
मकवानपुर । वरिष्ठ गीतकार एवम् कलाकार नीर शाहलाई भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार २०८१’ प्रदान गरिएको छ ।
मकवानपुरको हेटौँडामा कलाकार शाह नगद एकलाख रुपैयाँ राशीसहितको पुरस्कारबाट सम्मानिन भएका हुन् ।
साहित्यकार नगेन्द्र थापा तथा पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठले कलाकार शाहलाई पुरस्कार प्रदान गरे । पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि थापाले शाहका गीत हल्का शब्दहरू बुनेर दुईदिनका नलेखिएको बताउँदै मानवीय संवेदनाको गहिराईमा पुगेर लेखिएको सुनाए । थोरै गीत लेखेर पनि शाहका गीतहरू स्रोताको रोजाइमा परेको उनले बताए ।
समारोहमा कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले सम्मानित शाहको व्यक्तित्वका बारेमा चर्चा गरे ।
कलाकारहरू वृष्मा गहतराज, पूरण बिक्रम अधिकारी, दिपेश श्रेष्ठ, रमेशराज गहतराज, बाबु क्षेत्री, सुनिता शर्मा लुइँटेल, अन्जन दाहाल, मथुरा प्रधान लगायतले गीत प्रस्तुत गरेको महासचिव छवि अनित्यले जानकारी दिए ।
प्रतिष्ठानले वि.सं. २०६४ सालदेखि यो प्रदान गर्दै आएको छ । शाह पुरस्कार प्राप्त गर्ने सोह्रौँ स्रष्टा हुन् । स्वदेश तथा विदेशमा रहेर नेपाली गीतसंगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने स्रष्टालाई यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । हालसम्म अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभन्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डंगोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जंगम, डा. किरण प्रधान र राजेन्द्र थापा पुरस्कृत भइसकेका छन् ।
प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको अध्यक्षतामा पुरस्कार वितरण समारोह भएको हो ।