हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–१ माझगाउँस्थित बागमती नदीमा बगेर एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा बागमती गाउँपालिका–१ माझगाउँ निवासी मानबहादुर भोलनका छोरा अन्दाजी ३५/४० वर्षीय इन्द्रबहादुर भोलन रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार दिउँसो करिब १२:४५ बजे सिन्धुली जिल्लामा आफन्तको मृत्यु भएको स्थानमा जाने क्रममा बागमती नदी तर्दै गर्दा भोलनलाई नदीले बगाएको थियो। घटनाको सूचना प्राप्त भएपछि प्रहरी चौकी शिवराईगाउँ, मकवानपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

आफन्त तथा छिमेकीको सहयोगमा खोजी गर्ने क्रममा दिउँसो ३:०५ बजे बागमती गाउँपालिका–१ हात्तिढुङ्गास्थित बागमती खोलाको बीचमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा भोलनको शव फेला परेको प्रहरीले जनाएको छ। शव बगाएको स्थानभन्दा करिब ३/४ किलोमिटर तल फेला परेको हो।

घटनास्थलबाट थप अनुसन्धान तथा मुचुल्काका लागि इलाका प्रहरी कार्यालय फापरबारी, मकवानपुरबाट प्रहरी निरीक्षक सुनिल थापा नेपालीको कमाण्डमा SOCO सहितको प्रहरी टोली खटिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