’हेटौंडा । आज असार १५, राष्ट्रिय धान दिवस । मुरी फलाउन मानो रोप्ने दिन । अर्थात्, आजभोलि चलेको नापतौलअनुसार १ केजी धान रोप्दा एक सय ६० केजी फल्ने । यो भनेको एक हेक्टरमा सालाखाला ४० केजी विउ रोप्दा फल्नुपर्ने ६ हजार चार सय केजी अर्थात् प्रतिहेक्टर ६.४ मेट्रिकटन । यो भयो, हाम्रो जनजिब्रोको सामान्य हिसाब । हाल नेपालमा धानको राष्ट्रिय उत्पादकत्व ३.५ मेट्रिकटन प्रतिहेक्टर छ, यो भनेको हाम्रो सामान्य अपेक्षाको आधाभन्दा थोरैमात्र बढी ।
सन् १९६६ मा विश्वभर नै भोकमरी फैलियो । भोकमरीबाट बच्नका लागि सबभन्दा महत्वपूर्ण बाली धान हुने संयुक्त राष्ट्रसंघले ठहर ग¥यो र धानलाई विश्वभर उत्पादन बढाउने अभियान चाल्न वर्ष बालीका रुपमा लियो । भोकमरीबाट मुक्तिको नारासहित उक्त वर्ष मुख्य बालीका रुपमा धान उत्पादनलाई जोड दिइयो । फलस्वरुप, धान संसारका लागि मुख्य खानाका रुपमा स्थापित भयो । तत्पश्चात् विश्वभर धानखेतीले प्रश्रय पायो । त्यसैले विश्व तहमा खुशीयाली स्वरुप धानको सकारात्मक प्रचारप्रसारका लागि दिवस तथा महोत्सव मनाउन थालियो । संयुक्त राष्ट्र संघले सन् २००४ लाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेको थियो । उक्त वर्षको औपचारिक घोषणाको वक्तव्यमा विश्व खाद्य संगठनमा तत्कालीन महानिर्देशक डा.ज्याक ड्युफले ‘राइस इज लाइफ’ अर्थात् चामल जिन्दगी हो भनेका थिए ।
नेपालको सन्दर्भमा मनाङ र मुस्ताङबाहेक जिल्लामा धानखेती हुने गर्छ । समुद्र सतहभन्दा ६० मिटर उचाईं (झापा जिल्लाको कचनाकेवल) देखि तीन हजार ५० मिटर (जुम्लाको हुमचौर) सम्म हामीकहाँ धानखेती हुन्छ । नेपालमा कुल खेतीयोग्य जमिनमध्ये १४ लाख ७३ हजार हेक्टर (४७ प्रतिशत्) क्षेत्रफलमा धानखेती गरिन्छ । विश्वमा झैं नेपालमा पनि धान प्रमुख बालीका रुपमा स्थापित छ ।
सरकारले २०६१ देखि नियमितरुपमा असार १५ गतेलाई धान दिवस तथा रोपाईं महोत्सवका रुपमा मनाउँदै आएको छ । धान दिवस मनाउन थालेसँगै धान र यसको मुख्य परिकार भातका बारेमा चासो बढेको छ । हाल हामीकहाँ कृषि तथा पशुपक्षी विकास मन्त्रालय र मातहतका निकायहरु, राजनीतिक पार्टीका किसान भ्रातृ संघ तथा संगठनहरु, अन्य स्वतन्त्र तथा खेतीपातीमा संलग्न संघसंस्था र संगठनहरु एवम् स्थानीय सरकारसमेत धान दिवस मनाउन तल्लीन छन् ।
हामी दिवस मनाउँदै छौं । आकाशको पानीको भरमा धान रोप्नुपर्ने बाध्यता झेलिरहेका किसानले चाहेर पनि रोपाईं गर्न सकेका छैनन् । यस वर्ष हामी तामझाम त गर्दै छौं, मनसुनमा आधारित वर्षामै निर्भर किसानले रोपाईं गर्न सकिरहेका छैनन् ।
