
मकवानपुर । मकवानपुरको हेटौंडामा भएको भेलाले नेपाल पानी उद्योग महासंघ घोषणा गरेको छ ।
देशैभरिका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरी बजारमा पठाउने उद्योगहरुकोभएको प्रथम प्रारम्भिक भेलाले विक्रम लिम्बु चेमजोङलाई संयोजक चयन गरेको छ ।
छाता संगठनका रुपमा महासंघको गठन गर्न गत पुष २६ र २७ गते काठमाण्डौंमा बसेको उद्योगीहरुको भेलाले माघ १७ गते मकवानपुरको हेटौंडामामा प्रारम्भिक भेला राख्ने निर्णय गरेको थियो । बिहीबार हेटौंडामा भएको भेलाले चेमजोङको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।
तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा भरत बुदाथोकी, उपाध्यक्षहरुमा क्रमश रविन्द्र मोहन अधिकारी, पुरुषोत्तम पाण्डे, रुपचन्द्र नौलखा, सवि कार्की, भुवन लोहनी, बिक्रम मण्डल रहेका छन् । त्यस्तै महासंघको महासचिवमा युवा उद्योगी ध्रुव प्रसाद अधिकारी चयन भएका छन् । समितिको उपमहासचिवमा रेसा श्रेष्ठ, कोषाध्यक्षमा देव नारायण चौलागाई रहेका छन् । भेलाले तदर्थ समितिको सदस्यहरुमा क्रमश सहदेव बोलखे, ज्ञानहरी लामा, अनिल आचार्य, टक बहादुर सारु, विष्णु हमाल, पदम राउत, शौरभ मारु, कृष्ण आचार्य, नारायण गिरी, शाहिल शाह, रक्की लामा र उपेन्द्र कुमार खड्का सर्वसम्मत चयन भएका छन् ।
पछिल्लो समय प्रशोधित पिउने पानीको माग बढ्दो अवस्थामा देशैभर झण्डै ७ सय बढी पानी उत्पादन गर्ने उद्योगहरु संचालनमा छन् । पानी उद्योगमा १५ अर्ब बढिको लगानी भएको छ भने २२ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यसमा पनि रोजगारीमा जोडिएका परिवारबाट ६६ हजारले रोजगारमा प्रत्यक्ष लाभ लिएका छन् । यस्तो अवस्थामा पानी उत्पादन गर्ने उद्योगहरुको छाता संगठनका रुपमा नेपाल पानी उद्योग महासंघको घोषणा भएको हो ।
तदर्थ समितिका संयोजक चेमजोङले सबै उद्योगीको हकहितको संरक्षण गर्न र नेपालको पानी अन्तराष्ट्रिय बजारमा लैजान पहल गर्न महासंघको स्थापना गर्नुपरेको बताए । उनले महासंघको पारदर्शितामा प्रश्न उठाउने ठाउँ नरहने गरी तोकिएको समयसिमा भित्र प्रथम अधिवेशन गर्ने समेत बताए । उनले देशभरका सबै पानी उद्योगीहरुलाई महासंघमा गोलबन्द हुन आग्रह गरेका छन् ।
तदर्थ समितिका महासचिव युवा उद्योगी ध्रुव प्रसाद अधिकारीले धेरै लामो प्रयास र छलफलपछि महासंघको घोषणा गरिएको बताए । उनले सम्पूर्ण पानी उद्योगीहरुको व्यवसायिकतामा सहयोग गर्न र उद्योगीहरुको हकहितको संरक्षण तथा व्यवसायीहरुलाई थप उत्तरदायी बनाउन महासंघको घोषणा गरेको बताए । उनले वैज्ञानिक तथा आधुनिक प्रविधिको आधारमा पानी उद्योगहरुको विकास गने समेत बताए ।