हेटौंडा । हेटौंडा उपमहानगरपालिका—९ स्थित लामसुरे आधारभुत स्वास्थ्य केन्द्रमा गर्भवतीलक्षित निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरिएको छ । गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाबारे समयमै जानकारी लिन सहज बनाउने उद्धेश्यले उक्त सेवा सञ्चालनमा ल्याइएको वडा अध्यक्ष सुकराम केसीले जानकारी दिए ।
उनका अनुसार वडा कार्यालयको संयोजन, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग तथा बर्जर पेन्ट्स् प्रालिको संस्थागत् सामाजिक उत्तरदायित्वअन्तर्गत् प्राप्त पोर्टेबल भिडियो एक्सरे मेसिनमार्फत् सेवा प्रारम्भ गरिएको हो । वडाभित्रका गर्भवतीलाई लक्षित गरी रेडियोलोजिष्ट विशेषज्ञ चिकित्सकको उपस्थितिमा नियमितरुपमा सेवा सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष केसीले गर्भवतीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै वडाभित्र निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालन गरिएको बताए । उनले पोर्टेबल भिडियो एक्सरे मेसिनमार्फत् स्वास्थ्यकर्मीहरुले स्वास्थ्य केन्द्रबाट सेवा दिन थालेको जानकारी दिए । स्वास्थ्य केन्द्रबाट गर्भवतीलक्षित सेवामात्र नभइ दीर्घरोगीहरुका लागिसमेत विशेष सुबिधा उपलब्ध गराइएको छ । वडा कार्यालयका अनुसार विभिन्न दीर्घ तथा जटिल रोगबाट पीडित बिरामीलाई स्वास्थ्य केन्द्रमार्फत् नियमितरुपमा निःशुल्क औषधि वितरणसमेत भइरहेको छ ।
सेवा सुरु भएसँगै सामान्य भिडियो एक्सरे परीक्षणका लागि अस्पताल वा निजी क्लिनिक धाउनुपर्ने तथा अतिरिक्त आर्थिक भार व्यहोर्नपर्ने स्थानीय गर्भवतीको बाध्यता हट्ने अपेक्षा गरिएको छ । गर्भमा रहेका शिशुको अवस्था नियमितरुपमा निगरानी गर्न तथा सम्भावित स्वास्थ्य समस्याको समयमै पहिचान गरी आवश्यक उपचार प्रक्रिया अघि बढाउन सेवा प्रभावकारी हुने विश्वास गरिएको छ ।
आगामी आर्थिक वर्षदेखि महिनामा तीन दिन विशेषज्ञ चिकित्सकसहितको विशेष स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना रहेको वडा अध्यक्ष केसीले बताए । स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमैत्री बनाउने उद्धेश्यले रेडियोलोजिष्टसहित विभिन्न विशेषज्ञ चिकित्सकको उपस्थितिमा स्वास्थ्य शिविर तथा परामर्श सेवा सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए ।













