हेटौंडा/वर्षा र बाढीका कारण मुख्य राजमार्गहरु अवरुद्ध भइ संघीय राजधानी काठमाडौंको आवागमन चुनौतीपूर्ण बनेका बेला मकवानपुरको मनहरी–राक्सिराङ–मलेखु सडक मुग्लिन–मलेखु खण्डको भरपर्दो विकल्प हुनसक्ने यस क्षेत्रका जनप्रतिनिधिका साथै प्राविधिकले बताएका छन् । वीपी राजमार्गमा सा“झ–रात यातायात बन्द भएको लामो समय भयो । यसको विकल्पका रुपमा महोत्तरीको बर्दिबास र सिन्धुली हु“दै हेटौंडा आउने सडक प्रयोग भइरहेका छन् । हेटौंडा आइपुगेपछि काठमाडौं प्रवेशका लागि हाल निम्न विकल्प छन्ः
हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी–सिस्नेरी–छैमले हुँदै फर्पिङ–काठमाडौं (८३ किलोमिटर), हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ–काठमाडौं (७८ किलोमिटर) । यसमा फाखेलनजिक महालक्ष्मी खोलाबाट चखेल हुँदै भालेश्वर भएर थानकोट निस्कने ६२ किलोमिटरको कच्ची बाटो पनि छ, तर यसमा रुट अनुमति छैन । हेटौंडा–मकवानपुरगढी–ललितपुर हुँदै कान्ति लोकपथ (८६ किलोमिटर), हेटौंडा–पालुङ–नौबीसे–काठमाडौं (१३० किलोमिटर), हेटौंडा–नारायणगढ–मुग्लिन–मलेखु–काठमाडौं (२२३ किलोमिटर) ।
हाल कृष्णभीरमा पहिरो गएर सडक अवरुद्ध भएपछि र लामो दुरी पर्ने भएकाले पूर्वी चितवन, मकवानपुर, बारा, पर्सा, सर्लाही र भारतआसपास यात्रुहरु हेटौंडाबाट छोटा दुरीका मार्ग प्रयोग गरी काठमाडौं गइरहेका छन् । वीपी र पृथ्वी राजमार्गमा अवरोध आउ“दा काठमाडौं छिर्ने भरपर्दो जिल्ला मकवानपुर बनेको छ । भदौ १० गतेको बाढी र पहिरोले राजमार्गहरु अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रहरी प्रधान कार्यालयसंगको समन्वयमा नया“ सवारी रुट निर्धारण गरेको छ । यसले गर्दा यात्रुहरुलाई हैरानी र प्रहरीलाई व्यवस्थापनमा चुनौती थपिएको छ ।
मनहरी–राक्सिराङ–मलेखुः उत्तम विकल्प
राक्सिराङ गाउ“पालिका अध्यक्ष राजकुमार मल्लका अनुसार नारायणगढ–मुग्लिन–मलेखु खण्डको उत्तम विकल्प मनहरी–राक्सिराङ–मलेखु सडक हुनसक्छ । मनहरी बजारबाट चैनपुर–परेवाभिर–खैराङ हुँदै सीधै मलेखु निस्कन सकिने उनको दाबी छ । ‘मनहरीबाट ६ किलोमिटर पिच भइसकेको छ र धादिङतर्फबाट पनि १४ किलोमिटर सडक स्तरोन्नति भएको छ,’ अध्यक्ष मल्लले भने–अब ३० किलोमिटर सडक स्तरोन्नति र राक्सिराङको घोर्कटेमा एउटा पुल बनाउन सके सीधै मलेखु पुग्न सकिन्छ ।
स्थानीय तहको एकल प्रयासमा ३५ किलोमिटर ट्रयाक खोलिएको र करिब ७ करोड लागतमा पुल तथा ५० करोडको बजेट भए यस मार्ग राष्ट्रिय गौरवको वैकल्पिक मार्ग बन्नसक्ने उनले बताए । यसबाट दुर्गमका चेपाङ बस्ती विकासमा जोडिने र मनहरीबाट अढाइ घण्टामै मलेखु पुग्न सकिनेछ ।
थानकोट निस्कने अर्को छोटो मार्ग
इञ्जिनियर सजित कार्कीका अनुसार ९६ किलोमिटरको मनहरी–राक्सिराङ–कैलाश–थाहा हुँदै थानकोट निस्कने मार्ग पनि सम्भव छ । सडक विभागले डीपीआर गरिसकेको यस मार्गलाई रुपचन्द्र बिष्ट मार्ग भनिन्छ । मनहरीको घोर्कटे र चौकीटारमा पुल हाल्न सके यस मार्ग काठमाडौं जोड्ने सबभन्दा छोटो र प्रभावकारी विकल्प हुने देखिन्छ । कैलाश गाउँपालिका पूर्वअध्यक्ष टंकबहादुर मुक्तानले ७ करोड खर्च गरेर घोर्कटेमा पुल हाल्ने हो भने धादिङ र पालुङ दुवैतर्फ निस्कने बाटो खुल्ने बताए ।
तरकारी ढुवानीमा संकट
उत्तरी मकवानपुरको पालुङबाट दैनिक ६० ट्रक तरकारी देशभर आपूर्ति हुने गरेकोमा हाल रुट परिवर्तन र सडक अवरोधले गर्दा ढुवानीमा ठूलो समस्या परेको छ । थाहा नगरपालिका प्रमुख विष्णु बिष्टले तरकारीको हब मानिने पालुङका किसान र व्यवसायी मर्कामा परेको बताउ“दै वैकल्पिक सडकको आवश्यकता औंल्याए । यदि सरकारले मनहरी–राक्सिराङ–मलेखु मार्गमा ध्यान दिने हो भने यसले मकवानपुर र चितवनलाई मात्र नभइ पश्चिम नेपालकै यातायात आवागमनलाई सहज बनाउने विश्वास लिइएको छ ।











