हेटौंडा/नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको प्रतिनिधिमण्डलले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्रीपौडलसँग भेट तथा छलफल गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयमा भएको भेटमा उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष वेदबहादुर श्रेष्ठ, कोषाध्यक्ष रुद्रबहादुर खत्री एवम् कार्यकारी निर्देशक विवेक मानन्धरसहित टोलीले भेटका क्रममा रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको पुनस्र्थापना, जीविकोपार्जन तथा रोजगारी सिर्जनाका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत् सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

सो अवसरमा मन्त्री पौडलले विपद्बाट प्रभावित नागरिकको पुनस्र्थापना र आर्थिक पुनरुत्थानका लागि प्रदेश सरकार, निजीक्षेत्र तथा सरोकारवाला पक्षबीच सहकार्यलाई थप सुदृढ गर्दै ठोस र परिणाममुखी कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रभावित परिवारलाई दीर्घकालीनरुपमा आत्मनिर्भर बनाउने उद्धेश्यले आवश्यक नीतिगत् तथा कानुनी प्रक्रिया अध्ययन गरी उपयुक्त कार्यविधि निर्माण गर्ने र निजीक्षेत्रको सहभागितालाई प्रभावकारीरुपमा परिचालन गर्ने विषयमा छलफल भएको बागमती प्रदेश अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

भवन निर्माणका लागि जग्गा

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको सचिवालय भवन निर्माणको लागि आवश्यक जग्गाप्राप्त गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश जिल्ला–नगर उपाध्यक्ष एवम् मकवानपुर उद्योग वाणिज्य संघ निवर्तमान अध्यक्ष कृष्णकुमार गुप्ताका छोरा अमित अग्रवालको नाममा हेटौंडा–१७ मा रहेको १ कठ्ठा जग्गा नेपाल उद्योग वाणिज्य महासंघको नाममा नामसारी गरिएको महासंघले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश कोषाध्यक्ष खत्री, कार्यकारी निर्देशक मानन्धर, कार्यालय सहायक रश्मि खनाललगायतको सहभागितामा अध्यक्ष श्रेष्ठलाई भूमिप्रशासन कार्यालयअघि उपाध्यक्ष जिल्ला–नगर उपाध्यक्ष गुप्ताले जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गरेका थिए ।