हेटौँडा/लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगको पुनः सञ्चालनको तयारी भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत निरीक्षण गर्नुभएको छ।
आज(शनिबार )बिहान मन्त्री यादव नेतृत्वको टोलीले हेटौँडा उपमहानगरपालिका–८ स्थित कपडा उद्योगको निरीक्षण गर्दै उद्योग सञ्चालनका लागि सरकारले आवश्यक लगानी गर्ने बताएको हो। उद्योगलाई कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको मन्त्री यादवले जानकारी दिनुभयो।
निरीक्षणका क्रममा नेपाली सेनाका अधिकृतसँग उद्योगको भौतिक पूर्वाधार, मेसिनको अवस्था र सञ्चालनको सम्भावनाबारे जानकारी लिइएको थियो। उद्योगको उत्पादन क्षमता बढाउने, रोजगारी सिर्जना गर्ने तथा सञ्चालनका क्रममा देखिएका चुनौती समाधान गर्ने विषयमा पनि सरोकारवालासँग छलफल गरिएको थियो।
उद्योगमा रहेका ४ सय ८८ वटा तानमध्ये हाल १२ वटा मात्र सञ्चालनमा रहेको जानकारी गराइएको छ। साढे दुई दशकभन्दा लामो समय बन्द रहेको उद्योगमा सरकारले नेपाली सेनालाई मर्मतसम्भार तथा सञ्चालनको जिम्मेवारी दिएपछि गत साउन २३ गते दुई वटा लुम सञ्चालन गरी परीक्षण उत्पादन सुरु गरिएको थियो।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा २०३२ सालमा स्थापना भएको उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन थालेको थियो। राजनीतिक हस्तक्षेप, कमजोर व्यवस्थापन, प्रविधि आधुनिकीकरणको अभाव, लोडसेडिङ तथा बढ्दो आर्थिक दायित्वलगायत कारण उद्योग २०५६ सालदेखि उत्पादन बन्द गर्दै २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो।
निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी, नेपाली सेनाका प्रमुख सेनानी रुपेन शाक्य, हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी व्यवस्थापक संगिता कुँवरलगायत सहभागी थिए।
- सरकारले हेटौँडा कपडा उद्योगसँगै अन्य बन्द उद्योगलाई समेत पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेको मन्त्री यादवले बताउनुभएको छ।












