हेटौंडा/हेटौँडा-३ बसामाडी नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा गुडिरहेको बसमा ढुंगा प्रहार हुँदा एक यात्रु घाइते भएकी छन्।
बुधबार बिहान करिब २ः१५ बजे भैरहवाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख १६४२ नम्बरको बसमा अज्ञात समूहले ढुंगा प्रहार गर्दा बसको सिसा फुटेको थियो। ढुंगा लागेर रुपन्देही ओमसतिया–६ की २१ वर्षीया लक्ष्मी कुमारी चौधरीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते चौधरीको मकवानपुर सहकारी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न ६ जनामध्ये ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। १ जना फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।











