हेटौंडा/मुलुकको ठूलो जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवरमा (जलाशय) पानी संकलन हुने क्रम घट्दै गएकाले पूर्वसावधानीका लागि साइरन पनि बजाइएन । जलाशयमा १ हजार ५ सय २७ मिटर पानी संकलन भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई पूर्वसावधानीका संकेतस्वरुप साइरन बजाउने प्रचारप्रसार गरिएको थियो । तर, जलाशयमा पानी संकलन हुने क्रम घट्दै गएकाले साइरन नबजाइएको हो ।
साइरन बजाउँदा तल्लो तटीयलगायत क्षेत्रका बासिन्दाहरु त्रसित हुनसक्ने भएकाले जलाशयमा १ हजार ५ सय २७ मिटर पानी संकलन हु“दा पनि साइरन नबजाइएको भन्दै प्रथम कुलेखानी जलविद्युत् आयोजना प्रमुख प्रह्लाद राउतले भने–जलाशयमा पानी संकलन हुने क्रम प्रतिघण्टा २ सेन्टिमिटरमात्र भएकाले साइरन बजाउने कार्य गरिएन । जलाधार क्षेत्रमा लगातार पानी परेको र तत्काल जलाशय भरिने अवस्था भएको भए साइरन बजाइन्थ्यो, त्यस्तो अवस्था नभएकाले बजाइएन । आइतबार बेलुकादेखि जलाधार क्षेत्रमा वर्षा कम हु“दै गएपछि कुलेखानी जलाशयमा १ हजार ५ सय २७ मिटर पानी सोमबार विहान २ बजेर २३ मिनेटमा संकलन भएको थियो । सोमबार विहान ७ बजे जलाशयको सतह १ हजार ५ सय २७ दशमलव ९ सेन्टिमिटर थियो । सोमबार विहान ६ बजे १ हजार ५ सय २७ दशमलव ७ सेन्टिमिटर पानी जलाशयमा संकलन भएको थियो । जलाधार क्षेत्रमा पानी नपरेकाले जलाशयमा हाल प्रतिघण्टा २ सेन्टिमिटरमात्र पानी संकलन हुने गरेको छ । संकलन हुने क्रम घट्दै छ ।
कुलेखानी जलाशयमा १ हजार ५ सय २७ मिटर पानी संकलन भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सावधानीका लागि जनाउ दिँदै पहिलो पटक एकचोटि साइरन बजाउने योजना प्रचारप्रसार गरिएको थियो । दोस्रो पटक अर्थात् १ हजार ५ सय २८ मिटर जलाशयमा पानीको सतह पुगेपछि २ पटक साइरन बजाउने व्यवस्था गरिएको थियो ।
तीन पटक लगातार साइरन बजाएपछि जलाशयको ड्याम सुरक्षितसाथ विस्तारै खोलि“दै छ भन्ने सार्वजनिकरुपमा संकेत दिने तालिका सार्वजनिक गरिएको थियो । ‘साइरन बजाउने अवस्था नै आएन । जोखिम ट¥यो,’ कुलेखानी जलविद्युत् आयोजनाका एक अधिकृतले भने । तीन सय मिटर चौंडा र ७ किलोमिटर लम्बाई रहेको कुलेखानी जलाशयमा १ हजार ५ सय ३० मिटर पानी संकलन गर्ने क्षमता छ । त्यतिमात्र होइन, ड्यामको चारैतिर बालुवा भरिएको बोरा राखेर ५० सेन्टिमिटर पानी थप संकलन गर्न सकिन्छ । विगतमा प्राधिकरणले त्यस्तै गर्दै आएको थियो । शनिबार रातिदेखि आइतबार विहानसम्म जलाधार क्षेत्रमा वर्षा भएकाले प्रतिघण्टा १२ सेन्टिमिटर जलाशयको पानी खपत गर्ने उद्धेश्यले कुलेखानीका तीन वटै युनिट २४ सै घण्टा सञ्चालन गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको ब्याकअपका रुपमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर जलाशय भरिन २ मिटर ९१ सेन्टिमिटर बा“की छ । ‘तत्काल जलाशय भरिने अवस्था छैन । जलाधार क्षेत्रमा पानी पर्ने क्रम रोकिएको छ,’ कुलेखानी जलविद्युत् आयोजनाका एक अधिकृतले भने । कुलेखानी जलाशयको सात वटा जलाधार क्षेत्रको १ सय ६६ वर्गकिलोमिटर छ । तीन वटै युनिट २४ सै घण्टा सञ्चालन गर्दा करिब ४० देखि ५० सेन्टिमिटर पानी खपत हुनेगर्छ । कुलेखानी प्रथमबाट ६० मेगावाट् विद्युत् उत्पादन हुन्छ भने दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट् गरी १ सय ८ मेगावाट् विद्युत् उत्पादन हुन्छ ।
हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ तत्काल सञ्चालनमा ल्याउन उक्त सडकका विभिन्न खण्डमा खसेका पहिरो हटाउने कार्य सोमबार विहानदेखि सुरु गरिएको छ । मकवानपुरतर्फका विभिन्न भागमा खसेका पहिरो र अवरोधहरु आइतबार बेलुकासम्म हटाइसकिएको छ । ललितपुरतर्फको खण्डमा गएको पहिरो भने सोमबार विहानदेखि ५ वटा एस्काभेटर प्रयोग गरिएर पन्छाउन थालिएको छ ।
ललितपुरतर्फको बागमती गाउ“पालिका–३ टार्कुचे, देवीसा“ध र छवेलीमा ठूलो पहिरो गएर बिहीबारदेखि सडक अवरुद्ध छ । पहिरो गएका तीन स्थानमा हाल ५ वटा एस्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको कान्तिलोकपथ सडक आयोजना ललितपुरका सूचना अधिकारी इञ्जिनियर उपेन्द्र महताराले बताए । ‘सडकमा खसेका सबै पहिरो पन्छाएर कान्तिलोकपथ सञ्चालनमा ल्याउने छौं,’ उनले भने । बाढीपहिरोका कारण हेटौंडाबाट राजधानी प्रवेश गर्ने राजमार्गहरु अवरुद्ध हु“दा त्रिभुवन राजपथलाई थेगिनसक्नु सवारी चाप परेको थियो । पानी पर्न छाडेपछि हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको हेटौंडा, कुलेखानी, सिस्नेरी, फाखेलका सडकहरु सोमबार विहानदेखि सचालनमा आइसकेका छन् ।












