मानवशास्त्री डा. सुरेश ढकाल त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागका एसोसिएट प्रोफेसर हुन्। सार्वजनिक बहस मार्फत प्राज्ञिक अभ्यासलाई सामाजिक मुद्दारसवालहरूसँग जोड्ने ढकालले भर्खरै नयाँ पुस्तक लेखेका छन्। हाम्रो राजनीतिक नेतृत्व ट्राइबल समाजको मुखिया जस्तै भएको टिप्पणी गर्दै उनले खादामाला संस्कृतिको पनि विश्लेषण गरेका छन्।
‘कार्यकर्तालाई पनि थाहा छ कि नेतासँग दूरदृष्टि छैन, म उसको अगाडि पर्नुपर्छ। त्यसैले खादामाला लिएर बधाई भन्नका लागि भीड लागेर नेताको घर, पार्टी कार्यालय, आवास र मन्त्रालयहरूमा धाउँछन्’ उनी भन्छन्, ‘त्यसो गर्दा नेताले मलाई काउन्ट गर्छ, मलाई नजरमा राख्छ, गणना गर्छ र मैले केही पाउँछु भन्ने आशा हुन्छ।’
आक्रोश र प्रश्न नहुनु नै नेपाली समाजको ठूलो समस्या रहेको बताउने मानवशास्त्री डा. सुरेश ढकालसँग उनको नयाँ पुस्तक ‘इतिहास अघिको इतिहास’ सँगै नेपाली राजनीतिक संस्कार, अभ्यास र चरित्र बारे केन्द्रित रहेर सुदर्शन खतिवडाले गरेको कुराकानी :
तपाइँको नयाँ पुस्तक ‘इतिहास अघिको इतिहासः सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त’ आउँदै रहेछ। उक्त पुस्तकको नामको प्रसंगबाट संवाद सुरु गरौं। अघिको इतिहास र पछिको इतिहासको सीमारेखा कसरी कोर्नुभयो ?
सम्पूर्ण मानव विगत नै इतिहास हो। मानवशास्त्र र अन्य प्राज्ञिक अध्ययनको विधाहरूमा इतिहास र प्राग्–इतिहास (हिस्ट्री र प्रि-हिस्ट्री) भनेर छुट्याइन्छ। जहिलेदेखि लेखन परम्परा अर्थात् अक्षरको विकास भयो, कुनै ठाउँको बारेमा लेखन इतिहास प्रारम्भ भयो, त्यसयताको समयलाई हामी इतिहास भन्छौं। त्योभन्दा अघिको समय प्राग्–इतिहास हो जसलाई इतिहास अघिको इतिहास भन्न सकिन्छ।
पुस्तकको शीर्षकले लेखन परम्परा सुरु हुनुभन्दा अगाडिदेखिको सांस्कृतिक मानवको इतिहासलाई संकेत गर्छ। मान्छेको इतिहास झण्डै २२-२५ लाख वर्ष पुरानो छ। लगभग होमोहेबिलसको पालादेखि मानिसले ढुंगे औजारहरू बनाएर प्रयोग गर्न थाले। लेखन परम्परा सुरु भएको करिब करिब ५ हजार वर्ष अगाडिको इतिहास बारे पुस्तकमा कुरा गरिएको छ जबकि पुस्तकमा पछिल्लो ५ हजार वर्षको इतिहास छैन।
यद्यपि कुनै ठाउँको लेखन परम्परा अर्कोको भन्दा फरक फरक समयमा सुरु भएको हुनसक्छ। जस्तै, नेपालमा मानदेवको चाँगुनारायणको शिलालेख पहिलो प्रामाणिक लेखन इतिहास अर्थात् दस्तावेज हो। मानदेवको शिलालेखदेखि यताको ऐतिहासिक समय भन्यौं भने त्योभन्दा अगाडिकोलाई प्राग्ऐतिहासिक समय। नेपालकै सन्दर्भमा भन्दा त्योभन्दा अगाडिदेखिको इतिहासको कुरा पुस्तकमा परेको छ।
पुस्तक नेपालकै इतिहासमा केन्द्रित छ कि यो सीमाबाहिर पनि फैलिएको छ ?
