हेटौंडा÷चितवन राष्ट्रिय निकुञ्जभित्र जंगली भाले हात्ती रोनाल्डो मृत अवस्थामा भेटिएको छ । चितवन निकुञ्जभित्रको सुरक्षार्थ खटिएको नेपाली सेनाको पोस्टमा लगिएको बिजुलीको तारमा करेन्ट लागेर रोनाल्डो हात्तीको मृत्यु भएको निकुञ्जले पुष्टि गरेको छ । रत्ननगर वडा–९ स्थित टिकौली मध्यवर्ती सामुदायिक वनको कार्यालयबाट ६ सय मिटरभित्र कुमाल तालनजिक ५३ वर्षको रोनाल्डो शनिबार विहान मृत भेटिएको थियो । घटनास्थल बरन्डाभार क्षेत्रमा पर्दछ ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जापुनले सेनाको पोस्टमा लगिएको बिजुलीको तार चपाउ“दा करेन्ट लागेर हात्तीको मृत्यु भएको बताए । ‘मृत भेटिएको हात्तीको मुखमा कालो तार थियो,’ उनले भने–हात्तीले तार चपाएको पाइयो । हात्तीको पोस्टमार्टम गरेर थप अनुसन्धान सुरु गरेका छौं ।

हात्तीले लहराजस्तो लागेर कालो तार चपाएको हुनसक्ने पुनले बताए । ‘घटनाको प्रकृति हेर्दा करेन्ट लागेको जस्तै देखिन्छ,’ उनले भने–थप कारण अनुसन्धानबाट खुल्नेछ । हात्तीको पोस्टमार्टम गरेपछि घटनास्थलनजिक जमिनमुनि पुरिएको छ । हात्तीको प्रजनन्मा महत्वपूर्ण भूमिका निर्वाह गर्दैै आएको रोनाल्डोको देहावसानले हात्ती संरक्षणलाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा संरक्षणकर्मीहरुको ध्यान खिचेको छ । घटनास्थलबाट नेपाली सेनाको पोस्ट ७ सय मिटरमात्र टाढा छ । २४ वर्षअघि चितवन निकुञ्जमा देखिएको रोनाल्डो खोरसोर हात्ती प्रजनन् केन्द्रका पोथी हात्तीलाई गर्भवती बनाउने प्रमुख भाले हात्तीको रुपमा परिचित हात्ती हो ।

‘रोनाल्डो प्रजनन्का लागि उपयुक्त थियो,’ प्रजनन् केन्द्र प्रमुख मनपुरन चौधरीले भने–रोनाल्डोको अभाव हामीलाई खड्किरहने छ । खोरसोर हात्ती प्रजनन् केन्द्रमा जन्मिएका ६९ छावामध्ये ३८ वटा बच्चा रोनाल्डोका सन्तान हुन् । अझ ६ वटा हात्ती रोनाल्डोबाट गर्भवती रहेको चौधरीले जानकारी दिए । उक्त हात्तीको आक्रमणबाट २४ मानिसको ज्यान गएको निकुञ्जको तथ्यांकमा उल्लेख छ ।

जंगली भाले हात्तीका रुपमा सौराहा र खोरसोरआसपासमा आफ्नो प्रभाव जमाउ“दै आएको रोनाल्डो नाम विश्वकप फुटबलस“ग जोडिएको छ । रोनाल्डो सन् २००२ को विश्वकप फुटबलको समयतिर निकुञ्जमा देखिएको थियो । त्यतिबेला ब्राजिलका स्टार फुटबलर रोनाल्डो विश्व फुटबलमा चर्चामा थिए । निकुञ्जमा देखिएको उक्त जंगली भाले हात्ती फूर्तिलो र दौडिनमा तेज भएकाले केन्द्रका माउतेहरुले उसको नाम रोनाल्डो राखिदिएको प्रमुख चौधरीले बताए ।

रोनाल्डोको रोचक पक्ष खोरसोर हात्ती प्रजनन् तथा तालिम केन्द्रका पोथी हात्तीहरुस“गको सम्बन्ध हो । जंगली भाले हात्तीहरु पोथीको खोजीमा प्रजनन् केन्द्रासपास आउने गर्छन् । रोनाल्डोले अन्य भाले हात्तीलाई पराजित गर्दै लामो समयसम्म खोरसोर क्षेत्रमा आफ्नो दबदबा कायम गरेको थियो । हालसम्म खोरसोरमा जन्मिएका धेरै छावाका पिता रोनाल्डो रहेको चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरुले बताएका छन् ।

सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीसारमा रहेको पोथी हात्ती ‘प्रकृतिकली’ सम्म पुग्न रोनाल्डोले विद्युतीय तारबार नै भत्काएको थियो । एक महिनासम्म तारबारवरिपरि घुमेर कहा“ करेन्ट नलाग्ने रहेछ भन्ने यकिन गरेर त्यही ठाउ“बाट तारबार भत्काएको थियो । उक्त घटनाले रोनाल्डोको असाधारण स्मरणशक्ति र सिक्ने क्षमता उजागर भएको थियो । रोनाल्डोले मानवबस्तीमा प्रवेश गरेर मान्छे मार्ने, घर भत्काउने, अन्न नष्ट गर्ने गरेका घटनाहरु थुप्रै छन् । रोनाल्डोको मृत्युपछि अब ‘ध्रुवे’ र ‘गोबिन्द’ नाम दिइएका दुई भाले हात्तीमात्र प्रजनन्का लागि प्रयोगमा आउने छन् । ‘रोनाल्डोजस्तो तेज ध्रुवे र गोबिन्दमा पाइ“दैन,’ केन्द्र प्रमुख चौधरीले भने–रोनाल्डो सबभन्दा उपयुक्त हात्ती हो ।

पशु अधिकारकर्मीहरुले भने निकुञ्जको कमजोरीका कारण हात्तीको मृत्यु भएको आरोप लगाएका छन् । पशु अधिकारकर्मी सुराजन श्रेष्ठले लापरबाहीका कारण जंगली हात्ती रोनाल्डोको करेन्ट लागेर मृत्यु भएको आरोप लगाए । वन्यजन्तु नै असुरक्षित हुने गरी बिजुलीको तार लैजानु गैरजिम्मेवारीपूर्ण काम भएको भन्दै उनले प्रश्न गर्दै भने–यस्तो नियति सुधारका लागि अझै कति हात्तीले मृत्युवरण गर्नुपर्ने हो ।