काठमाडौं/राष्ट्रपतिको हातबाट पद्मश्री सम्मानका लागि बोलाउँदा भारतका मुटुरोग विशेषज्ञ डा. तपनकुमारले भने–समय धेरै लाग्छ भने म मेरो बिरामी छाडेर आउन सक्दिनँ । मासिक एक लाख तलब मलाई नदिनु धेरै हुन्छ भन्ने उनी ८५ वर्षका भए । पेन्सनको पैसासमेत गरिब र दुःखीको सेवामा खर्च गर्छन् ।
कतिपय मानिसहरु सफलताको उचाईंमा पुगेर आफ्ना लागि बाँच्छन् । तर, केही यस्ता विरलै जन्मिन्छन्, जो सफलताकै शिखरमा पुगेर पनि अरुका लागि बाँच्ने निर्णय गर्छन् । भारतका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. तपनकुमार लाहिरी त्यस्तै असाधारण व्यक्तित्व हुन् । बेलायतमा उच्च चिकित्सा शिक्षा हासिल गरेका डा. लाहिरीसँग त्यहीं बसेर प्रतिष्ठा, सम्पत्ति र सुबिधाले भरिएको जीवन बिताउने अवसर थियो । तर, उनको मन आफ्नै देशका बिरामीहरुमै अडिएको थियो । त्यसैले उनले विदेशको आकर्षण त्यागे र भारत फर्किए । त्यही दिनदेखि उनको जीवनको एउटै लक्ष्य बन्यो—जति सकिन्छ, बिरामीको सेवा गर्ने ।
औपचारिकरुपमा उनी सेवानिवृत्त भइसकेका छन् । तर, सेवाबाट भने कहिल्यै अवकास लिएनन् । हाल पनि अस्पताल पुगेर बिरामीको स्वास्थ्य जाँच गर्छन्, उनीहरुको दुःख सुन्छन् र उपचारमा आफूलाई समर्पित गर्छन् । उनको जीवनशैली पनि उत्तिकै सरल छ । उनले कहिल्यै विलासितालाई पछ्याएनन् । निजी गाडीको सट्टा सार्वजनिक बस र अटोरिक्सामै यात्रा गर्न रुचाउँछन् । उनका लागि मानिसको जीवन बचाउनु नै सबभन्दा ठूलो सुबिधा र सबभन्दा ठूलो पुरस्कार हो ।
भारत सरकारले उनलाई पद्मश्री सम्मानबाट विभुषित गर्ने निर्णय गर्दा राष्ट्रपति भवनबाट पुरस्कार ग्रहण गर्न निमन्त्रणा आयो । तर, उनले सबभन्दा पहिले सोधेको प्रश्न थियो–समारोहमा कति समय लाग्छ ? धेरै ढिलो भयो भने मेरा बिरामीहरु पर्खिनुपर्ने हुन्छ । यस एक प्रश्नले नै उनको सम्पूर्ण जीवनदर्शन उजागर गरिदिन्छ । उनको निस्वार्थ भावनाको अर्को उदाहरण पनि उत्तिकै प्रेरणादायी छ । एक प्रतिष्ठित अस्पतालले उनलाई करिब एक लाख भारतीय रुपैयाँ मासिक तलब दिने प्रस्ताव गरेको थियो । तर, उनले विनम्रतापूर्वक भने–मलाई यति धेरै तलब आवश्यक छैन । उनले आफ्नो पारिश्रमिक घटाउन आग्रह गरेका थिए । किनभने, उनका लागि पैसा भन्दा सेवा ठूलो थियो ।
सेवानिवृत्तिपछि पनि उनले आफ्नो पेन्सनको ठूलो हिस्सा आर्थिकरुपमा कमजोर र असहाय बिरामीहरुको उपचारमा खर्च गर्दै आएका छन् । उपचार खर्च जुटाउन नसक्ने धेरै बिरामीका लागि उनी आशा, भरोसा र जीवनको अर्को नाम बनेका छन् । डा. तपनकुमार लाहिरीको जीवनले एउटा अमूल्य सन्देश दिन्छ—मानिसको महानता उसले कमाएको सम्पत्तिले होइन, उसले बाँडेको करुणा, सेवा र मानवताले मापन हुन्छ ।
जब संसारको ठूलो हिस्सा धन, पद र सुबिधाको पछि दौडिरहेको छ, ८५ वर्षीय यी चिकित्सक भने अझै पनि अस्पतालको बाटो समाइरहेका छन् । उनको हातमा कुनै विलासी वस्तु छैन । तर, हजारौं बिरामीको आशीर्वाद छ । यही आशीर्वाद नै उनको वास्तविक सम्पत्ति हो, यही सेवा नै उनको जीवनको सबभन्दा ठूलो सम्मान ।













