कैलाश/कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बाल विवाह अन्त्यका लागि अभिभावक र विद्यार्थीको सोच तथा व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएका छन्।
बाल विवाहविरुद्ध समुदाय परिचालन कार्यक्रमअन्तर्गत मंगलबार आयोजित सचेतना कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले बाल विवाह न्यूनीकरणका लागि समुदाय र परिवारस्तरमै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। उनले कैलाश क्षेत्रमा बसोबास गर्ने चेपाङ र तामाङ समुदायमा बाल विवाहको दर तुलनात्मक रूपमा बढी रहेको उल्लेख गर्दै लक्षित समुदायमा थप जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए।
“बाल विवाह कानुनी अपराध हो भन्ने चेतना अझै पूर्ण रूपमा विकास हुन सकेको छैन,” उनले भने, “यसलाई अन्त्य गर्न अभिभावक, शिक्षक, जनप्रतिनिधि र समुदाय सबैको साझा प्रयास आवश्यक छ।”
अध्यक्ष मुक्तानका अनुसार गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने युवतीलाई गाउँसभाको अवसरमा नगदसहित सम्मान गर्दै आएको छ। चेली प्रोत्साहन कार्यक्रमले पनि बाल विवाह न्यूनीकरणमा सकारात्मक योगदान पुर्याइरहेको उनले बताए।
कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष सूर्यबहादुर ब्लोन ले समुदायमा बहुविवाह र बाल विवाहजस्ता सामाजिक विकृति अझै विद्यमान रहेकाले नियन्त्रणमा चुनौती रहेको बताए। “रोक्न खोज्दा पनि किशोर–किशोरीहरू भागेर विवाह गर्ने अवस्था छ। घरबाटै सही संस्कार र शिक्षा दिन सके मात्र यस्ता समस्या न्यूनीकरण गर्न सकिन्छ,” उनले भने।
गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सीता कुमारी खत्री ले बाल विवाहले बालबालिकाको वर्तमान मात्र नभई भविष्यसमेत प्रभावित गर्ने बताइन्। शिक्षित, सुरक्षित र समृद्ध समाज निर्माणका लागि बाल विवाह अन्त्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले सबै सरोकारवालाको सक्रिय सहभागिता र प्रतिबद्धता आवश्यक रहेको बताइन्।
कार्यक्रममा बाल अधिकारकर्मी संगीता उप्रेती र भवानी अधिकारी ले सहजीकरण गरेका थिए। कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।
महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटा का अनुसार दुईदिने कार्यक्रमअन्तर्गत पहिलो दिन सरोकारवालासँग अन्तरक्रिया गरिएको छ भने दोस्रो दिन दुईवटा माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकको सहभागितामा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।














