मकवानपुर/ मकवानपुरको बकैया गाउँपालिका–५ तिनतलेमा स्थानीय युवाले स्वदेशमै रोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले ‘बौद्ध बेम्बो कटेज’ सञ्चालनमा ल्याएका छन्।

स्थानीय युवा जितन चौलागाईं र पासाङ तामाङको करिब ५० लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको कटेजको शुक्रबार बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले उद्घाटन गरेका हुन्। व्यवसायमार्फत करिब १ सय जनालाई स्वदेशमै रोजगारी दिने लक्ष्य राखिएको व्यवसायीले बताएका छन्।

उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खत्रीले युवाले देशको नीति, नियम र कानुनी परिधिभित्र रहेर व्यवसाय सुरु गरेकोमा खुसी व्यक्त गर्दै सफलताको शुभकामना दिए।
‘बकैया गाउँपालिकाका युवामा उद्यम गर्ने दक्षता र क्षमता विकास भएकोमा निकै हर्षित छु,’ उपाध्यक्ष खत्रीले भने, ‘यस व्यवसायले स्थानीयको आयआर्जन र जीविकोपार्जनमा ठूलो राहत पुग्ने विश्वास लिएको छु।’
हाल कटेज सञ्चालनमा ल्याइए पनि केही समयपछि ग्राहकको बसोबासका लागि होटल तथा आवासीय सेवा समेत सञ्चालनमा ल्याउने व्यवसायी जितन चौलागाईंले जानकारी दिए।

स्थानीय स्रोत, सीप र जनशक्तिको प्रयोगमार्फत रोजगारी सिर्जना गर्दै युवालाई स्वदेशमै उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले कटेज सञ्चालनमा ल्याइएको व्यवसायीको भनाइ छ।