सामान्यतया सांस्कृतिक उद्विकास ९इभोल्युसन० कै कुरा हो यो। मानव जातिको भौतिक, जैविक विकासक्रम धेरै लामो छ तर सांस्कृतिक मानवको इतिहास २०-२२ लाख वर्ष पुरानो हो। हिजो जनावर जस्तै रहेको मानव त्यति बेलादेखि सांस्कृतिक रूपले उन्नत भयो। हामी चिम्पाञ्जीबाट छुट्टिएकै ५० लाख वर्ष जति भयो। हतियार प्रयोग गर्न थाल्दासम्म पनि मान्छे जंगली अवस्थामै थियो। तर जब श्रम मार्फत औजार बनाउन थाल्यो, उसमा कल्पनाशीलताको विकास भयो र त्यसले सांस्कृतिक मान्छे बनायो र आजको एआईको युगसम्म आउन सम्भव भयो।
यो किताबले मूलतः मानिसहरूको सांस्कृतिक उद्विकासको कुरा गर्छ। जंगली जनावर, समूहमा बस्ने मान्छे हुँदै आगो, फलाम, धातु विज्ञान जस्ता आधारभूत आविष्कार कसरी भए ? कृषि जस्ता विषयहरू सिकेर कपडा, माटोका भाँडाहरू हुँदै ठूला–ठूला आविष्कार र आधुनिक सभ्यताको निर्माण गर्ने आधुनिक मान्छे कसरी बन्यो भन्ने कुरा छ। त्यतिबेला नेपाल त के कुनै पनि देशको सिमाना नै थिएन। देश भन्ने आधार नै बनेको थिएन। यति भूगोल चाहिं हाम्रो हो भन्ने एकदमै प्राचीन अवधारणा नै ८-१० हजार वर्ष पुरानो हो। देशहरूको सिमाना त एक दुई हजार वर्ष अगाडिको कुरा हो।
नेपालमा भएको प्राग्ऐतिहासिक अध्ययनहरू के के छ ? मानवको गतिविधि कति अगाडिसम्म ट्रेस गर्न सक्छौं भन्ने एउटा अध्यायमा छलफल गरेको छु।
विश्वविद्यालयको कक्षाकोठामा अध्यापन र अध्ययन अनुसन्धानलाई सहजीकरण गरिरहँदा पुस्तक लेख्नुपर्छ भन्ने उत्प्रेरणा कसरी जाग्यो ? यसको पृष्ठभूमि के थियो ?
हामी प्राग्ऐतिहासिक संस्कृति र सांस्कृतिक उद्विकास बारे विद्यार्थीलाई पढाउँछौं। यसक्रममा फिजिकल एन्थ्रोपोलोजी र आर्कियोलोजी ९पुरातत्त्वशास्त्र० पढ्न विद्यार्थी निकै गाह्रो भयो भन्छन्। अंग्रेजी माध्यममा पढ्दा कतिपय प्राविधिक विषय बुझ्न गाह्रो, सहज पाठ्यक्रम पाउन पनि गाह्रो। तर कक्षाकोठामा बसेर यी विषयमा खुला रूपमा र नेपाली भाषामा छलफल गर्दा विद्यार्थीमा धेरै उत्साह र रुचि बढेको पाउँथ्यौं।
अभ्यासका लागि कान्तिपुर कोसेलीमा केही अंक मान्छेको कथा भनेर लेखें। विद्यार्थीसँगै आम मानिसहरूको प्राचीन इतिहास र इतिहास अगाडिको ऐतिहासिक, सांस्कृतिक विषयहरूमा पनि रुचि हुँदोरहेछ भन्ने भयो। एउटा यस्तो सरल किताब लेखौं जुन इतिहास अघिको इतिहास अर्थात् आदिम समयदेखिको सांस्कृतिक उद्विकास कसरी हुँदै आयो भनेर बुझ्न सहज होस् र एकखालको प्राथमिक ज्ञान दिने किताब बनोस् भन्ने लाग्यो।
अर्को, यदि हामी मानव जातिको लामो कालखण्डको प्राचीन इतिहासमा रुचि राख्छौं भने जाने बाटो मानवशास्त्रीय प्राग्–इतिहास नै हो। त्यसैले नेपालमा एउटा सरल पुस्तक चाहिन्छ भन्ने अर्थमा लेखिएको हो।
इतिहास विजेताले, शासकहरूले लेख्छन् भन्ने बुझाइ सबैतिर बलियो छ। पुस्तक लेखिराख्दा तपाईंको अनुभूति कस्तो रह्यो ?
