हेटौंडा । लगातारको भारी वर्षाका कारण मकवानपुरको कुलेखानी (इन्द्रसरोवर) जलाशयमा पानीको सतह तीव्रगतिमा बढ्दै १ हजार ५ सय २६ मिटर पुगेको छ । पानीको तह अब १ मिटर बढेर जोखिमनजिक पुगेपछि नेपाल विद्युत् प्राधिकरण र कुलेखानी प्रथम जलविद्युत् केन्द्रले तटीय तथा तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । कुलेखानीमा १ हजार ५ सय ३० मिटर पानी संकलन क्षमता छ ।
प्राधिकरणका अनुसार पानीको सतह निरन्तर बढिरहेकाले ड्याम तथा तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई उच्च सावधानी र सतर्कता अपनाउन भनिएको छ । पूर्वसूचनाअनुसार जलाशयमा पानीको सतह १ हजार ५ सय २७ मिटर पुगेपछि चेतावनीस्वरुप पहिलो साइरन बजाइनेछ ।
भारी वर्षा भएर कुलेखानी जलाशयको बाँधको ढोका खोल्नुपर्ने अवस्था आए तल्लो तटीय क्षेत्रमा क्षति नपुग्ने गरी सावधानीसाथ बाँध खोल्ने पूर्वतयारी गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कुलेखानी जलविद्युत् आयोजनाका तीन वटै युनिटका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । कुलेखानी जलविद्युत् आयोजना भदौ दोस्रो सातादेखि पूर्णरुपमा सञ्चालन गरिएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले उक्त क्षेत्रका जलविद्युत् आयोजनाहरु क्षतिग्रस्त बनाएपछि कुलेखानी जलविद्युत् आयोजनाले पछिल्लो समय चौबीसै घण्टा फुर्सद पाएको छैन, उत्पादनको चाप बढेका कारण कुलेखानी जलाशय भरिएको भने छैन ।
वर्षायामको पानी संकलन गरेर बिजुली उत्पादन गरिँदै आएको कुलेखानी जलाशयको सन् २०१० सम्म आइपुग्दा पिँधमा माटो थुप्रिएका कारण उचाईं समुद्री सतहबाट १ हजार ४ सय ८० मिटर पुगेको छ । उचाईं बढेपछि पानी अट्ने क्षमतामा ह्रास आएर ५९.९९ लाख घनमिटरमात्र पानी अट्न थालेको छ । सात किलोमिटर लम्बाइ र ३ सय मिटर चौडाईं रहेको जलाशयमा संकलन गरिएको ४६ मिटर क्षेत्रफलको पानीमात्र विद्युत् उत्पादनका लागि प्रयोग गर्न सकिन्छ । कुलेखानी जलविद्युत् आयोजनाको पहिलो र दोस्रोबाट क्रमशः ६० र ३२ मेगावाट् विद्युत् उत्पादन गरिँदै आएको छ । कुलेखानी तेस्रोबाट देशले थप १४ मेगावाट् बिजुली पाएको छ ।
अविरल तथा भारी वर्षाका कारण पृथ्वी राजमार्ग र कान्तिराजमार्ग अवरुद्ध भइ सडकमा सवारी चाप बढेपछि मकवानपुर प्रशासनले त्रिभुवन राजपथमा सवारी आवागमनको समयतालिका निर्धारण गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार सूचना जारी गर्दै त्रिभुवन राजपथ हुँदै हेटौंडाबाट काठमाडौं जाने र काठमाडौं हुँदै हेटौंडा आउने सवारीका लागि छुट्टाछुट्टै समय तोकेको हो । हेटौंडाबाट काठमाडौं जाने सवारीका लागि चौकीटोलबाट असोज ११ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म, असोज १२ गते विहान ४ बजेदेखि १० बजेसम्म तथा राति ९ बजेदेखि १३ गते विहान १ बजेसम्म र असोज १३ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइनेछ ।
काठमाडौंबाट हेटौंडा आउने सवारीका लागि सीमभञ्ज्याङ चौकीबाट असोज ११ गते राति १० बजेदेखि १२ गते विहान १ बजेसम्म, असोज १२ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म र असोज १३ गते विहान ६ बजेदेखि ११ बजेसम्म मात्र आवागमन गर्न दिइने प्रशासनले जनाएको छ । प्रशासनले इन्धन तथा एलपी ग्यास बोकेकाबाहेक अन्य ११ मिटर लम्बाईसम्मका सवारीसाधनले मात्र सडकमा चल्न पाउने र १५ टनभन्दा बढी भार बोकेका मालबाहक सवारीलाई उक्त सडकमार्गमा पूर्णरुपमा निषेध गरेको छ । प्रशासनले तोकिएको समय र मापदण्डपालना गरी सुरक्षित यात्रा गर्न चालक, व्यवसायी तथा यात्रुलाई आग्रह गरेको छ ।











