हेटौंडा/सडक बालबालिका व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई एनआईसी एसिया बैंक हेटौंडाले संस्थागत् सामाजिक उत्तरदायित्वअन्तर्गत् ८० हजार बराबरको करिब तीन महिनालाई पुग्ने खाद्यान्न सामाग्री सहयोगस्वरुप उपलब्ध गराएको छ ।
बैंकका सीबीओ अमितबहादुर केसी, सर्कल हेड गोपालप्रसाद सुबेदी, हेटौंडा कार्यालय प्रमुख रबिन थापासहित ४ जना प्रतिनिधिहरु मामाघर नेपाल हेटौंडा–११ मा उपस्थित भएर खाद्यान्न सामग्री उपलब्ध गराएका हुन् । कार्यक्रममा बैंकका हेटौंडा शाखा प्रमुख थापाले मामाघर नेपालको कार्यबारे आफू धेरै अगाडिदेखि नै जानकार रहेको र संस्थाले अत्यन्त ठूलो मानवकल्याणको कार्य गरिरहेकोमा खुशी व्यक्त गर्दै भविष्यमा समेत व्यक्तिगत्रुपमा आफूले र संस्थागत्रुपमा एनआईसी एसिया बैंकले सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।
२०६८ कार्तिक २७ गतेदेखि सञ्चालित मामाघर नेपाल मकवानपुर विभिन्न व्यक्तिहरुको जन्मोत्सव, वैवाहिक उत्सव, पितृश्राद्ध, संघसंस्थाहरुको वार्षिक उत्सव आदिको सहयोगमा सञ्चालित सामाजिक संस्था हो । मामाघर नेपाल मकवानपुरले सडक बालबालिकाको उद्धार, परामर्श, आवासीय सुविधा, जीवनोपयोगी सिप र पारिवारिक पुनर्मिलनको कार्य गर्दै आइरहेको छ ।












