हेटौंडा/भरतपुरको वैष्णव रेष्टुरेन्टमा सागभित्र शंखेकीरा भेटिएपछि प्रशासनद्वारा सिल गरिएको छ । रेष्टुरेन्टमा परोसिएको सागमा शंखेकीरा भेटिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले रेष्टुरेन्ट तत्कालका लागि बन्द गराएको छ ।
अनुगमनका क्रममा रेष्टुरेन्टमा गुणस्तरहीन खानेतेल प्रयोग भइरहेको समेत भेटिएपछि प्रशासनले खाद्य स्वच्छतामा गम्भीर लापरबाही भएको निष्कर्ष निकाल्दै तत्काल सिल गर्ने निर्णय गरेको हो । घटनाअनुसार रेष्टुरेन्टमा खानाखान पुगेका सेवाग्राहीले आफूलाई परोसिएको सागभित्र शंखेकीरा फेला परेपछि तत्काल जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका थिए । उपभोक्ताको गुनासो प्राप्त हुनासाथ सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माको नेतृत्वमा प्रशासन, सम्बन्धित निकाय तथा सरोकारवालाको टोली रेष्टुरेन्टमा पुगेर अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा भान्साको सरसफाइ, खाद्य सामग्रीको भण्डारण, पकाउने वातावरण तथा प्रयोग भइरहेका खानेतेलको अवस्था परीक्षण गरिएको थियो । निरीक्षणका क्रममा प्रयोग भइरहेको तेलको गुणस्तरसमेत मापदण्डअनुसार नरहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । उनका अनुसार उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने खालका कमजोरी देखिएकाले रेष्टुरेन्ट तत्कालका लागि बन्द गरिएको हो । उनले आवश्यक सुधारका लागि व्यवसायीलाई निर्देशन दिइएको बताउँदै खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धि सबै मापदण्ड पूरा गरेपछि, सुधारप्रति लिखित प्रतिबद्धता जनाएपछि र तोकिएको जरिवाना बुझाएपछि मात्र पुनः सञ्चालनको अनुमति दिइने स्पष्ट पारे ।
प्रशासनले खाद्य स्वच्छता र उपभोक्ता सुरक्षामा कुनै पनि प्रकारको सम्झौता नगर्ने नीति लिएको जनाएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई खाद्य सामग्रीको गुणस्तर, भान्साको सरसफाइ, सुरक्षित भण्डारण, म्याद नाघेका सामग्री प्रयोग नगर्न तथा गुणस्तरीय खानेतेल प्रयोग गर्न विशेष ध्यान दिन आग्रह गरिएको छ । पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा खाद्य स्वच्छतासम्बन्धि गुनासा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने व्यवसायमा लापरबाही गर्ने जोकोहीलाई कानुनबमोजिम कारबाही गरिने प्रशासनको चेतावनी छ ।
उपभोक्ताले पनि आफूले उपभोग गर्ने खाद्यवस्तुमा कुनै प्रकारको गुणस्तरहीनता, सरसफाइको कमी वा स्वास्थ्यमा असर पर्ने अवस्था देखिए सम्बन्धित निकायमा तत्काल जानकारी गराउन प्रशासनले आग्रह गरेको छ । यस्ता सूचनाले उपभोक्ताको अधिकार संरक्षण हुनुका साथै खाद्य व्यवसायलाई समेत जिम्मेवार र उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास प्रशासनको छ ।












