काठमाडौं/नेपाली कांग्रेसको संस्थापन इतर (शेरबहादुर देउवा समूह) पक्ष टुटफुटको संघारमा पुगेको छ । इतर पक्षले मिति नै तोकेर छुट्टै महाधिवेशन गर्न अघि बढे पनि निवर्तमान सभापति देउवा पक्षका खम्बा मानिएका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्का र विशेष महाधिवेशनपछि देउवा पक्षस“ग निकट भएका नेता शेखर कोइराला समूहलाई आफूतिर मिलाउन संस्थापनको प्रयास सफल हुन लागेको संस्थापन पक्षका नेताले बताएका छन् ।
आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले १५ औं महाधिवेशनका लागि सदस्यता नवीकरण गरे पनि अद्यावधिक नगरेकाहरुलाई १५ औं महाधिवेशनमा सहभागी हुन मिल्ने निर्णय गरेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकले २४ भदौमा निर्धारित वडा अधिवेशन स्थगित गर्ने निर्णय पनि गरेको छ । महाधिवेशनको नया“ कार्यतालिकाअनुसार सदस्यता अद्यावधिक नगरी बसेका इतर पक्षका नेता, कार्यकर्ताहरुलाई आइतबार निर्णयपछि महाधिवेशनमा सहभागी हुन अवसर पाइनेछ । खड्का र कोइराला पक्षीय नेता–कार्यकर्ता महाधिवेशनमा सहभागी हुने अपेक्षामा यस्तो निर्णय गरिएको पार्टीकी सहमहामन्त्री डिला संग्रौलाले बताइन् ।
खड्काले इतर समूह त्यागेर संस्थापनस“ग सहमतिमा आउन खोजे पनि कोइराला समूह भने देउवा समूहसहितको एकता हुनुपर्ने वकालतमै अडिग रहेको कोइरालानिकट नेता सञ्जय गौतमले बताए । ‘असन्तुष्ट नेताहरुलाई सहमतिमा ल्याउन सकारात्मक कुरा भएको सभापतिज्युले बताउनुभएको छ । उहा“हरुसहित महाधिवेशन गर्न वडा अधिवेशनको मिति सार्ने तयारी गरिएको छ,’ सहमहामन्त्री संग्रौलाले भनिन्–महाधिवेशन भने निर्धारित मितिमै हुनेछ ।
खड्का र संस्थापनको कुरा मिल्यो
जेनजी आन्दोलनको १ महिनापछि गत वर्ष २८ असोजमा कार्यबाहक सभापतिको जिम्मेवारी पाएका नेता पूर्णबहादुर खड्काले विशेष महाधिवेशनपछि नेतृत्व गर्दै आएका थिए । प्रतिनिधिसभाको चुनावअगावै १३ फागुनमा निवर्तमान सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएपछि इतर समूहको नेतृत्व उनकै हातमा आएको थियो । निरन्तर समानान्तर गतिविधि अघि बढाएपछि उनलाई कांग्रेसले स्पष्टीकरणसमेत सोधेको थियो । पार्टीको वैधानिकतामा प्रश्न उठाउ“दै निर्वाचन आयोगमा निवेदन दिनेदेखि सर्वोच्च अदालतमा मुद्धा हाल्ने र मुद्धाको पुनरवलोकनका लागि निवेदन दिने पनि उनै थिए । तर, कांग्रेसको भावी सभापतिका रुपमा हेरिएका खड्का हाल आएर संस्थापननजिक पुगेका छन् ।
१५ औं महाधिवेशनमा देउवा समूहले आफूलाई नै सभापतिमा अघि सार्नेमा विश्वस्त खड्का निवर्तमान सभापति देउवाले आफूलाई अगाडि सार्नेमा सशंकित भएपछि टाढि“दै गएका थिए । २२ असारमा देउवा समूहले १५ औं महाधिवेशनको तयारीका लागि चुनदेवीमा सम्पर्क कार्यालय पनि उनै खड्काको नेतृत्वमा खोलेको थियो । तर, १६ साउनमा देउवा समूहले पूर्वमहामन्त्री डा. सशांक कोइरालाको नेतृत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गर्नासाथ उनी उक्त समूहबाट टाढि“दै गएका हुन् । उनी २९–३१ साउनमा भएको पक्षको राष्ट्रिय भेलामा भने उपस्थित भएका थिए । हाल आएर खड्का सभापति थापास“ग संवादमा रहेको र पार्टीमा उनको स्थान सुनिश्चित भइसकेको कांग्रेसका एक नेताले बताएका छन् । खड्कास“गकै सहमतिअनुसार आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले निर्णय गरेको ती नेताको भनाइ छ ।
शेखरस“ग सहमति हुन बा“की
२९–३१ साउनमा आयोजित इतरपक्षीय भेलामा सहभागी डा. शेखर कोइराला र संस्थापनबीच संवाद चलिरहे पनि सहमतिमा नपुगेको नेता सञ्जय गौतमले बताए । इतर पक्षमै रहेका कोइराला बेलाबेला देउवा समूहले बोलाएको भेला तथा बैठकहरुमा जाने गरे पनि माइन्युटमा हस्ताक्षर गर्ने गरेका थिएनन् । इतर समूहको भेलाले माइन्युट गर्न नहुने उनको तर्क थियो । कोइरालाले शनिबार सा“झ सभापति थापास“ग भेटवार्ता गरेका थिए । भेटवार्ताको क्रममा पार्टी एकताकै विषयमा छलफल भएको गौतमको भनाइ छ । पछिल्लो अन्तरसंघर्षमा मझधारमा उभि“दै आएका शेखर कोइराला हालसम्म देउवा समूहसहित एकताका लागि जोडबल गरिरहेका छन् ।
महाधिवेशन रोक्न देउवा पक्षको जोडबल
देउवा समूह भने संस्थापनले निर्धारित गरेको महाधिवेशन रोक्न जोडबल गरिरहेको छ । त्यसका लागि आफूहरुले घोषणा गरेको महाधिवेशन रोक्न पनि तयार रहेको सो पक्षको भनाइ छ । देउवा पक्षीय नेता रमेश लेखकले १५ औं महाधिवेशन प्रक्रिया तत्काल नरोके पार्टी विभाजन हुने बताएका छन् । आइतबार कञ्चनपुरमा नेता–कार्यकर्तास“गको भेटका क्रममा उनले १४ औं महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गर्दै विवाद समाधान गर्नुपर्ने बताए । ‘हामीले गगनजीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौं । तर, मिल्न सकिरहेको छैन,’ उनले भने–आआफ्नो ठाउ“बाट महाधिवेशन रोकौं । महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ ।











