हेटौंडा/हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाले हालै वडा–१९ को बासुदेब खोल्सीले बगाएर ३ छात्राको (रेशमा स्याङ्तान, बिनिता ब्लोन र सुमित्रा ब्लोन) मृत्यु भएको सम्बन्धमा शोक विज्ञप्ति जारी गर्ने भएको छ । वडामा एक दिन शोक बिदा दिने निर्णय पनि शुक्रबारको बैठकले गरेको छ ।
मृतक छात्राको हकमा काजकिरिया तथा अन्त्यष्टिसम्बन्धि खर्च बहोर्ने, खोलाबाट उद्धार गरिएकी छात्राको उपचार तथा शिक्षासम्बन्धि खर्च बेहोर्ने, बासुदेब खोल्सीको जोखिमबाट बच्नका लागि कल्भर्ट निर्माण गर्ने र मृतक विद्यार्थीको अर्धकदको शालिकसहित उपयुक्त स्थानमा पार्क विकास गर्दै लगिने निर्णय पनि गरिएको छ ।
विद्यालयको पढाइ सकेर घर फर्किने क्रममा भदौ २ गते सा“झ ५ः३० बजे बासुदेव खोलाले बगाउ“दा कक्षा–५ मा पढ्ने ११ वर्षीया सुमित्रा ब्लोन, १२ वर्षीया बिनिता ब्लोन र कक्षा–२ की ८ वर्षीया विद्यार्थी रेशमा स्याङ्तानको मृत्यु भएको थियो ।
खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्राको शव चौथो दिन फेला परेको थियो । यसस“गै खोलाले बगाएका विद्यार्थीमध्ये मृत्यु हुनेको संख्या तीन पुगेको छ । बगाएकामध्ये राक्सिराङ–१ की रेशमाको शव यसअघि नै फेला परेको थियो भने बिनिता बोलनको शव बुधबार बासुदेव र राप्तीखोलाको दोभानमा फेला परेको थियो । घटनामा कक्षा–६ मा अध्ययनरत् सीमा ब्लोनलाई घाइते अवस्थामा सकुशल उद्धार गरिएको थियो । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
बेपत्ता रहेकी सुमित्राको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय परिचालन भएका थिए । बिहीबार विहान इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजी गर्ने क्रममा बगाएको स्थानबाट करिब ५ किलोमिटर तल मनहरी गाउ“पालिका–३, लामिटारस्थित राप्तीखोलामा सुमित्राको शव फेला पारेका हुन् । प्रहरीका अनुसार खोलाको का“स र बालुवामा अल्झिएको अवस्थामा सुमित्राको शव फेला परेको हो । आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक राजेशकुमार बर्तौलाको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो ।