असारमा खाने दही र चिउरा, साउनमा खाने खिर ।
घरमा छैन मिठो बोली वचन, मनमा छैन थिर ।।
असार १५ हाम्रो संस्कृतिसँग जोडिएको दिनसमेत हो । यस दिन दहीचिउरा र चामलबाट बनेका परिकार बनाएर खाने चलन छ । चामलबाट बनेका परिकार खाने र असारे गीत गाउँदै र बेठी बाजा बजाएर हिलोमा नाच्दै हिलो खेल्नु हाम्रो सांस्कृतिक परम्परा हो, अचेल यस्ता परम्परा जोगाउनुपर्ने भएको छ ।
आदिमकालदेखि नै किसान र प्रकृतिबीच घनिष्ठ सम्बन्ध रहँदै आएको छ । लामो समयदेखि खडेरीको सामना खेपिरहेका किसान जब वर्षा सुरु हुन्छ, तब हर्षले गद्गद् भई रोपाईंमा व्यस्त हुन्छन् । किसानी काममा अधिक शारीरिक श्रम गर्नुपर्छ, पसिना बग्छ, हातमा ठेला उठ्छ । औजार चलाउँदा हातखुट्टामा घाउ चोट लाग्छ, भोकप्यास लाग्छ । थकान मेटाइ शरीरमा स्फूर्ति कायम राख्न किसानले रामदली, गोडेलो, बेठी गीत र असारे आदि श्रम गीत रचेर मिठो भाकामा गाउँदै आए । यसरी उत्साह र उमंग थप्दै असारे झरीमा रुझ्दै संस्कृतिको जगेर्ना एवम् कर्मको निरन्तरता दिइरहेका छन् किसान ।
कुनै पनि दिवस मनाउने भनेको रमाइलोका लागि होइन । रमाइलोका लागि एक दिन हिलोमा खेलेर गर्ने मजाकले वास्तविक किसानको अपमान गर्न सक्छ । धान दिवस तथा महोत्सवलाई एक दिन हिलो खेल्ने र वर्षको एक दिन कोदाली समातेर फोटो खिच्ने मजाकका रुपमा लिनु हुँदैन । कृषि कर्म एक दिन गरेर सामाजिकसञ्जालमा फोटो देखाएर लाइक र कमेन्ट गर्ने पेसा होइन । खेतीका लागि त निरन्तर परिश्रम गर्नुपर्छ, भनिन्छ, धावन्ते खेती ।
नेपालले २०३१ सालमा आठ वटा कम्पनी स्थापना गरी धानचामल निर्यात गर्न थालेको थियो । सोही वर्ष ५५ हजार मेट्रिकटन चामल नेपालबाट भारत, बंगलादेशलगायत देशमा निर्यात भएको थियो । कम्पनी स्थापना भएको सात वर्षसम्म निरन्तररुपमा धानचामल निर्यात भयो । आठौं वर्षमा पुग्दा नाटकीयरुपमा नेपालमै चामल आयात हुन थाल्यो र दशौं वर्षसम्म पुग्दा ती आठ वटै कम्पनी बन्द हुन पुगे ।
जनसंख्या वृद्धि भयो, उपभोग बढ्यो, परम्परागत् कृषिप्रणालीमा खेतीपाती भएका कारण उत्पादन घट्यो र निर्यात गर्न सकिएन भन्ने आधार बनाइयो । अवस्थाको सही विश्लेषण गर्न सकिएन, नीतिनियम किसानमैत्री बनाउन र कार्यान्वयन गर्न ध्यान दिइएन, किसानको सम्मान गर्न जानिएन । फलस्वरुप किसान निराश भए । किसान निराश हुनु भनेको देशको कृषिक्षेत्र निराश हुनु हो । किसानप्रति सम्बन्धित निकायको दृष्टिकोण सकारात्मक नहुनु र किसानको अस्तित्व स्वीकार गर्न नसक्नुजस्ता कारण देशको उत्पादन ओरालो गतितिर झरेको हाम्रो अगाडि छर्लंग छ ।
