काठमाडौं । सरकारले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका बनाउने भएको छ ।

नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढ्दै गएकाले यसको समाधानमा सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्देशिका बनाउने निर्णय लिएका हुन् । बढ्दो स्वास्थ्य समस्या सम्बोधनका लागि आफू नेतृत्वको काम थालेको उनको भनाई छ । अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरुमा प्रभावकारी काम गर्नका लागि भन्दै मन्त्री पौडेलले सर्वप्रथम रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरेका हुन् । यसका लागि डाक्टर दिपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय मिति गठन गरिएको छ । समितिमा दिपकराज सापकोटा, डाक्टर सुनिता मलेकु, डाक्टर मेरिना श्रेष्ठ, डाक्टर अरुण कुँवर सदस्य छन् ।

यस्तै, ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधि लाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ ।

समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका कार्यक्रममा समावेश गर्न सकिने विषय सुझाव दिनेछ । अटिजम भएका बालबालिकाको हेरचाह, उपचार तथा सहयोगसम्बन्धी क्रियाकलाप निर्देशिकामा समावेश गर्नेछ ।
नेपालको जनगणना २०७८ अनुसार अटिजम भएका व्यक्तिहरुको संख्या ४ हजार ८८४ रहेका छन् ।