हेटौंडा/चितवनको भरतपुरबाट अवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सञ्चालनमा प्रयोग भएका ठूलो संख्याका उपकरणसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले नेपाल टेलिकम र एनसेल आजियाटाको प्राविधिक समन्वयमा भारतीय नागरिक २५ वर्षीय कथराम निथिनलाई भरतपुर महानगरपालिका–२, आ“पटारीबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी आ“पटारीस्थित निर्मला बिष्टको घरमा बसेर अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका व्यक्तिस“गबाट ठूलो संख्यामा मोबाइल, सिमकार्ड र भीओआईपी सञ्चालनमा प्रयोग हुने उपकरण बरामद गरिएको छ । प्रहरीले २६ थान मोबाइल सेट, दुई थान ल्यापटप, एनसेलका ७७ थान र नेपाल टेलिकमका १८ थान सिमकार्ड, चार थान सीपीयु, एक थान इन्भर्टर, दुई थान ब्याट्री, २० पोर्टका ६ थान युएसबी, ३३ थान युएसबी सेल्युलर मोडेम, ३० थान युएसबी ओटीजी टु अडियो केबल, पा“च पोर्टको नेटवर्क स्विच, दुई थान इन्टरनेट राउटर तथा विभिन्न प्रकारका डेटा केबल बरामद गरेको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा बरामद उपकरण तथा सामग्रीहरु अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग भइरहेको खुलेको प्रहरीको भनाइ छ । अवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपास गर्दा दुरसञ्चार कम्पनीको आधिकारिक अन्तर्राष्ट्रिय गेटवे प्रणालीलाई छल्दै कल सञ्चालन हुने भएकाले यसबाट राज्यलाई प्राप्त हुने राजस्वमा समेत असर पर्ने गर्छ । पक्राउ परेका भारतीय नागरिकमाथि दुरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा (५) अन्तर्गत् कसुरमा जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान अघि बढाएको छ । प्रहरीले बरामद उपकरणको प्राविधिक परीक्षण तथा कल बाइपासको सञ्जालमा थप व्यक्ति वा समूहको संलग्नता भए÷नभएको विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ ।













