हेटौंडा/सन् २०११ मा प्लस टु उत्तीर्ण गरेपछि प्रेमप्रसाद तिमल्सिनाको मनमा एउटै सपना थियो–आफ्नै देशमा केही गर्ने । तर, सपना पूरा गर्न पुँजी थिएन । त्यसैले ड्राइभिङ सिप बोकेर उनी रोजगारीका लागि साउदी अरब पुगे । आठ वर्षसम्म परदेशमा पसिना बगाए । त्यही पसिनाले कमाएको रकम लिएर उनी नेपाल फर्किए । तर, जागिर खान होइन, गाउँमै उद्यम खडा गर्न ।

मकवानपुरगढी गाउँपालिका–३, देवीडाँडामा सञ्चालित तिमल्सिना हाते कागज उद्योग त्यसै निर्णयको परिणाम हो । उनले फालिने केराको थामबाट हस्तनिर्मित कागज उत्पादन गरेर ग्रामीण उद्यमशीलताको नयाँ सम्भावना देखाएका छन् । ‘विदेशको पैसा खहरेको पानीजस्तै रहेछ,’ तिमल्सिना भन्छन्–आफ्नै ठाउँमा व्यवसाय खडा गर्न सकियो भने त्यो जीवनभर टिक्ने सम्पत्ति बन्छ । आफ्ना सन्ततिले पनि सिक्छन् । देशलाई पनि फाइदा हुन्छ । विदेश बसाइले उनलाई अनुशासन र निरन्तर मेहनत गर्न सिकायो । ‘जहाँ भए पनि इमान्दारिसाथ १० घण्टा काम गर्न सकियो भने पैसा कमाउन गाह्रो हुँदैन भन्ने मैले विदेशमा सिकें,’ उनी सम्झन्छन् ।

साउदीमै रहेका बेला उनले युट्युबमा भारतको कर्नाटकका एक इञ्जिनियर दम्पतीले केराको थामबाट कागज बनाएको भिडियो देखे । त्यस दृष्य उनको मनमा गडेर बस्यो । ‘मेरो गाउँ केरा उत्पादनको पकेट क्षेत्र हो । जताततै केराको थाम फालिएको देख्थें । त्यसबेला लाग्यो, यो फोहोरलाई पनि स्रोत बनाउन सकिन्छ,’ उनी भन्छन् । नेपाल फर्किएपछि उनले बाख्रापालन, भेटेरिनरी सेवा, ड्राइभिङलगायत धेरै काम गरे । तर, अन्ततः फालिने कच्चापदार्थलाई मूल्यवान् उत्पादनमा रुपान्तरण गर्ने सपना पछ्याउने निर्णय गरे । २०८१ सालमा उनले हाते कागज उद्योग स्थापना गरे । उद्योग सुरु गर्दा सबभन्दा ठूलो चुनौती पुँजीभन्दा पनि परिवारलाई विश्वास दिलाउनु थियो । ‘यस कामबाट पैसा आउँदैन भन्ने सबैको धारणा थियो । मैले करिब छ महिनासम्म एक्लै काम गरें । जब उत्पादन बिक्री हुन थाल्यो र मेहनत पैसामा रुपान्तरण भयो, त्यसपछि मात्र परिवारले विश्वास गर्नुभयो,’ उनी सुनाउँछन् ।

हाल उद्योग परिवारकै सक्रिय सहभागितामा सञ्चालन भइरहेको छ । व्यवसाय विस्तारसँगै आगामी वर्षदेखि थप कर्मचारी राख्ने तयारी भइरहेको छ । केरा काटिसकेपछि खेतमै कुहिन छाडिने थाम उद्योगका लागि मुख्य कच्चापदार्थ हो । पहिले थामबाट विशेष मेसिनमार्फत् फाइबर निकालिन्छ । त्यसलाई सुकाएर बाबियोसँग पकाइन्छ । प्रशोधनपछि लेदो बनाइन्छ र त्यही लेदोबाट हस्तनिर्मित कागज तयार गरिन्छ । तिमल्सिनाका अनुसार एक किलो फाइबरबाट २० गुणा ३० इञ्च आकारका ५० देखि ६० वटा कागज उत्पादन हुन्छ । पूर्णक्षमतामा उद्योग सञ्चालन हुँदा दैनिक ५ सय वटासम्म कागज उत्पादन गर्न सकिने उनको भनाइ छ । मकवानपुरगढीको केरामा फाइबरको मात्रा तराईभन्दा धेरै रहेको उनको अनुभव छ । ‘तराईमा एक ट्याक्टर थामबाट करिब २० किलो फाइबर निस्कन्छ भने यहाँ ७० देखि ८० किलोसम्म फाइबर निकाल्न सकिन्छ,’ उनी भन्छन् ।

मकवानपुरगढी गाउँपालिकाले ३५ हजारको हस्तनिर्मित कागज खरिद गरिसकेको तिमल्सिना बताउँछन् । हाल उनका कागज धुप उद्योग, हस्तकला सामग्री, पेपरब्याग, पेपरबक्स र अन्य वातावरणमैत्री प्याकेजिङका लागि प्रयोग हुन थालेका छन् । ‘हाम्रो लक्ष्य लोक्ताको विकल्प होइन, लोक्तासँगै अर्को नेपाली हाते कागजको पहिचान स्थापित गर्ने हो,’ उनी भन्छन् ।

पूर्णरुपमा उद्योग सञ्चालन गर्न सके मासिक करिब एक लाख आम्दानी गर्न सकिने तिमल्सिनाको दाबी छ । व्यवसाय विस्तार भएपछि तीनदेखि चार जनासम्मलाई रोजगारी दिन सकिने उनको योजना छ । ‘विदेश जानु पर्दैन । यहीं गाउँमा बसेर पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ,’ उनी भन्छन् । उद्योग स्थापना भएपछि प्रदेशका मन्त्रीदेखि अनुसन्धानकर्ता, विद्यार्थी र विभिन्न क्षेत्रका व्यक्तिहरु उद्योग अवलोकन गर्न पुगेका छन् । हाल उद्योग सञ्चालनमा सबभन्दा ठूलो समस्या सडक र विद्युत् रहेको तिमल्सिनाको भनाइ छ ।

उद्योगसम्म पुग्ने बाटो नहुँदा वर्षायाममा कच्चापदार्थ ढुवानी गर्न नसकिने र तीन–चार महिनासम्म उद्योग बन्द गर्नुपर्ने अवस्था आउने गरेको छ । त्यसमाथि पर्याप्त विद्युत् भोल्टेज र थ्रीफेज लाइन नहुँदा आधुनिक मेसिन सञ्चालन गर्न कठिन भइरहेको छ । ‘म मेसिन किन्छु । तर, ट्रान्सफर्मर फेर्ने, बाटो बनाउने काम मेरो एक्लैको क्षमताभित्र पर्दैन । त्यसमा स्थानीय सरकारले साथ दिनुपर्छ,’ उनी भन्छन् । उनको अर्को सपना पनि छ मकवानपुर जिल्लामा सरकारी प्रयोजनका लागि आवश्यक हाते कागज आफ्नै उद्योगबाट उत्पादन गर्ने र कम्तिमा २० जनालाई रोजगारी दिने ।