हेटौंडा÷हेटौंडामा तीन दिन चल्ने नमुना युवा संसद् अभ्यास कार्यक्रम बुधबारदेखि सुरु भएको छ । कार्यक्रमले विद्यार्थी र संसद्बीच दुरी घटाउ“दै युवालाई लोकतान्त्रिक प्रक्रिया र संसदीय अभ्यासस“ग जोड्ने लक्ष्य राखेको छ । विद्यार्थीलाई बागमती प्रदेशसभाको संरचना, काम, कर्तव्य, अधिकार र संसदीय प्रक्रियाबारे व्यवहारिक ज्ञान दिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम उद्घाटन गर्दै बागमती प्रदेशसभा उपसभामुख अपसरा चापागाईंले विद्यार्थीका लागि नमुना संसद् कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताइन् । विद्यालय तहमा अध्ययनरत् विद्यार्थीलाई संसद् कसरी सञ्चालन हुन्छ, कानुन कसरी निर्माण हुन्छ र जनप्रतिनिधिको भूमिका के हुन्छ भन्ने विषय व्यवहारिकरुपमा बुझ्ने अवसर कार्यक्रमले दिने उनको भनाइ थियो । उनले आफू विद्यालयमा अध्ययन गर्दा यस्ता कार्यक्रम तथा संसदीय अभ्यासबारे जानकारी पाउने अवसर नपाएको स्मरण गर्दै हालका विद्यार्थीले यस्तो अवसर प्राप्त गर्नु महत्वपूर्ण भएको बताइन् । ‘तपाईंहरु नै भोलिको नेतृत्व हो । हालबाटै संसद्, लोकतन्त्र, कानुन निर्माण र नेतृत्वका विषयमा बुझ्ने अवसर पाउनु भविष्यका लागि महत्वपूर्ण हुन्छ,’ उपसभामुख चापागाईंले भनिन् ।

उनले संसद् जनताको आवाज राख्ने र कानुन निर्माण गर्ने थलो भएको उल्लेख गर्दै संसदीय अभ्यासस“गै विद्यार्थीमा तर्क गर्ने क्षमता, आफ्ना विचार मर्यादितढंगले राख्ने संस्कार, अरुका विचार सुन्ने बानी र लोकतान्त्रिक संस्कृति विकास आवश्यक रहेको बताइन् । नमुना संसद्ले विद्यार्थीलाई पाठ्यपुस्तकमा पढेका विषयलाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बागमती प्रदेशसभा सचिव रामकुमार पौडेलले प्रदेशसभाको संरचना, अधिकार क्षेत्र, प्रदेशसभा बैठक सञ्चालन तथा विधायिकी प्रक्रियाका विषयमा सहजीकरण गरेका थिए । उनले प्रदेश सरकारबाट विधेयक प्रदेशसभामा प्रस्तुत हुने, त्यसमा छलफल हुने, सम्बन्धित समितिमा दफावार अध्ययन तथा छलफल हुने र आवश्यक प्रक्रिया पूरा भएपछि सभाबाट निर्णय हुने प्रक्रियाबारे विद्यार्थीलाई जानकारी गराए ।

प्रदेशसभा प्रवक्ता तथा कानुन उपसचिव प्रकाश चापागाईंले संसदीय शब्दावली, सभामुखको भूमिका, सत्तापक्ष र प्रतिपक्षको भूमिका, प्रश्नोत्तर, विधेयक प्रस्तुतिदेखि पारितसम्मको प्रक्रिया तथा संसदीय मर्यादाबारे सहजीकरण गरे । उनले संसद्मा विषय प्रस्तुत गर्दा तथ्य, तर्क र संसदीय भाषा प्रयोगको महत्वबारे विद्यार्थीलाई जानकारी गराए ।

प्रदेशसभाकी सूचना अधिकारी अधिकृत हिमा न्यौपानेले प्रदेशसभा र यसका गतिविधिबारे नागरिकले कसरी आधिकारिक सूचना प्राप्त गर्न सक्छन् भन्ने विषयमा सहजीकरण गरिन् । उनले सूचना प्राप्त गर्ने क्रममा सामाजिकसञ्जालमा आएका सबै सामग्रीलाई सत्य मानेर अघि बढ्नुभन्दा आधिकारिक स्रोतबाट सूचना पुष्टि गर्नुपर्ने विषयमा विद्यार्थीको ध्यानाकर्षण गराइन् । कार्यक्रमको पहिलो चरणमा विद्यार्थीलाई प्रदेशसभा, संसदीय प्रणाली, संसदीय शब्दावली, सभामुखको भूमिका, सांसद्को जिम्मेवारी, कानुन निर्माण प्रक्रिया तथा संसदीय अभिव्यक्तिका विषयमा जानकारी गराइएको छ । त्यसपछि विद्यार्थीलाई विभिन्न भूमिकामा विभाजन गरी नमुना संसद् सञ्चालनका लागि तयारी तथा रिहर्सल गराइनेछ ।

कार्यक्रमको दोस्रो चरणमा विधेयक निर्माण, प्रश्नोत्तर, सत्तापक्ष–प्रतिपक्षको भूमिका, दलगत् बैठक, दफावार छलफल, संशोधन प्रस्ताव तथा सदन सञ्चालनको अभ्यास गराइनेछ । अन्तिम दिन विद्यार्थीले वास्तविक प्रदेशसभा बैठकको झल्को दिने गरी पूर्ण नमुना संसद् सञ्चालन गर्नेछन् । नमुना संसद्मा विद्यार्थीले सभामुख, मन्त्री, सत्तापक्षका सांसद्, प्रतिपक्षका सांसद्लगायत भूमिका निर्वाह गर्नेछन् । विधेयक प्रस्तुत गर्ने, त्यसमा सैद्धान्तिक तथा दफावार छलफल गर्ने, संशोधन प्रस्ताव राख्ने, प्रश्नोत्तर गर्ने तथा आवश्यक अवस्थामा मत विभाजनमार्फत् निर्णय गर्ने प्रक्रियासमेत अभ्यास गराइने कार्यक्रमको ढा“चा छ ।

यसबाट विद्यार्थीले संसद्को संरचना र प्रक्रियाबारे जानकारी लिनुका साथै नेतृत्व क्षमता, सार्वजनिक अभिव्यक्ति, तर्क प्रस्तुत गर्ने क्षमता, संसदीय मर्यादा, सहकार्य र लोकतान्त्रिक निर्णय प्रक्रियाको व्यवहारिक अभ्यास गर्ने अवसर पाउनेछन् । कार्यक्रममा हेटौंडाका भुटनदेवी माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र बालजागृति बोर्डिङ स्कुलका कक्षा–१०, ११ र १२ मा अध्ययनरत् विद्यार्थीको सहभागिता छ । कार्यक्रम जनपत्र मिडिया प्रालि अध्यक्ष हरि हुमागाईंको सभाध्यक्षतामा भएको हो । जनपत्र मिडिया प्रालि हेटौंडाको आयोजना तथा युएनडीपी संसद् सहयोग परियोजनाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।