हामीले धान दिवस तथा रोपाईं महोत्सव मनाउन थालेको २ दशक पूरा भयो । समय सान्दर्भिक नारा घन्काउँदै दिवस मनाइरहँदा हामीले लिएको नारा सार्थक भयो कि भएन भनी कहिल्यै खोजेनौं । विगतका दिवसलाई फर्केर हेर्ने हो भने नारा एकातिर धान उत्पादनको अवस्था अर्कोतिर छ, अर्थात् फरकफरक दिशातर्फ गएको पाइन्छ । हामीले एकातिर कृषि भूमिको संरक्षणको नारा लियौं, अर्कोतिर धान फल्ने खेत खण्डीकरण भइ कंक्रिटमा परिणत हुँदैछन्, अर्थात् बजार बन्दैछन् । सडक, हाइड्रोपावर निर्माणलगायत विभिन्न कम्पनीका नाममा धान फल्ने जग्गा अधिग्रहण गरियो । पहिरो र नदीकटानमा खेतहरु परेका छन् । हरेक वर्षमा हजारौं हेक्टर जमिन बाढीपहिरोले नोक्सान गर्छ । संरक्षण छैन, यस कारण धान फल्ने जमिन साँघुरिएर उत्पादन घट्दो छ ।
नेपालमा धानखेती एक डेढ दशक अघिसम्म पारम्परिक नै थियो । तथापि, बढी उत्पादन दिने र रोगकीरा नलाग्ने वा कम लाग्ने जात छनौट तथा विकासमा अनुसन्धान कार्य केन्द्रित रहँदै आएको थियो । त्यसपछि क्रमिकरुपमा धानखेतीमा केही आधुनिकीकरणको प्रयास हुन थालेको छ । तराई र भित्री तराईमा मेसिनले धान रोप्ने (राइस ट्रान्सप्लान्टर) प्रविधि सुरु भएको छ भने एकैपटक काट्ने÷चुट्ने (कम्बाइन हार्भेष्टर) प्रयोग बढेकोे छ । हाल तराईमा करिब पाँच सयवटा कम्बाइन हार्भेष्टर क्रियाशील छन् । यी हार्भेष्टर भाडामा उपलब्ध छन् । मेसिनले धान रोपेको खेतमा झार गोडमेल गर्ने (विडर) को प्रयोग पनि सुरु भएको छ । केही वर्ष अघिसम्म मेसिनले धान रोप्ने भनेपछि केके न रमाइलो प्रदर्शनीजस्तो हुने गथ्र्यो । कम्बाइन हार्भेष्टर नभएको ठाउँमा धान काट्ने मेसिन (रिपर) प्रयोगमा आउन थालेका छन् । धान सीधै छरेर रोप्ने जिरो सिड ड्रिल मेसिन पनि केही प्रयोगमा छन् । यसरी तराई, भित्री तराई र ठुल्ठूला फाँट भएका उपत्यकामा धानखेतीमा बिस्तारै यान्त्रिकीकरण हुँदै गइरहेको छ । पहाडी क्षेत्रमा धान काट्ने रिपर अनि बिजुलीबाट चल्ने थे्रसरको प्रयोग हुन थालेको छ ।
हिजो धानचामल निर्यात गर्ने कृषिप्रधान देशका जनता हामी आज अर्बौंको चामल किनेर खान बाध्य छौं । हामीले दुई बाली धानखेतीको विस्तारको नारा लगायौं । तर, खेतीयोग्य जमिनमा वर्षायाममा समेत बाली लगाउने वातावरण बनाउन सकेनौं । पानीको स्रोत प्रशस्त भएर पनि सदुपयोग गर्न सकेनौं । किसानलाई आकाशेपानीको भरमा खेती लगाउन बाध्य बनायौं । यसले देखाउँछ कि कृषि, नाराले चल्दैन ।
