मकवानपुर । मकवानपुरको हेटौँडामा मंगलबारबाट दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सुरु हुँदैछ ।

हेटौंडा-१० स्थित टिसिएन चौरमा फागुन १८ गतेसम्म चल्ने महोत्सव गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने तयारी भएको आयोजक निर्माण व्यवसायी संघ मकवानपुरले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

दश वर्षपछि पुनः हुन लागेको महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ । यस्तै, बाल उद्यान, विभिन्न परिकारका खानाका स्टलहरू तथा अन्य मनोरञ्जनात्मक गतिविधिहरूको समेत व्यवस्था गरिएको छ ।

संघ अध्यक्ष बालगोपाल कडेँलका अनुसार महोत्सवमा ३५० भन्दा बढी स्टल रहनेछन् । निर्माण सामग्री उत्पादक, उद्योगी, व्यवसायी, हस्तकला व्यवसायी, महिला उद्यमी तथा उपभोक्ताहरूको महोत्सवमा सहभागिता रहनेछ । मकवानपुरका उद्योगी तथा व्यापारीहरूलाई विशेष प्रोत्साहनस्वरूप स्टल भाडामा ५० प्रतिशत छुट प्रदान गरिएको जनाइएको छ ।

महोत्सवमा निर्माण उपकरण तथा औद्योगिक व्यवसाय प्रर्वद्धनका लागि अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिने संघको भनाई छ । व्यवसायी, बिक्रेता तथा उपभोक्ताबीच समन्वय कायम गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।

महोत्सवमा विगतमाझैँ ‘हेटौंडा आइडल’ नामक गायन प्रतियोगिता हुनेछ । यसमा मकवानपुरका गायनमा रुची भएकाहरुले भाग लिनेछन् । यसमा १६ जना प्रतिस्पर्धी छनोट भइसकेको बताइएको छ । महोत्सवका क्रममा उनीहरुले दिने प्रस्तुतीका आधारमा दर्शकले भोट दिने र विजेता छानिने आयोजकको भनाई छ ।

एक लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा तीन करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा राखिएको अध्यक्ष कँडेलले बताए ।