हेटौंडा । ६ वर्षपछि बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबारदेखि तौलपुल (धर्मकाँटा) पुनः सञ्चालनमा आएको छ । नारायणी यातायात व्यवसायी संघले हेटौंडा–११, थानाभ¥याङमा जिल्ला प्रशासन कार्यालय मकवानपुरको सहमतिमा मालबाहक सवारीसाधनको तौल परीक्षण गर्ने तौलपुल पुनः सञ्चालनमा ल्याएको हो ।

२०७७ सालदेखि बन्द रहेको तौलपुल सोमबार नारायणी यातायात व्यवसायी संघ अध्यक्ष सरोज खनाल, नेपाल ट्रक यातायात व्यवसायी महासंघ महासचिव बद्रीप्रसाद चौलागाईं, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जिल्ला प्रहरी प्रमुख श्यामबहादुर खत्री, जिल्ला ट्राफिक प्रहरी प्रमुख रमेश बिष्ट, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थितिमा पुनः सञ्चालन गरिएको हो ।

विशेषगरी पृथ्वी राजमार्ग बाढी तथा पहिरोका कारण अवरुद्ध भएपछि काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्गका रुपमा प्रयोग भइरहेको त्रिभुवन राजपथमा ओभरलोड नियन्त्रण गर्ने उद्धेश्यले तौलपुल सञ्चालनमा ल्याइएको संघले जनाएको छ । क्षमताभन्दा बढी भार बोकेका मालबाहक सवारीसाधनका कारण त्रिभुवन राजपथमा थप जोखिम उत्पन्न हुनसक्ने नारायणी संघ अध्यक्ष खनालले बताउनुभयो । हाल मुलुकका विभिन्न स्थानमा प्राकृतिक विपद्का कारण यातायात संरचना प्रभावित भइरहेका बेला त्रिभुवन राजपथको महत्व बढिरहेको उल्लेख गर्दै उहाँले यसको संरक्षण र सुरक्षित सञ्चालनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

तौलपुल सञ्चालनसँगै विपद्को समयमा राजधानीसँग जोड्ने ‘लाइफलाइन’ का रुपमा प्रयोग भइरहेको त्रिभुवन राजपथको संरक्षण तथा दीर्घकालीन स्थायित्वमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । तौलपुलबाट सवारीसाधनको वास्तविक भार परीक्षण हुने र तोकिएको क्षमताभन्दा बढी मालसामान बोकेका सवारीसाधनलाई नियन्त्रण गर्न सहयोग पुग्ने अध्यक्ष खनालले बताउनुभयो । त्रिभुवन राजपथको संरक्षण तथा दीर्घकालीन स्थायित्वमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । धर्मकाँटाबाट सवारीसाधनको वास्तविक भार परीक्षण हुने र तोकिएको क्षमताभन्दा बढी मालसामान बोकेका सवारीसाधनलाई नियन्त्रण गर्न सहयोग पुग्ने अध्यक्ष खनालले बताउनुभयो ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ महासचिव चौलागाईँले विपद्को अवस्थामा त्रिभुवन राजपथमा ओभरलोड नियन्त्रण गर्न तौलपुल पुनः सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार तौलपुल नेपाल सरकारबाट जारी भएको २०७४ सालको धर्मकाँटा नियमावलीअनुसार सञ्चालन गरिएको हो । विपद्को परिस्थितिमा काठमाडौं जोड्ने महत्वपूर्ण वैकल्पिक राजमार्गका रुपमा त्रिभुवन राजपथ प्रयोग भइरहेकाले सडकमा ओभरलोड नजाओस् र यातायात सञ्चालन सहज रहोस् भन्ने उद्धेश्यले तौल परीक्षणको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

त्रिभुवन राजपथ भएर सञ्चालन हुने मालबाहक सवारीसाधनका लागि भारसीमा पनि निर्धारण गरिएको छ । १२ चक्के र १० चक्के सवारीसाधनले अधिकतम १५ टनसम्म मात्र भार बोक्न पाउनेछन् । ६ चक्के तथा ४ चक्के सवारीसाधनले आफ्नो बिलबुकमा तोकिएको क्षमताअनुसार मात्र मालसामान बोक्नुपर्ने व्यवस्था गरिएको छ ।

संघका अनुसार राजमार्गमा क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन सञ्चालन हुँदा सडक भासिने, पुल तथा सडकका संरचनामा क्षति पुग्ने र यातायात सञ्चालनमा थप समस्या उत्पन्न हुने अवस्थालाई नियन्त्रण गर्ने उद्धेश्यले २०५६ सालमा धर्मकाँटा स्थापना गरिएको थियो । स्थापनादेखि लामो समयसम्म सञ्चालनमा रहेको धर्मकाँटा २०७७ सालसम्म निरन्तर सञ्चालनमा थियो । त्यसपछि आन्तरिक विवाद तथा विभिन्न राजनीतिक र प्रशासनिक परिस्थितिका कारण यसको सञ्चालनमा अवरोध आएको

थियो ।