७० प्रतिशत्भन्दा बढी पारिवारिक खेतीमा संलग्न साना किसानलाई राज्यले प्रोत्साहन गर्न सकेन । नेपालको भौगोलिक क्षमता, विशेषता, स्थानीय तह र किसानमा आश्रित समुदायको आवश्यकता नहेरी व्यावसायिक कृषिको नाममा रासायनिक मलको प्रयोगलाई जोड दिइयो । सरकारले आव २०८१÷०८२ का लागि कुल कृषि बजेटको आधाभन्दा बढी बजेट रासायनिक मलका लागि छुट्ट्यायो । ३० अर्ब रकम रासायनिक मलमा खर्च गरे पनि धान रोपाईं गर्ने समयमा किसानले मल पाउन सकेका छैनन् । कतिपय स्थानमा सहकारीबाट किसानलाई बाँड्न लगिएका सीमित कोटाको मल ५ तथा १० किलो भाग लगाएर वितरण गरिरहेका छन् ।
अर्कोतिर, वन्यजन्तुको प्रकोपका कारण खेतीपाती जोगाउन नसकी हार खाएर किसानहरु जमिन बाँझो राख्न बाध्य छन् । गाउँठाउँमा बसी कृषिकर्म गर्दै आएका देशका युवा जनशक्ति कृषिबाट निर्वाह नहुने देखेर गाउँबाट सहर र सहरबाट विदेशतिर जाने क्रम बढेर गएको छ । नागरिक समाजको दबाबमा सरकारले भुउपयोग नीति र नियमावली पास गरेको छ । अब त केही हुन्छ कि भनेर आशा गरे पनि प्रभावकारीरुपमा कार्यान्वयन हुन नसक्दा पलाएको आशा पनि निराशामा परिणत भएको छ ।
खेतीयोग्य जमिनमध्ये १८÷२० प्रतिशत् जमिनमा मात्र सिचाईंको व्यवस्था छ । जलस्रोतमा धनी राष्ट्र भएर पनि खेतीयोग्य जमिनको पाँच मिटर तलबाट पानी बगिरहँदा त्यसलाई उपयोगमा ल्याउन सकिएको छैन । डोजरे विकासका कारण परम्परागत्रुपमा किसानको श्रमदानबाट निर्मित सिचाईं कुलाहरु नोक्सान भइ सञ्चालनमा आउन सकेका छैनन् । जमिनमा पानीको सतह घट्दै गएको छ । जसको असरले सुक्खा बढ्दै छ । हाम्रा अधिकांश जमिन सुक्खा छन् । सिचाईंको व्यवस्था छैन । कहिले आकाशबाट पानी खस्ला र रोपाईं गरौंला भनेर किसानहरु आकाशतिर मुन्टो ते¥स्र्याउन विवश छन् । जलवायु परिवर्तनका कारण समयमा पानी नपर्दा किसानले बाली लगाउने समयमा बाली लगाउन सकेका छैनन् ।
जलवायु परिवर्तनले धानखेतीलाई असर पु¥याइरहेको छ । यसको न्यूनीकरणका लागि जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास गर्नुपर्नेछ, उपलब्ध प्रविधिहरुको प्रचारप्रसार गरी त्यसको सहीरुपमा अवलम्बन गर्न कृषक र अन्य सम्बद्ध पक्षलाई सचेत बनाउनुपर्नेछ—यस वर्षको नाराले यही सन्देश दिन खोजेको छ । असार धर्तीपुत्र किसानका लागि महत्वपूर्ण समय हो । आदिमकालदेखि नै किसान र प्रकृतिबीच घनिष्ठ सम्बन्ध रहिआएको छ ।
यतिखेर बर्सिएको वर्षा किसान र फसलका निम्ति अमृत समान हुन्छ । देशको मुख्य बाली धान रोप्ने समय भएकाले जब असार सुरु हुन्छ, तब किसानहरु आकाश हेर्न व्यस्त हुन्छन् । पानी कहिले पर्ला र रोपाईं गर्ने भन्ने चिन्ताले किसानलाई सताउने गर्छ । किसानको यस्तो चिन्ता हटाउन राज्यले प्राथमिकतासाथ ठोस कार्याक्रम ल्याउनुपर्छ ।













