दुर्घटनाको सांकेतिक तस्बिर ।

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्‍याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका ६ खयरघारी कि ३५ वर्षीया पुजा बम्जन रहेकी छन् ।

शुक्रबार साँझ करिब ८ बजेको समयमा चितवनतर्फ जाँदै गरेको ना ४ ख. २४९६ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना १ ह. ८३०८ नम्बर को अटोलाई ठक्कर दिएको थियो । दुर्घटना परी तीन जना घाइते भएकोमा थानाभर्‍याङमै रहेको सिएमसी चुरेहिल अस्पतालमा उपचारको क्रममा बम्जनको मृत्यु भएको हो ।

मृतक बम्जनका ११ वर्षीय छोरा अमृत र अटो चालक हेटौंडा–१९ बासघारीका २५ वर्षीय राजु थिङ घाइते भएका हुन् । अटो चालकको अवस्था गम्भीर रहेको र अमृतको अवस्था सामान्य रहेको मकवानपुर प्रहरीको भनाई छ ।

ट्रक चालक चितवन राप्ती नगरपालिका २ पिप्लेका ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।