हेटौंडा । मकवानपुरगढी गाउँपालिका—३ स्थित मक्राञ्चुली सामुदायिक स्वास्थ्य एकाईंले बालबालिकाको स्वास्थ्य, पोषण अवस्था तथा अभिभावकको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्धेश्यले बुधबार स्वस्थ्य बच्चा प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगितामा ६ महिनादेखि २३ महिनासम्म उमेर समूहका ४२ बालबालिकाको सहभागिता थियो । ६ देखि १२ महिनासम्म उमेर समूहमा आनाया गोले प्रथम, सोबित न्यौपाने द्वितीय तथा अनिका आचार्य तृतीय भएका छन् । १३ देखि २३ महिनासम्म समूहमा सत्यम् पौडेल प्रथम, अनिता डिमडुङ द्वितीय तथा जोयल न्यौपाने तृतीय भएका छन् ।
उत्कृष्ट स्थान हासिल गर्ने बालबालिकालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो भने अन्य सहभागीलाई सान्त्वना पुरस्कार वितरण गरिएको थियो । पुरस्कृत बालबालिकाका अभिभावकका तर्फबाट शोभा लामिछानेले यस्ता कार्यक्रमले आमाबुबालाई आफ्ना बालबालिकाको स्वास्थ्य, पोषण र हेरचाहप्रति थप जिम्मेवार बन्न प्रेरणा मिल्ने बताइन् । बालबालिकाको स्वास्थ्य सुधार र अभिभावकमा चेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।
प्रतियोगितामा बालबालिकाको मूल्यांकन गर्भावस्थादेखिको स्वास्थ्य हेरचाह, गर्भवतीको नियमित स्वास्थ्य परीक्षण, संस्थागत् प्रसुति, जन्मपश्चात् नियमित खोप, वृद्धि अनुगमन, तौल तथा उचाईंमापन, पोषण अवस्था तथा समग्र स्वास्थ्य व्यवस्थापनलगायत सूचकका आधारमा गरिएको थियो । यसले बालबालिकाको स्वास्थ्य अवस्थासँगै अभिभावकको स्वास्थ्य सचेतना र जिम्मेवारीबोधलाई समेत प्रोत्साहित गरेको मक्राञ्चुली सामुदायिक स्वास्थ्य एकाईं प्रमुख नारायण घोरसैनीले बताए ।
मकवानपुरगढी गाउँपालिका—३ का वडा अध्यक्ष भागवत् घिमिरेले यस्ता कार्यक्रमले बालबालिकाको संरक्षण, स्याहारसुसार तथा स्वास्थ्यप्रति अभिभावकको जिम्मेवारीबोध बढाउने विश्वास व्यक्त गरे । आगामी वर्षहरुमा पनि प्रतियोगितालाई निरन्तरता दिइने उल्लेख गर्दै उनले पालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । अध्यक्ष घिमिरेले स्वास्थ्य सेवालाई घरदैलोमा पु¥याउने लक्ष्यसहित स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिँदै आएको जानकारी दिए । बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य सेवामा विशेष ध्यान दिइएको उल्लेख गर्दै उनले मकवानपुरगढी सामुदायिक अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको र प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरिसकेकाले अस्पताल छिट्टै सञ्चालनमा आउने बताए ।
‘स्वास्थ्य सबभन्दा महत्वपूर्ण विषय हो । त्यसमा पनि बालबालिकाको स्वास्थ्य अझ संवेदनशील र महत्वपूर्ण पक्ष हो,’ उनले भने—भोलिका कर्णाधारका रुपमा रहेका बालबालिकालाई स्वस्थ्य, तन्दुरुस्त र सक्षम बनाउन अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । यस्ता कार्यक्रमले अभिभावकलाई थप सचेत, जिम्मेवार र प्रेरित बनाउँछन् ।
पालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव लामिछानेले बालबालिकाको नियमित खोप, स्वास्थ्य परीक्षण तथा उचित स्याहारसुसारमा अभिभावकलाई थप जिम्मेवार र सचेत बनाउन प्रतियोगिता आयोजना गरिएको बताए । पालिकाले बाल स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ थियो । वडा—४ का स्वास्थ्य एकाईं प्रमुख लक्ष्मण दाहालले बालबालिकालाई नियमित खोप लगाउने, समयसमयमा स्वास्थ्य परीक्षण गराउने तथा पोषणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । स्वास्थ्य संस्थाले बालबालिकादेखि गर्भवती र अन्य सेवाग्राहीलाई समेत प्राथमिकतासाथ सेवा प्रदान गर्दै आएको उनले बताए ।
कार्यक्रममा वडा सचिव सोनिका अर्यालदाहाल, स्वास्थ्य स्वयम्सेविका, विभिन्न संघसंस्थाका प्रतिनिधि, सहभागी बालबालिकाका अभिभावकलगायतको उपस्थिति थियो । मक्राञ्चुली सामुदायिक स्वास्थ्य एकाईं, स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्यकर्मी तथा कर्मचारीको समेत सहभागिता रहेको कार्यक्रमको सञ्चालन तथा सहजीकरण एकाईं प्रमुख घोरसैनीले गरेका थिए ।















