चितवन/स्वास्थ्य, शिक्षा र सचेतनाका दृष्टिले सुगम जिल्लाका रुपमा चिनिने यस जिल्लामा अझै पनि किशोरी आमा बन्ने समस्या अन्त्य हुनसकेको छैन । विगत तीन आर्थिक वर्षको तुलना गर्दा २० वर्षमुनिका आमा बन्नेहरुको संख्या उस्तै छ ।
जनस्वास्थ्य कार्यालय चितवनका अनुसार हरेक वर्ष स्वास्थ्य संस्थामा सुत्केरी गराउन आउनेमध्ये किशोरी आमा आठदेखि नौं प्रतिशत् रहेको पाइएको छ । कार्यालयका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा शिशु जन्माएकामध्ये ९ सय ८५ किशोरी छन् । उक्त आवमा ११ हजार ८ सय ६८ जनाले अस्पतालमा प्रसूति सेवा लिएका थिए । आव २०८१÷०८२ मा अस्पतालमा आएका ११ हजार ८९ जनामध्ये ९ सय ५८ जना किशोरी आमा थिए । आव २०८०÷०८१ मा १३ हजार ५ सय ३ जनाले विभिन्न अस्पतालमा प्रसूति सेवा लिएकामा एक हजार १ सय ८८ जना किशोरी आमा बनेका छन् । अझै पनि समाजमा वालविवाह कायम रहेकाले किशोरी आमा बन्ने क्रम नघटेको उनले जानकारी दिए । आफ्नो समाजको चलन छाड्न नसक्ने र कानुन कार्यान्वयनमा ल्याउन नसक्दा समस्या भएको उनले बताए ।
उनका अनुसार २० वर्षमुनि विवाह गर्न नपाउने कानुनी व्यवस्था छ । बीस वर्ष मुनिकालाई किशोरीका रुपमा लिने गरिएको छ । तर, यसको प्रभाव ग्रामीण क्षेत्रमा पर्न नसक्दा किशोरी आमा बन्दै आएका छन् । सानो उमेरमा आमा बन्ने र घरमा नै सुत्केरी हुने चलन अझै नरोकि“दा चुनौती बढेको उनले बताए ।
उनका अनुसार गत आवमा किशोरी आमामध्ये ६ सय ३० जनाले दक्ष प्रसूतिकर्मीबाट शिशु जन्माएका थिए भने दक्ष स्वास्थ्यकर्मीबाट ३ सय २७ जनाले शिशु जन्माएका थिए । अन्य स्वास्थ्यकर्मीबाट १० र घरमा नै प्रसूति गराउनेको संख्या १८ रहेको कार्यालयको तथ्यांकले जनाएको छ । स्वास्थ्यका दृष्टिले उक्त उमेर समूहमा आमा बन्नु भनेको जोखिमपूर्ण रहेको उनले बताए ।
भरतपुर अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुजन भुसालन्यौपाने कम उमेरमा आमा बन्नु स्वास्थ्यका लागि राम्रो नहुने बताउ“छन् । शारीरिक बनावट पूर्णरुपमा तयार भइनसक्ने जनाउ“दै उनले यसबाट दीर्घकालीन स्वास्थ्यमा समस्या हुनसक्ने बताए । कम उमेरमा शिशु जन्माउ“दा प्रसूतिमा जटिलता र भविष्यमा गर्भधारणसम्बन्धि जटिलताहरुको जोखिम बढ्न सक्छ । बच्चाको कम तौल हुने, शारीरिक विकास कम हुने खतरा हुने उनको भनाइ छ । त्यसबाहेक, शिक्षा र सामाजिक अवसरहरु पनि प्रभावित हुन सक्छन् ।











