हेटौंडा । धानखेती गर्ने किसानको आकर्षण हाइब्रीड वीउतर्फ बढेपछि मकवानपुरमा मौलिक र रैथाने जातका धान लोप हुने अवस्थामा पुगेका छन् । सिचार्इंको व्यवस्था भएको खेतमा मात्र लगाउन सकिने, धान फल्न बढी समय लाग्ने र कम उत्पादन हुनेलगायत समस्याले हाल किसानले स्थानीय धान लाउन छाडेको देखिएको छ ।

किसानको लगानीअनुसार आम्दानी नहुने भएपछि यसको खेती गर्नेहरु घटेका छन् । यसको संरक्षण तथा बढी उत्पादन गराउन बालीसंरक्षण सम्बन्धी विशेष योजना ल्याउनुपर्ने देखिएको छ । हाइब्रीड वीउले धान उत्पादनमा वृद्धि भएको तथ्यांकले देखाए पनि मौलिक जातका धानको महत्व धेरै रहेको किसान बताउँछन् । पछिल्लो समय यहाँका खेतमा रैथाने धान देखिन छाडेको छ ।

जिल्लामा उब्जनी र स्वादका हिसाबले अतिउत्तम मानिएका एक दर्जनभन्दा बढी रैथाने धानका जात हराएका छन् । कृषिसम्बन्धी जानकारहरु तथा वयोवृद्ध किसानका अनुसार विभिन्न प्रजातिका रैथाने धान हराएका हुन् । उनीहरुले उन्नत जातका नयाँ धानका प्रजाति आउन थालेपछि रैथाने जातका धान देखिन छाडिसकेको उल्लेख गर्नुभएको छ ।

स्वाद, सुगन्ध र रंगका कारण कुनै बेला सोख र सम्पन्नताको प्रतीक मानिने धान लोपोन्मुख अवस्थामा रहेको पुराना किसान विश्वनाथ गिरीले बताउनुभयो । उहाँका अनुसार परम्परागत धान हराउँदै जाँदा उत्पादन र सामाजिक क्षेत्रमा समेत प्रभाव परेको छ । यसले नयाँ समस्यासमेत ल्याएको उहाँको अनुभव छ ।

दिनप्रतिदिन बढिरहेको खाद्यसंकटलाई थेग्ने गरी राज्यले किसानलाई हाइब्रीडतर्फ लैजान खोजेपछि ग्रामीण क्षेत्रमा स्थानीय जातका धानखेती हुन छाडेको हो । सरकारले असार १५ मा रुपमा रोपाईं गर्दै आज धान दिवस मनाउँदैे छ । तर, परपरागतरुपमा धान रोपाईं हुन छाडेर आधुनिक प्रविधिले रोपाईंलाई प्रभावित तुल्याएको नामटारका किसान किरण न्यौपानेले बताउनुभयो ।

खेतमा हलगोरु नारेर रोपार्इं गर्ने चलन लोप हुँदै गएको र ट्रयाक्टरको प्रयोग बढ्दै गएको छ । मकवानपुरको अन्न भण्डारका रुपमा चिनिएको दामन÷पालुङमा २०५० सालको बाढीपछि धानखेती गर्ने क्रम ९८ प्रतिशत घटेको मकवानपुर उद्योग वाणिज्य संघ उत्तरी क्षेत्र समितिका तत्कालीन अध्यक्ष रामप्रसाद ढकालले बताउनुभयो । हाल धान दिवस मनाउनका लागि दामन÷पालुङमा धान रोप्ने खेत नै नभएको उहाँले बताउनुभयो । कृषि कार्यालयहरुका अनुसार मकवानपुरमा वार्षिक करिब ३५ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ ।

मकवानपुरमा धानबालीका लागि उपयुक्त मानिएको जमिन ११ हजार हेक्टर जमिन छ । चैते धानका लागि २ हजार ५ सय हेक्टर जग्गा उपयुक्त रहेको कार्यालयहरुको भनाइ छ । दामन÷पालुङ क्षेत्रमा उत्पादन हुने स्थानीय जातको मार्सी, फलामे, कालोकाठे, ताइचिन, थापा चिनियाँ आदि नाम गरेका धान हाल खेतमा देखिनै छाडेको ढकाल बताउनुहुन्छ । अन्य प्रजातिका धानसँगको संसर्ग गरी बढी उत्पादन गराउने प्रकारका प्रजाति बनाएर यसको जगेर्ना गर्नुपर्ने उहाँको सुझाव छ ।

