हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सेल्फी रोड नजिकै सामुदायिक वनमा बोराभित्र फेला परेको महिलाको शव करिब दुई महिनापछि पहिचान भएको छ। डीएनए परीक्षणबाट मृतक भारतकी २२ वर्षीया रुची खातुन (अफ्रिना प्रविन) रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

गत साउन २२ गते दिउँसो करिब १ः५० बजे जंगलमा बोराभित्र महिलाको शव फेला परेको थियो। तत्काल पहिचान खुल्न नसकेपछि प्रहरीले मृतकको हुलिया, पहिरन र शरीरमा रहेका गरगहनाको विवरण सार्वजनिक गर्दै आफन्त वा चिन्ने व्यक्तिलाई प्रहरीमा सम्पर्क गर्न आग्रह गरेको थियो।

प्रहरीका अनुसार मृतकको उचाइ करिब ५ फिट १ इन्च र तौल करिब ६० किलो थियो। शव फेला पर्दा उनले सेतो फुलबुट्टा भएको गुलाबी कुर्था, सेतो सुरुवाल तथा भित्री वस्त्र लगाएकी थिइन्। उनका हातमा रातो र हरियो रंगका वाला, खुट्टामा बिछिया र बायाँ कानमा पहेँलो धातुजस्तो देखिने मुन्द्रा रहेको थियो।

शवको पहिचानका लागि अनुसन्धान अघि बढाउने क्रममा मकवानपुर प्रहरीले चितवनको भरतपुर महानगरपालिका–३, बेलचोक, नौघरे र गणेश मार्ग क्षेत्रमा समेत अनुसन्धान गरेको थियो। त्यसक्रममा मृतक घटना हुनुभन्दा करिब दुई महिनाअघि उक्त क्षेत्रमा कोठा भाडामा लिएर भारत घर बताउने २७ वर्षीय राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमारसँग बस्दै आएको खुलेको प्रहरीको भनाइ छ।

घरधनीबाट प्राप्त सूचनाका आधारमा प्रहरीले भारतीय पक्षसँग समन्वय गरी थप अनुसन्धान अघि बढाएको थियो। त्यस क्रममा मृतक भारतको बेतिया, बैरिया थाना क्षेत्रअन्तर्गत सरैया भटवलिया–६ निवासी रुची खातुन रहेको खुलेको हो।

प्रहरीका अनुसार रुची विवाहित थिइन्। उनी २०८३ वैशाख ९ गते दाँतको उपचार गराउन जाने भन्दै ६ महिनाकी छोरीलाई साथमा लिएर श्रीमान्को घरबाट निस्किएकी थिइन्। त्यसपछि सम्पर्कविहीन भएपछि उनका परिवारले भारतको बेतिया प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए।

अनुसन्धानका क्रममा राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमारको घटनामा संलग्नता रहेको खुलेको प्रहरीको दाबी छ। त्यसपछि मृतककी आमा फातमा खातुनले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएकी थिइन्।

शवको पहिचान यकिन गर्न प्रहरीले मृतकको डीएनए नमुना र उनकी आमा फातमा खातुनको नमुना परीक्षण गरेको थियो। दुवैको डीएनए मेल खाएपछि मृतक रुची खातुन नै भएको औपचारिक रूपमा पुष्टि भएको प्रहरीले जनाएको छ।

पहिचान खुलेपछि मृतककी आमा फातमा खातुनले असोज १६ गते शव बुझेर लगेकी छिन्। नेपाल प्रहरीको शवसम्बन्धी अभिलेखमा समेत मृतकको नाम रुची खातुन, उमेर २२ वर्ष र आमाको नाम फातमा खातुन उल्लेख गरिएको छ।

प्रहरीका अनुसार आरोपित राहुल कुमार गुप्ता भन्ने ईश्वर कुमारविरुद्ध भारतको नगर थाना, बेतियामा समेत मुद्दा दर्ता भएको छ। उनी भारतमै पक्राउ परी हाल बेतियास्थित कारागारमा रहेको प्रहरीले जनाएको छ।

नेपालमा भने मृतककी आमाले दिएको जाहेरीका आधारमा कर्तव्य ज्यानसम्बन्धी घटनाको अनुसन्धान अघि बढिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। शवको हुलिया तथा पहिरन सार्वजनिक गर्नेदेखि भारततर्फ समन्वय र डीएनए परीक्षणसम्मको प्रक्रियापछि मात्रै मृतकको पहिचान खुलेको हो।