हेटौंडा/नेपाल चिकित्सक संघले आफ्नो आन्दोलनलाई निरन्तरता दिँदै बुधबार पनि हेटौंडा अस्पतालसहित देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सबै सेवा बन्द राखेको छ।
संघले मंगलबार साँझ बसेको आकस्मिक बैठकबाट आन्दोलनलाई थप एक दिन निरन्तरता दिने निर्णय गरेको हो। आन्दोलनका कारण बिरामीले नियमित ओपीडी तथा अन्य गैरआकस्मिक स्वास्थ्य सेवामा समस्या भोग्नुपरेको छ।
चिकित्सक संघका अनुसार वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा अस्पतालमा गरिएको तोडफोडका दोषीलाई सरकारले हालसम्म कानुनी दायरामा ल्याउन नसकेको भन्दै आन्दोलनलाई थप सशक्त बनाइएको हो।
संघले सार्वजनिक गरेको कार्यक्रमअनुसार काठमाडौं उपत्यकाका चिकित्सक तथा स्वास्थ्यकर्मी माइतीघरमा भेला भएर विरोध प्रदर्शन गर्नेछन् भने उपत्यकाबाहिरका चिकित्सकहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र आफ्नै कार्यस्थलमा विरोध कार्यक्रम सञ्चालन गर्नेछन्।
संघले घटनाको चार दिन बितिसक्दा पनि दोषीमाथि कारबाही नभएको मात्र होइन, न्यायको माग गर्दै गएका चिकित्सकहरूमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट दुर्व्यवहार भएको आरोपसमेत लगाएको छ। यस्तो व्यवहारलाई संघले निन्दनीय र लज्जास्पद भन्दै सरकारसँग दोषीलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।











