नुवाकोट/ बेत्रावतीमा आएको बाढीले घरसहित बगाएकी चण्डिका श्रेष्ठ ११ दिनपछि जीवितै फेला परेकी छन्। बाढीले मूल स्थानबाट करिब ५० मिटर पर पुर्याएको घरको भग्नावशेषभित्रबाट उनलाई शनिबार उद्धार गरिएको हो।
स्थानीयवासीले भग्नावशेषभित्रबाट मानिसले आवाज निकालेको सुनेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै पुगेको प्रहरीले खोजी गर्दा चण्डिका घरभित्रै जीवित अवस्थामा भेटिएकी थिइन्।
उद्धारपछि उनलाई उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल ल्याइएको छ। आफन्तका अनुसार चण्डिकाले उद्धारपछि कुराकानीसमेत गरेकी छन्। उनका श्रीमान् भने अझै सम्पर्कविहीन रहेको बताइएको छ।
चण्डिका ११ दिनपछि जीवितै भेटिएपछि बाढी तथा पहिरोका कारण पुरिएका र क्षतिग्रस्त अन्य संरचनामा पनि मानिस फसेको हुनसक्ने आशा बढेको छ।
रसुवाको गढीदेखि धादिङको गलौंदीसम्म बाढीले ठूलो क्षति पुर्याएको छ। कतिपय घर पूर्णरूपमा पुरिएका छन् भने कतिपय संरचना बाढीले पल्टाएको छ। ती संरचनाभित्र मानिस फसेको हुनसक्ने आशंकामा प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।
गृहमन्त्री सुधन गुरुङले पनि बाढीले प्रभावित क्षेत्रमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै खोज तथा उद्धार कार्य जारी रहेको बताएका छन्।











