हेटौंडा/मकवानपुरमा विद्यार्थीहरुले पाउदै आएको ४५% यातायात छुट पूर्ण रूपमा कार्यान्वयनको माग सहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन । शुक्रवार विहान हेटौंडा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का कार्यबाहक अध्यक्ष भरत मोहन देवकोटाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
ध्यानाकर्षण पत्रमा नेपाल सरकारद्वारा व्यवस्था गरिएको सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई ४५% छुट प्रदान गर्ने नीति व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गरिएको स्ववियु सदस्य नितेश भण्डारीले बताए । यस्तै जिल्लाभित्र सञ्चालनमा रहेका कतिपय सार्वजनिक सवारी साधनहरूले उक्त छुट नदिने, मनोमानी भाडा असुल गर्ने तथा विद्यार्थीहरुमाथि दुव्यवहार गर्ने जस्ता गुनासाहरु आईरहेकोले त्यस समस्याको समधानका लागि आग्रह गरिएको छ । साथै सार्वजनिक यातायातका साधनहरूले नेपाल सरकारको नीतिअनुसार विद्यार्थीलाई प्रदान गरिने ४५% छुटलाई अनिवार्य र प्रभावकारी रूपमा कार्यान्वयन गराउन आवश्यक अनुगमन, निर्देशन तथा कारबाही प्रक्रिया अघि बढाइदिन आग्रह गरिएको छ । भने अन्तिममा उक्त विषयमा समयमै आवश्यक कदम चालिएन भने, विद्यार्थीहरुको हकहितको संरक्षणका लागि स्ववियु हेटौंडा क्याम्पस थप सशक्त आन्दोलनका कार्यक्रमहरु अघि बढाउन बाध्य हुने व्यहोरा समेत लेखिएको छ ।













