हेटौंडा/मकवानपुरको बकैया गाउँपालिका–१२, धारापानीमा ३५ वर्षीय राजकुमार खत्री आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेका छन् । दिउँसो करिब १ः१५ बजे खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक सुशान्त मिश्रको कमाण्डमा टोली घटनास्थल पुगेको थियो ।
घटनास्थल सुरक्षित गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा टोली तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट टोलीसमेत खटिइ प्रारम्भिक घटनास्थल मुचुल्का तयार गरिएको थियो । शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । ज्यानसम्बन्धि कसुरमा अनुसन्धानका लागि मृतककी पत्नीसहित पाँच जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको छ । पक्राउ पर्नेमा बकैया–१२ की सलिना घले, मृतककी पत्नी गोमा खत्री, मृतककी आमा, मृतकका भाइ अमर खत्री र राजेन्द्र घले छन् । पोष्टमार्टमपछि सोमबार मृतककी दिदी सजिना खत्रीले शव बुझिलगेको मकवानपुर प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।











