हेटौँडा /हेटौँडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले विकास निर्माणमा आफूहरूको ध्यान भाषणभन्दा काम र परिणाममा केन्द्रित रहेको बताएका छन्।

सिग्देलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै “हामी संकल्पित छौँ, काममा प्रतिबद्ध छौँ। हामीले बोलिरहेका मात्र छैनौँ, तस्वीर आफैँ बोलिरहेको छ” बताएका हुन्।

उनले लोकतान्त्रिक चौर (हुप्रा) मा निर्माण गरिएको ज्येष्ठ नागरिक कक्षको उदाहरण दिँदै निर्माणका क्रममा विरोध भए पनि अहिले सोही संरचना ज्येष्ठ नागरिक तथा विभिन्न कार्यक्रमका लागि उपयोग भइरहेको बताएका छन्।

त्यसैगरी, भैरवरोड क्षेत्रमा वर्षाका बेला हुने डुबानको समस्या समाधानका लागि कारण पहिचान गरी ढल मर्मतको काम अघि बढाइएको उनले जानकारी दिएका छन्।

सिग्देलका अनुसार भैरवरोड–चिसापानी क्षेत्रमा ढलको चेम्बर भत्किनु तथा आसपासका संरचना र खाल्डाखुल्डीका कारण ढल अवरुद्ध भएको पाइएको थियो। सरकारी प्रक्रिया पूरा गरेर मर्मत कार्य सुरु गरिएको उनले बताएका छन्।

“निरन्तर वर्षा, बजार क्षेत्रको ढल, ढलको गहिराइ र वरिपरिको संरचनाका कारण काम केही साँघुरो भए पनि अहिले ढल निर्माणको काम द्रुत गतिमा भइरहेको छ,” उनले भनेका छन्।

हुप्राको पानी ट्याङ्कीबाट पशुपति जाने सडकमा पानी जम्ने समस्यालाई समेत आफूहरूले सम्बोधन गर्ने उनले बताएका छन्। उक्त सडकको स्तरीकरणको काम अघि बढाएर डुबानको समस्या न्यूनीकरण गर्ने उनको भनाइ छ।

वडा अध्यक्ष सिग्देलले विकासका काममा हुने आलोचनालाई सकारात्मक रूपमा लिएर आवश्यक सुधार गर्दै अघि बढ्ने संकेत गर्दै विरोधको जवाफ कामबाट दिने बताएका छन्।

“कामले लखेट्ने होइन, कामको नतिजाले जवाफ दिने हो,” भन्ने भावसहित उनले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

सिग्देलले विगतका कठिन परिस्थितिलाई स्मरण गर्दै आफूहरू विपरीत परिस्थितिमा समेत काममा जुटेको बताएका छन्।

“हामी हाम्रा घर, पालिका, वडा र स्वास्थ्य केन्द्र जल्दा पनि खरानीमाथि उठेर काममा जुटेका हौँ,” उनले भनेका छन्।

उनले विकास साझा विषय भएकाले आलोचना र राजनीतिक मतभेदभन्दा माथि उठेर परिणाममुखी काममा सबैको सहयोग आवश्यक रहेको बताएका छन्।

“तस्वीर आफैँ बोल्छ” भन्ने सन्देशसहित सार्वजनिक गरिएको उनको धारणा अहिले हेटौँडा–४ मा भइरहेका विकास निर्माणका काम र त्यसप्रतिको सार्वजनिक बहससँग जोडिएको छ।