मकवानपुर । बडादशैं २०८१ का अवसरमा देशका विशीष्ट व्यक्तित्वले शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । उनले आफ्नो शुभकामना सन्देशमा आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड बडा दशैं भएको उल्लेख गरेका छन् । विजयादशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने उल्लेख गर्दै राष्ट्रपति पौडेलले दशैँको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना समेत गरेका छन् ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन अनुरोध गरेका छन् । बडादशैंको सन्दर्भमा एक भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका हुन् । उनले विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरेका छन् । प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दशैँ उल्लासपूर्ण हुन नसकेको समेत सन्देशमा उल्लेख गरेका छन् । ‘विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ । भारी मनकासाथ दशैँको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्था र म पनि रमाउन सकिरहेको छैन’, उनले आफ्नो सन्देशमा भनेका छन्, दशैँअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त जेष्ठ नागरिकहरुले जीवन गुमाउनुपर्यो । कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो ।’
प्रधानमन्त्री ओलीले सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह पनि गरे । ‘प्रकोपले किसानको अन्नबालि नोक्सान भएको छ, त्यसको मूल्याङ्कन गरेर क्षतिपूर्ति उपलब्ध गराउछौँ । भत्किएका घरहरु पुनर्निर्माण गरी हस्तान्तरण गर्नेछौँ । यसप्रति आश्वस्त रहँदै, सबैलाई दशैँ मनाउन र मिल्नेहरुले टीका लगाउन म आग्रह गर्न चाहन्छु ।’ प्रधानमन्त्री ओलीको सन्देशमा छ ।

सभामुख देवराज घिमिरेले विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै दशैँले समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले शुभकामना सन्देशमा भनेका छन्,‘असत्यमाथि सत्यको विजय दशैँको सबैभन्दा ठूलो सन्देश हो । यसको सांस्कृतिक, धार्मिक र सामाजिक महत्व रहेको छ । दशैँले देवी दुर्गाप्रति आस्था अभिवृद्धिसँगै परिवार र समुदायबीचको सम्बन्धलाई बलियो बनाउन उत्तिकै भूमिका खेलेको छ । समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत गरेको छ ।’
पछिल्लो समय नेपाली हिन्दूले मात्र नभई अन्य धर्म-सम्प्रदायले समेत दशैँ मनाइरहेको सन्दर्भमा दशैँ सबै नेपालीको साझा चाडका रूपमा विकास भएको उल्लेख गर्दै उनले दशैँ नेपालीहरूको लोकचाडका रुपमा समेत स्थापित हुँदै गएको बताए ।

यस्तै, बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बडादशैं २०८१ अवसरमा शुभकामना सन्देशमार्फत् बागमती प्रदेशवासी एवम् देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् । प्रमुख देवकोटाले हाम्रो परम्परा र मौलिकता बोकेका पर्वहरुले आपसमा एकता, सहिष्णुता अभिवृद्धि भई हाम्रो आपसी मेलमिलाप, सद्भाव र शान्तिलाई अझ प्रगाढ पार्दै लान सकोस् भन्ने शुभकामना व्यक्त गरेका हुन् । उनले जारी गरेको सन्देशमा भनिएको छ,‘धार्मिक तथा साँस्कृतिक महत्व बोकेको यो महान पर्वले मेलमिलाप, एकता र सद्भाव वृद्धि गर्ने विश्वास लिएको छु । आफूभित्र र समाजभित्र रहेका असत्यमाथि विजय प्राप्त गर्ने अवसर यो पर्वले दिनेछ । सबैतिर सुख, शान्ति र अमनचयन कायम रहोस् भन्ने कामना गर्दछु ।’

प्रमुख देवकोटाले दशैंको मुखमै आएको प्राकृतिक विपत्तिले देशका धेरै भागमा र खासगरी बागमती प्रदेशमा अकल्पनीय क्षती पु¥याएको भन्दै प्रमुख शर्माले यो विषम् परिस्थितिबाट माथि उठ्न र उठाउन सबैलाई यो पर्वले उर्जा दिने विश्वास व्यक्त गरे । साथै, उनले चाडपर्वलाई तडकभडक र भड्किलो नबनाइ मौलिक संस्कृतिको जगेर्ना हुने गरि सादगी र सभ्य तरिकाले मनाउन सबैलाई आग्रह गरेका छन् ।
देशका पूर्वप्रधानमन्त्री, मुख्यमन्त्रीहरु, विभिन्न पार्टीका नेता लगायतले पनि बडादशैं २०८१ को अवसरमा शुभकामना दिएका छन् ।