हेटौंडा । पछिल्लो केही वर्षयता बागमती देशको राजधानी हेटौंडालाई बसोबासका लागि उपयुक्त ठानेर बसाईं सरेर आउनेको संख्या बढ्दै गएको छ । नगरको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको तथ्यांकअनुसार उपमहानगरपालिकाभित्र विभिन्न जिल्लाबाट बसाईं सरेर आउने बढेको देखिएको हो ।

पञ्जीकरण शाखाको तथ्यांकअनुसार आव २०७९÷०८० मा बसाईं सरेर आउनेको सख्या १ हजार २४, आव २०८०÷०८१ मा ९ सय ५९, आव २०८१÷०८२ मा ८ सय १९ र चालु आर्थिक वर्ष २०८२÷०८३ को बैशाखसम्म ५ सय ९३ परिवार बसाईं सरेर हेटौंडा आएका छन् । शाखाका अनुसार आव २०७९÷०८० मा ५ सय ६६, आव २०८०÷०८१ मा ५ सय ८६ र आव २०८१÷०८२ मा ४ सय ८० परिवार बसाईं सरेर अन्यत्र गएका छन् ।

शाखाका अनुसार तराईका बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी जिल्लाबाट हेटौंडालाई बसाइको गन्तव्य बनाए आउनेको संख्या बढी देखिएको छ । हेटौंडामा बसोबासका लागि आउनेहरुले बढी जसो उपमहानगरको ४, ५, ७, ८ नम्बर वडालाई गन्तव्य बनाउने गरेको शाखाको तथ्यांकले देखाएको छ । रोजगारी, व्यापारिक गतिविधि, संघीय राजधानी काठमाडौंसँगको सहज पहुँच, शिक्षा र स्वास्थ्यको राम्रो सम्भावना भएका कारण हेटौंडाको जनघनत्व बढेको बताइएको छ ।

हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसका स्वास्थ्य, जनसंख्या तथा शिक्षा विभाग प्रमुख सहप्राध्यापक उमेश अर्यालयका अनुसार तराई आन्दोलनपछि हेटौंडालाई सुरक्षित स्थान बनाउँदै आउनेको संख्या बढेको थियो । तर, हाल यो सबै हिसाबले उपयुक्त रहेको भन्दै बसाइका लागि आउनेको संख्या बढेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो—पछिल्लो समय नगरपालिकाबाट उपमहानगर हुनु र बागमती प्रदेशको राजधानी भएपछि सम्भावनाको खोजी गर्दै आउनेको सख्या बढेको छ । मकवानपुरका विभिन्न गाउँपालिकाबाट उपमहानगरको क्षेत्र बिस्तारपछि यहाँ आउनेको संख्या बढेको देखिन्छ भने तराईबाट विद्यालय तह र उच्चशिक्षा अध्ययनको गन्तव्यका रुपमा हेटौंडा छनौट गरी आउँदा जनघनत्व बढेको उहाँको बुझाइ छ ।

मौसमको हिसाबले अन्य क्षेत्रको तुलनामा हेटौंडालाई उत्कृष्ट मानिने गरेको छ । जाडो र गर्मी मौसम अन्यत्रको भन्दा सहज हुने भएकाले यहाँ मानिसको आकर्षण बढेको छ । हेटौंडा, तराई र पहाडबीच रहेका कारण मौसम र भूस्थितिका हिसाबले अनुकूल भएकाले बसोबासका उपयुक्त मानिने जनसंख्या प्राध्यापक अर्यालले बताउनुभयो ।

बढ्दो जनघनत्वको चापलाई सहज बनाउन नगरको विकास गतिलाई त्यहीअनुसार अघि बढाएको हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकालाई बसाइको गन्तव्य बनाएर आउनेहरुको सेवालाई व्यवस्थापनका लागि योजना बनाएर काम अघि बढाएको उहाँले बताउनुभयो । पछिल्लो समय शिक्षा, स्वास्थ्य, रोजगारी र व्यवस्थित बसाइलाई आधार बनाएर आउनेको व्यवस्थापनमा काम गरिएको उहाँको भनाइ छ ।

नगर प्रमुख लामाले भन्नुभयो—हामीले शिक्षा, स्वास्थ्य व्यवस्थापनसहित सुन्दर शहर बनाउन योजनावद्धरुपमा काम गरेका छौं । विद्यालयस्तरमा बढेका विद्यार्थीलाई ध्यान दिँदै विद्यालय भवन, कक्षाकोठाको सुधारसहित गुणस्तरीय शिक्षामा उपमहानगरले लगानी गरेको छ । स्वास्थ्य क्षेत्रलाई ध्यान दिँदै नगरका हरेका वडामा स्वास्थ्य संस्था र दुई वडामा अस्पताल सञ्चालनमा गरेर स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर काम गरिएका छ भने नगरको एकमात्र हेटौंडा अस्पतालको सेवा बिस्तारमा सहकार्य गरिएको उहाँले बताउनुभयो ।

व्यवस्थित बसाइका लागि उपमहानगरले बसोबास क्षेत्र व्यवस्थापनका लागि जग्गा वर्गीकरण गरेको छ । उपमहानगरले गरेका वर्गीकरणअनुसार बसोबास क्षेत्र तोकिएको ठाउँमा मात्र घर बनाएर बस्न सक्ने वातावरण बनाइएको उहाँले बताउनुभयो । हेटौंडालाई सुन्दर र स्वस्थ्य शहर बनाउन उमहानगरले दैनिकरुपमा काम गरिरहेको छ । कर्मचारी परिचालन गरेर सरसफाइ र स्वस्थ्य वातावरण तयार पार्दै हेटौंडालाई सुन्दर र सफा शहरका रुपमा अघि बढाएको नगर प्रमुख लामाको दाबी छ । उपमहानगरले व्यवस्थित बसाइका लागि पछिल्लो समय नगरभित्र प्लानिङमा पनि सबै खालको सुबिधालाई ध्यान दिएर काम गर्न व्यवसायीहरुलाई नियम बनाएको छ ।