हेटौँडा /मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ सानोपोखराबाट प्रहरीले लागुऔषध खैरो हिरोइनसहित एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय ३१ वर्षीया सुष्मा तिमल्सिना रहेकी छन्। प्रहरीले बिक्री वितरण गर्ने उद्देश्यले घरमा लागुऔषध लुकाएर राखेको सूचनाका आधारमा शनिबार राति करिब १२ः१५ बजे उनको घरमा खानतलासी गरेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको संयुक्त टोलीले तिमल्सिना सुत्ने कोठामा रहेको स्टिलको दराजमा लुकाएर राखिएको अवस्थामा प्लास्टिकको एक पुरियामा खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेको हो।
प्लास्टिक हटाएर शुद्ध तौल गर्दा उक्त पदार्थ ३ ग्राम ८५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।
बरामद पदार्थसहित तिमल्सिनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