हाम्रोमा इतिहासप्रति अरुचि बढ्नुमा हाम्रा स्कुलमा पढाइने पाठ्यपुस्तक एउटा कारण हो। राजा–महाराजा कहिले जन्मिए, कसले कति समयसम्म शासन गर्यो, कसले कोसँग विवाह गर्यो , कसले कसलाई मार्यो, कसले किन भ्रातृ हत्या गर्यो लगायत कुराहरू मात्रै इतिहासमा धेरै सँगालिए। त्यसैले इतिहासप्रति रुचि भएन।
इतिहास भनेको त आम मान्छेको इतिहास पनि हो। तत्कालीन समाजको जनजीवनको दस्तावेजीकरण हो तर, त्यो आएन। हामीले पढ्ने इतिहासमा समय कहिल्यै पनि उपस्थित भएन। त्यो समाज कसरी बाँचिरहेको थियो, कस्तो खालको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाबाट गुज्रिएर हामी यहाँ आयौं भन्ने कुरा नै बताइएन। इतिहास विजेता र सत्तामा हुनेले नै लेखाउने हो। केही लेख्न जानेका मानिसहरूको आधारमा आफू र आफ्ना पितापुर्खाको गाथा गाउनको लागि इतिहास लेख्दा त्यो निकै पक्षपाती हुनेभयो।
तर इतिहास अघिको इतिहास पढ्ने स्रोत त्यतिबेला मानिसहरूले बनाएर प्रयोग गरेर छोडेर गएका ढुंगे हतियारहरू, कुनै पनि मूर्त शिल्प कृतिहरू हुन्। यसको आधारमा गर्ने अध्ययन पक्षपाती हुँदैन। त्यसैले प्राग्–इतिहास पक्षपाती हुँदैन तर, इतिहास लेखन चाहिं आफैंमा एकथरी मानिसले खास खालको राजनीतिक वैचारिक स्वार्थ अनुरूप लेख्ने भएकोले सधैं पक्षपाती हुन्छ। संसारमा कहीं पनि तटस्थ इतिहास भन्ने हुँदैन। बाहिरतिर जनता र विश्वको इतिहास लेख्ने थोरै अभ्यास भए पनि नेपालमा त्यो एकदमै सुषुप्त अवस्थामा छ। तर यो इतिहास अघिको इतिहास चाहिं त्यसको पनि व्याख्या गर्ने कुरा हो। त्यहाँ पनि शक्ति संरचना हावी हुन्छ।
उदाहरणको लागि हन्टिङ ग्यादरिङ, सिकारी युगमा मानिसहरू कृषिभन्दा अगाडि थिए। त्यतिबेला मानिसले सिकार र कन्दमूलहरू खोजेर जीविकोपार्जन गर्थे। खानेकुराको अधिकांश भाग सिकारबाट नभएर कन्दमूलबाट आउँथ्यो। सिकार मूलतः पुरुषले गर्थे भने कन्दमूल संकलन महिलाले। तर पछि इतिहास लेख्ने त पुरुषहरू थिए। उनीहरूले त्यसलाई ‘हन्टिङ ग्यादरिङ एज’ भने। यदि महिलाले इतिहास लेखेका भए ‘ग्यादरिङ हन्टिङ’ भन्थे होला। थुप्रै मानिस सिकारी युग भन्छौं जुन मूलतः पुरुषहरूको कामलाई महत्व दिएर भनियो। तर अध्ययनहरूले भन्छ कि त्यतिबेला अधिकांश भाग वनस्पतिबाट आएको खाद्यान्न हुन्थ्यो जसको संकलन मूलतः महिलाले गर्थे। यसरी इतिहास लेख्नेहरूले पक्षपात गरेको देखिन्छ।
यो पुस्तकको वर्तमानसँगको सम्बन्ध र सन्दर्भ के हो ?
एउटा भनाइ छ- जरा जति तलसम्म जान्छ, रूख त्यति नै अग्लिन सक्छ। सामान्यतः इतिहास बारे ज्ञान, बुझाइ र ऐतिहासिक दृष्टिकोण जति परसम्म लैजान सक्छौं, त्यति नै भविष्य बारे सोच्न सक्छौं।
अहिले देखिएका राजनीतिक, सामाजिक लगायत अराजकताहरू ऐतिहासिक दृष्टिकोण नभएर हो। गैरऐतिहासिक सोचले क्षणिक मात्रै सोच्न सक्छ, लामो समय सक्दैन। गतिहीनता, विशृङ्खल, अराजकता जस्तो देखिन्छ। त्यसैले अरू इतिहासका किताब जस्तै यसबाट हामी कहाँबाट, कस्तो बाटो र कुन कुन अवस्थाहरू पार गरेर यहाँसम्म आइपुग्यौं भन्ने कुरा थाहा पाउन सक्छौं। अहो ! यस्तो बाटोबाट आयौं भने अहिले जे भइरहेको छ त्यो पनि अपरिवर्तनीय छैन, यो त एउटा अवस्था हो यहाँबाट अझै टाढा जान्छ भन्ने खालको दृष्टिकोण बनाउन सक्यो भने मान्छे वर्तमान अवस्थासँग हुने असन्तुष्टि र रिसराग कम हुन्छ र गर्व गर्न सक्छ भन्ठान्छु।
हाम्रो समयको एकजना जल्दोबल्दो मानवशास्त्रीसँग हामी बाँचिरहेको समाज, यहाँका मानिसहरूको नेतृत्व, उनीहरूको प्रवृत्ति र संस्कृति बारे कुरा नगरी यो संवाद पूर्ण हुन्छ जस्तो लाग्दैन। नेपालको राजनीतिमा गठबन्धन, प्रतिगठबन्धन, उलटफेर तथा विश्वासघात चकमा दिने खालको छ भनेर विदेशतिरै समाचार आउन थालेका छन्। एकजना मानवशास्त्रीको दृष्टिमा नेपालको पछिल्लो राजनीतिक संस्कृति र अभ्यास कस्तो देखिन्छ ?
