हेटौँडा/ हेटौँडामा मुटुरोग, क्षयरोग तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ सेवासहित बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।

जेठ ३० गते बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म हेटौँडा–४ स्थित क्वीक ट्वान्टी पार्टी प्यालेसमा सञ्चालन हुने शिविर हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा हुन लागेको हो। शिविरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुर शाखाको सहआयोजना, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडाको विशेष सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाको व्यवस्थापन रहनेछ।

वडा अध्यक्ष नवीन सिग्देलका अनुसार वडा कार्यालय र नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुर शाखाको सहकार्यमा यस्तो बृहत् स्वास्थ्य शिविर तेस्रो पटक आयोजना हुन लागेको हो।

शिविरमा मुटुरोग, स्त्रीरोग र क्षयरोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिनेछ। साथै भिडियो एक्स–रे, ईसीजी, ईको सेवा निःशुल्क उपलब्ध गराइनेछ। सुगर तथा लिपिड प्रोफाइल परीक्षण, छातीको एक्स–रे र पीएफटी (दम परीक्षण) समेत निःशुल्क गरिने जनाइएको छ।

महिलाका लागि पाठेघर परीक्षण तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी जाँचको व्यवस्था गरिएको छ। त्यस्तै जनरल फिजिसियन सेवा तथा आवश्यकताअनुसार ७ दिनका लागि निःशुल्क औषधि वितरण गरिने वडा अध्यक्ष सिग्देलले जानकारी दिए।

उहाँले शिविरबाट उपलब्ध हुने निःशुल्क स्वास्थ्य सेवाको अधिकतम उपयोग गर्न सम्पूर्ण सर्वसाधारणलाई आग्रह समेत गर्नुभएको छ।

शिविरको मुख्य उद्देश्य स्वास्थ्य उपचारमा सबैको पहुँच सुनिश्चित गर्दै स्वस्थ नगर निर्माण अभियानलाई थप प्रभावकारी बनाउनु रहेको आयोजकले जनाएको छ।