हेटौंडा । देशका यातायात व्यवसायीको सबभन्दा ठूलो साझा संस्था नारायणी यातायात व्यवसायी संघको १६ औं अधिवेशनबाट अध्यक्षमा सरोजकुमार खनालसहित प्यानल निर्वाचित भएको छ । शनिबार सम्पन्न मतदानको मतगणनामा खनाल समूहका सबै सबै पदाधिकारी एवम् सदस्यहरु निर्वाचित भएका हुन् ।

शुक्रबार सुरु भएको अधिवेशनमा अध्यक्षमा खनाल निर्विरोध निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्षमा विष्णु बिडारी, क्षेत्रीय उपाध्यक्ष चितवन क्षेत्रका शंकर गिरी, क्षेत्रीय उपाध्यक्ष वीरगञ्ज क्षेत्रका बिनोदकुमार मानन्धर, मुख्य कार्यालय उपाध्यक्ष शालिकराम ढकाल, महासचिवमा राजेश खड्गी, सचिवहरुमा कपिलबहादुर बानियाँ, गुणराज घिमिरे, देवनारायण लामिछाने, सुरेश खड्गी, सदस्यमा हेटौंडा यात्रुबाहक डम्बरबहादुर गोपाली, चितवन यात्रुबाहक नवीन भण्डारी, वीरगञ्ज खुला सदस्य श्यामप्रसाद उप्रेती र इन्द्रकुमार त्रिपाठी निर्विरोध निर्वाचित हुनुभएको थियो ।

शाखा उपाध्यक्ष काठमाडौंका लागि केशबकुमार उप्रेती, कोषाध्यक्ष ठाकुरनाथ सुबेदी, सहकोषाध्यक्षमा कुमार बर्तौला मतदानमार्फत विजयी हुनुभएको थियो । मतदानमार्फत विजयी हुने अन्य सदस्यहरुमा कमलबहादुर शाह, इन्द्रकुमार भोलन, गोबिन्द रेग्मी, तिलकबहादुर कार्की, पुरुषोत्तम पुडासैनी, भीम प्रसाद बास्तोला र विष्णुलाल श्रेष्ठ हुनुहुन्छ ।

अध्यक्ष खनालले संघआवद्ध यातायात व्यवसायीहरुले आफूप्रति व्यक्त गरेको विश्वास, जिम्मेवारी र अपेक्षालाई सदैंव उच्च सम्मानसाथ आत्मसात गर्दै संस्थाको गरिमा, एकता, पारदर्शिता, सुशासन र व्यवसायीको साझा हितलाई केन्द्रमा राखी समर्पित भावनासहित कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अधिवेशनअन्तर्गत शुक्रबार उद्घाटन तथा बन्दसत्र, शनिबार मतदान तथा मतगणना कार्यक्रम तोकिएको थियो । आइतबार निर्वाचनको अन्तिम नतिजा प्रमाणीकरण गरिएकोे थियो । संघमा आवद्ध सदस्यहरुमा कम्पनी सदस्यसमेत ४ हजार ४ सय ७६ जना मतदाता थिए ।