हेटौंडा । हेटौंडा अटोमोबाइल्स एसोसिएसन र सिएमसी हेटौंडा तथा सिएमसी चितवनबीच सदस्य तथा उनीहरूको परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार एसोसिएसनमा आबद्ध व्यवसायी तथा उनीहरूका परिवारले अस्पतालले तोकेका विभिन्न स्वास्थ्य सेवा र औषधिमा छुट सुविधा प्राप्त गर्नेछन्। सम्झौतामा छुट लागू हुने तथा नहुने सेवाहरूको समेत स्पष्ट व्यवस्था गरिएको छ।

 

सम्झौता कार्यक्रमका संयोजक तथा एसोसिएसनका प्रतिनिधि विकास नेपालले आर्थिक पहुँचका कारण सबै व्यवसायीले सहज रूपमा गुणस्तरीय उपचार पाउन नसक्ने अवस्था रहेको उल्लेख गर्दै सदस्यहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै यस्तो कार्यक्रम ल्याइएको बताए।

कार्यक्रममा बोल्दै सिएमसी हेटौंडा हस्पिटल लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवकोटाले व्यवसायी समुदायलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल सदैव प्रतिबद्ध रहने विश्वास व्यक्त गरे।

सम्झौतापत्रमा सिएमसी हेटौंडा हस्पिटल लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवकोटा, हेटौंडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष धर्मराज धिमाल, कार्यक्रम संयोजक विकास नेपाल तथा अस्पतालका जनसम्पर्क अधिकृत पुरुषोत्तम न्यौपानेले हस्ताक्षर गरेका छन्।

अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक देवकोटाका अनुसार उक्त सम्झौता २०८३ साउन २० गतेदेखि २०८५ साउन २० गतेसम्म लागू रहनेछ।