उत्पादन बढेको भए पनि किसानमा अन्नबाली सञ्चित गर्ने प्राविधिक ज्ञान अभावका कारण मुसाले खाने, कुहिने, मदिरा बनाउन प्रयोग गर्नेजस्ता कारणले मकवानपुरमा वर्षेनी धान आयात गर्नुपर्ने अवस्था आएको खाद्यान्न व्यवसायी संघ मकवानपुरका पूर्वअध्यक्ष काव्यमणि अधिकारीले बताउनुभयो ।

तथ्यांकअनुसार जिल्लामा वर्षेनी खाद्यसंकट बढ्दैछ । मकवानपुरमा वार्षिक २० हजार मेट्रिकटन खाद्यान्न अभाव छ । सम्भावित खाद्यसंकट कम गर्न किसानलाई हाइब्रीड जाततर्फ आकर्षित गराउनुपर्ने कृषि प्राविधिकको धारणा छ । मकवानपुरमा प्रतिवर्ष २० हजार मेट्रिकटन खाद्यान्न तराईका जिल्लाबाट ल्याउने गरिएको छ ।

जिल्लामा मकवानपुर–१, सावित्री, मन्सुली, हर्दिनाथ–१ लगायत स्थानीय जातका वीउ पनि लगाउने गरिएको छ । धान दिवसले किसानमा जागरण गर्ने अनुमान गरिए पनि वास्तवमा रासायनिक मल, कीटनाशक औषधि, वीउबिजन आदि कारणले नयाँपुस्ता यसतर्फ आकर्षित हुन सकेका छैनन् ।

सहरोन्मुख क्षेत्र जहाँ सुविधा छ, त्यहाँ भएका सबै जमिन प्लटिङ भइरहेका छन् । ग्रामीण क्षेत्र जहाँ खेतीको बिकल्प छैन, त्यहाँ काम गर्ने युवा विदेशिएपछि खेती हुनै छाडेको स्थानीय बताउँछन् । जिल्लाबाट रैथाने धान हराउँदै गएपछि गाईवस्तुलाई खुवाउन पराल, परम्परागतरुपमा परालले तयार हुने गुन्द्री र पिर्का तथा छाना छाउने कामसमेत प्रभावित भएको ढकालले बताउनुभयो । रैथाने प्रजातिका धान विस्थापित हुँदै जाँदा नयाँ भनिएका विकासे धानका कारण विभिन्न खाले रोगको प्रकोप बढेको नामटारका किसान नारायण बर्तौलाको भनाइ छ । धान उत्पादनमा ह्रास आउने मुख्य कारणमध्ये रोगका प्रकोप पनि एक हो ।

वाह्य मुलुकबाट अधिकमात्रामा भइरहेको खाद्यपदार्थ आयात कम गर्न मकवानपुरमा जिल्ला कृषि कार्यालयको पहलमा आधुनिक प्रविधिबाट सामूहिक खेती थालिएको छ । मनहरी गाउँपालिकास्थित ज्यामिरेमा कार्यालयको सहयोग र सहजीकरणमा बृहत्तर धान उत्पादन कार्यक्रमअन्तर्गत सामूहिक धान खेती थालिएको हो । कार्यालयले मनहरीको ज्यामिरेबाट धान उत्पादन बढाउने अभियान थालनी गरेको हो ।

जिल्लामा उत्पादित धानलगायत खाद्यान्न बालीले जिल्लाको खपतलाई धान्नसक्ने क्षमता रहेको तथ्यांक प्रस्तुत गर्दै कार्यालयले मानिसको आयस्रोत र मिठोमसिनो खाने बानीका कारण भारतबाट गुणस्तरीय चामल स्थानीयस्तरमा आयात हुने गरेको बताएको छ । मकवानपुर धानलगायत खाद्यान्नमा आत्मनिर्भर रहेको कृषि विकास कार्यालयको तथ्यांकले देखाए पनि धान उत्पादनमा कृषकको आकर्षण घट्दै गएको पाइएको छ । लागत मूल्य बढी र उचित बजार भाउ पाउन नसक्दा कृषकले धान उत्पादनलाई प्राथमिकतामा राख्न छाडेको हाँडीखोलाका किसान रामहरि बिष्टले बताउनुभयो ।