहका सरकारले योजनाबद्ध काम गर्न सके रोजगारीका अवसर सिर्जना हुनुका साथै आयआर्जन बढ्ने, आर्थिक गतिविधि चलायमान हुने उनको भनाइ छ ।