हेटौँडा/मकवानपुरको मनहरीबाट प्रहरीले १६२ किलो ७९४ ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

मंगलबार बिहान करिब २ः४५ बजे मनहरी गाउँपालिका–९ भाबरस्थित भित्री सडकखण्डमा भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कारलाई ग २ च ६१५ नम्बरको पिकअपले स्कर्टिङ गरिरहेको अवस्थामा प्रहरीले रोकेको थियो।

विशेष सूचनाका आधारमा कार जाँच गर्दा सिटभित्र प्लास्टिकले बेरेर लुकाइएका १३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। तौल गर्दा गाँजाको परिमाण १६२ किलो ७९४ ग्राम रहेको थियो।

घटनामा कार चालक चितवनको माडी नगरपालिका–५ धोबाहाका ५६ वर्षीय देव नारायण महतो र पिकअप चालक भरतपुर महानगरपालिका–२४ का ४८ वर्षीय टेकबहादुर दोङ पक्राउ परेका छन्।

दुवै सवारीसाधनसहित पक्राउ परेकाहरूमाथि इलाका प्रहरी कार्यालय मनहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।