मकवानपुर । मकवानपुरको मनहरीमा बस चढेका व्यक्तिको नगद चोरीमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएराती ११ बजेतिर मनहरी गाउँपालिका वडा नम्बर- ६ बस्ने ४९ वर्षिय भरत गौतम हेटौडाबाट ना ५ ख ८१०१ नम्बरको बस चढी लोथर जाने क्रममा उनको साथमा रहेको नगद ५१ हजार रुपैयाँ चोरी गर्नेहरु पक्राउ परेका हुन् ।
बसमा सवार गौतमको साथबाट नगद लुट्ने कार्यमा संलग्न सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका वडा नम्बर ६ बस्ने ३२ वर्षिय लाक्पा तामाङ, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-१० बस्ने ४२ वर्षिय प्रेम दोर्जे शेर्पा र धनकुटाको छथर गाउँपालिकावडा नम्बर– ३ बस्ने ३७ वर्षिय हेमराज श्रेष्ठ पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ ।
चोरी भएको सूचना प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले हुलियाको आधारमा खोजतलास गर्दा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।






















