हेटौंडा/मकवानपुरमा महिलाहरू पनि लागुऔषध तथा दुर्व्यसनको समस्यामा फसिरहेको अवस्थालाई मध्यनजर गर्दै स्थापना गरिएको सिआन महिला पुनर्स्थापना केन्द्रले आफ्नो स्थापनाको दुई वर्ष पूरा गरेको छ।

२०८१ भदौ १९ गते हेटौंडा–९ स्थित लामसुरेमा स्थापना भएको केन्द्रले दुई वर्षको अवधिमा १६४ जना महिलालाई उपचार तथा पुनर्स्थापनाको सेवा प्रदान गरेको जनाएको छ। हाल केन्द्रमा २१ जना महिला उपचाररत छन्।

महिलाका लागि सुरक्षित, व्यवस्थित र सहयोगी वातावरणमा उपचार तथा परामर्श उपलब्ध गराउँदै व्यवहार परिवर्तन, आत्मनिर्भरता र सामाजिक पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले तान्या अग्रवालको पहलमा केन्द्र सञ्चालनमा ल्याइएको हो।

केन्द्रकी सञ्चालक तान्या अग्रवालका अनुसार मकवानपुरमा महिलाहरू पनि विभिन्न प्रकारका दुर्व्यसनमा फसिरहेको देखिएपछि उनीहरूका लागि सुरक्षित र सम्मानजनक पुनर्स्थापना केन्द्रको आवश्यकता महसुस गरी सिआन स्थापना गरिएको हो।

“मकवानपुरमा महिलाहरू पनि विभिन्न प्रकारका दुर्व्यसनमा फसिरहेको अवस्था देख्यौँ। तर पुरुषको तुलनामा महिलाका लागि उपचार र पुनर्स्थापनाका अवसर निकै सीमित थिए,” अग्रवालले भन्नुभयो, “महिलाहरूले सुरक्षित, सम्मानजनक र पारिवारिक वातावरणमा उपचार पाउनुपर्छ भन्ने सोचले सिआन महिला पुनर्स्थापना केन्द्र स्थापना गरेका हौँ।”

दुई वर्षको यात्रालाई चुनौती र सिकाइसँगै प्रेरणादायी रहेको अग्रवालको भनाइ छ। केन्द्रमार्फत हालसम्म १६४ जना महिलालाई उपचार तथा पुनर्स्थापनाको प्रक्रियामा सहयोग गर्न पाएको र उनीहरूको जीवनमा आएको सकारात्मक परिवर्तनले आफूहरूलाई थप उत्साहित बनाएको उहाँले बताउनुभयो।

“उहाँहरूको जीवनमा सकारात्मक परिवर्तन आएको देख्दा हाम्रो प्रयास सार्थक भएको महसुस हुन्छ,”उहाँले भन्नुभयो ।

केन्द्रले आगामी दिनमा उपचार तथा पुनर्स्थापनाको सेवालाई थप प्रभावकारी बनाउँदै भौतिक पूर्वाधारसमेत विस्तार गर्ने योजना अघि सारेको छ। उपचाररत महिलाका लागि व्यवस्थित आवास, स्वास्थ्य तथा परामर्श सेवा, मनोरञ्जन र सिर्जनात्मक गतिविधिका लागि आवश्यक संरचना तथा सीप विकासका लागि उपयुक्त स्थान निर्माण गर्ने केन्द्रको योजना छ। “महिलालाई नयाँ जीवन सुरु गर्ने वातावरण दिनु हाम्रो उद्देश्य हो,” अग्रवालले भन्नुभयो।

केन्द्रका अनुसार पुनर्स्थापनाको काम एउटा संस्थाको प्रयासबाट मात्रै सम्भव नहुने भएकाले परिवार, समुदाय, स्थानीय तह, संघसंस्था, व्यवसायी तथा सहयोगी हातहरूको सहकार्य आवश्यक छ।

केन्द्रको भौतिक पूर्वाधार विकास तथा उपचाररत महिलाको सेवाका लागि आर्थिक सहयोगसँगै स्वास्थ्य, शैक्षिक तथा अन्य आवश्यक सामग्री सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई केन्द्रले आह्वान गरेको छ।

“सानो सहयोगले पनि कुनै महिलाको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। त्यसैले पुनर्स्थापनाको यस अभियानमा सबैलाई जोडिन आग्रह गर्दछौँ,” अग्रवालले भन्नुभयो ।

सिआन महिला पुनर्स्थापना केन्द्रले दुई वर्षको अवधिमा उपचारसँगै विभिन्न शैक्षिक, मनोसामाजिक, स्वास्थ्य, सीपमूलक तथा सामाजिक पुनर्स्थापनासम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

“दुर्व्यसनबाट बाहिर निस्कनु अन्त्य होइन, नयाँ जीवनको सुरुवात हो,”भन्ने मूल उद्देश्यका साथ केन्द्रले महिलाको उपचार, पुनर्स्थापना र आत्मनिर्भरताको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।