काठमाडौं/राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशबासीलाई संयम रहँदै एकतावद्ध हुन आह्वान गरेका छन् । भदौ १० गते हिमनदीको बरफ र चट्टानसहित खसेको हिमपहिरोपछिको बाढीले पु¥याएको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले राष्ट्रका नाममा विशेष सम्बोधन गरेका हुन् ।

आफ्नो सम्बोधनमा राष्ट्रपति पौडेलले यस प्राकृतिक प्रकोपलाई कहालीलाग्दो र अकल्पनीय संज्ञा दिएका छन् । बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति हुनुका साथै सडक, पुल र जलविद्युत् आयोजना जस्ता राष्ट्रका महत्वपूर्ण पूर्वाधारहरु ध्वस्त भएकोमा उनले गम्भीर चिन्ता व्यक्त गरे । राष्ट्रपति पौडेलले विपत्तिमा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरुको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । नेपालले आफ्नो भूमिमा रहेका हरेक विदेशी नागरिकलाई परिवारको सदस्यसरह मान्ने उल्लेख गर्दै उनले प्रभावित देशका सरकार तथा कुटनीतिक नियोगहरुस“ग प्रभावकारी समन्वय भइरहेको जानकारी दिए । जोखिमपूर्ण अवस्थामा ज्यानको पर्वाह नगरी उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय प्रतिनिधि र स्वयम्सेवकहरुको उच्च प्रशंसा गर्दै राष्ट्रपतिले उनीहरुको कार्यलाई नेपाली राष्ट्रिय चरित्रको उत्कृष्ट नमूनाका रुपमा चित्रण गरे । भौगोलिक विकटता र प्रतिकूल मौसमका बाबजुद् खोजी कार्यलाई निरन्तरता दिन र कुनै पनि अवस्थामा उद्धार कार्य परित्याग नगर्न उनले सम्बद्ध निकायको ध्यानाकर्षण गराए ।

उद्धार गरिएका नागरिकका लागि स्वच्छ खानेपानी, खाद्यान्न, औषधि र सुरक्षित आश्रयस्थलको सुनिश्चितता गर्न राष्ट्रपतिले जोड दिए । विशेषगरि बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र गर्भवतीको संरक्षणमा संवेदनशील हुन उनले आग्रह गरे । मृतकहरुको पहिचानका लागि डीएनए नमुना संकलन र वैज्ञानिक अभिलेखीकरण गरी प्रक्रियालाई विश्वसनीय बनाउन उनले सरकारलाई सुझाव दिए । विपद्को समयमा प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली र उपकरणसहित सहयोग गर्ने छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति राष्ट्रपतिले कृतज्ञता ज्ञापन गरे ।

यस सन्दर्भमा उनले हिमाली क्षेत्रको नाजुक परिस्थितिलाई विश्वव्यापी तापक्रम वृद्धिस“ग जोड्दै अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायका लागि ठोस कदम चाल्न विश्व समुदायलाई आह्वान गरे । राष्ट्रपति पौडेलले वर्तमान समय राजनीतिक विवाद वा एकअर्कालाई दोषारोपण गर्ने नभइ राष्ट्रिय एकता र ऐक्यवद्धता प्रदर्शन गर्ने बेला भएको स्पष्ट पारे । उनले भने–यो विभाजनको समय होइन, यो त पुनर्निर्माण र आर्थिक पुनरुत्थानको समय हो । भविष्यमा यस्ता जोखिम न्यूनीकरणका लागि नेपालको वर्तमान विकास मोडेलमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।