हेटौंडा/नारायणी नदीमा आएको भीषण बाढीले बगाएर नारायणी पुलको पिलरमा अड्किएको १५ करोड लगानीको राइनो क्रुजसिपलाई तीन वटा क्रेनको सहायताले निकाल्ने प्रयास सुरु गरिएको छ ।

नदीमा आएको ठूलो बहावले होटल रिभरक्राउन अगाडि राखिएको क्रुजसिपको २० एमएमको टुचिन चुडाएर बगाएको थियो । बग्दै गएको तीनतले क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको पिलरमा अड्किएपछि पुल नै भत्कने र ठूलो क्षति हुने जोखिम बढेको थियो । क्रुजसिपको तौल ७० टनभन्दा बढी रहेको र १ सय फिट लम्बाइ तथा २५ फिट चौडाईंको यो नेपालको पहिलो मिनी क्रुजसिप हो ।

प्रशासन र प्राविधिक टोलीले क्रेनमार्फत् तानेर क्रुजसिपलाई गैंडाकोटतर्फको किनारामा लैजाने प्रयास गरिरहेका छन् । ठूला रुखहरु बगेर आएर ठेल्दा अन्तर्राष्ट्रिय मापदण्डअनुसार बा“धिएका टुचिन चु“डिएको कम्पनीको दाबी छ । समयमै क्रुजलाई पुलबाट हटाउन नसके पुल र नदी तटीय क्षेत्रमा ठूलो संकट आउनसक्ने चेतावनी दिइएको छ ।