तपाईंले कुरा गर्नुभएको विदेशको समाचारबाट सुरु गरौं। उसको स्रोत के थियो, नेपाललाई कसरी प्रस्तुत गर्न खोजेको थियो भन्ने पनि हेर्नुपर्ने हुन्छ। किनभने यसरी छोटो छोटो अवधिमा सरकार फेरिने नेपालमा मात्र होइन, युरोपमा पनि त्यस्तो अभ्यासको धेरै लामो इतिहास छ। यो नेपालको मात्रै अभ्यास होइन।
तर नेपालमा त प्रजातन्त्र पुनर्स्थापनापछिको तीन दशक आसपास ३० वटै सरकार बनेछ नि ?
इटलीमा ५२ वर्षमा ५२ वटै सरकार बनेको थियो। यो नेपालको मात्रै समस्या होइन। यद्यपि मैले राजनीतिक अस्थिरतालाई जस्टिफाई गर्न खोजेको होइन। यस्तो किन हुन्छ भन्ने चाहिं प्रमुख कुरा हो। यसमा दुइटा पक्ष छन्। एउटा संरचनागत कुरा हो। हाम्रो संसद्, चुनावको संरचना जसरी बनेको छ त्यसले पनि यस्तो अवस्थाहरू सिर्जना गर्छ। अर्को, राजनीतिमा सामूहिकताको प्रश्न हो। जसरी समुदायमा बसेका मानिसहरूको सामूहिकताले सामूहिक लक्ष्य प्राप्तिको लागि मिलेर काम गर्छ।
अहिले राजनीतिक पार्टीहरूको आ–आफ्नो खालको एजेन्डा छ। सबै पार्टीको एजेन्डा मिल्छ जस्तो पनि देखिन्छ। साझा मुद्दा र बुँदाहरू समेटेर एउटा साझा लक्ष्य निर्धारण गर्न नसकेको अवस्था चाहिं हो। फलतः फरक–फरक पार्टीहरूले फरक–फरक ढंगबाट आफ्नो लक्ष्य मात्रै प्राप्त गर्न खोजिरहेका हुनसक्छन्। अहिले सबै पार्टीहरूको सरकारमा पुग्ने एउटै लक्ष्य छ तर त्यहाँ गएर के गर्ने भन्ने योजना शून्यप्रायः छ। साझा लक्ष्य यो हो र यसलाई हासिल गर्न यी काम यसरी गर्छौं र त्यसका लागि हामी सरकारमा जान चाहन्छौं भन्दैन। अहिलेको संसदीय गणितले सत्ता प्राप्ति र सत्तासुखको लक्ष्य, उद्देश्यमा सहज हुँदा जोसँग पनि मिल्ने र नहुँदा अर्को सहज गठबन्धन खोजेर बसिरहेको हुन्छ।
राजनीतिलाई विचारधाराले निर्देशित गर्छ। विचारधारा एकप्रकारको लाइटहाउस हो जसले समुद्रमा हिंडिरहेको डुंगालाई दिशा देखाउँछ। हामीसँग यता जाउ भनेर निर्देशित गर्ने कुरा भएन। समुद्रमा जता बतास चल्छ, त्यतै हिंडिरहेको डुङ्गा जस्ता भइरहेका छन् हाम्रा पार्टीहरू।
ठूला ठूला आन्दोलन र क्रान्तिपछि सबैको साझा दस्तावेज संविधान बनेको छ। त्यसले दलहरूलाई बाटो देखाएको छैन र ?
संविधानले देखाउने बाटो र बृहत्तर सपना हो। त्यो भनेको समाजवाद उन्मुख हुने गरी जाने भन्ने हो। तर सँगसँगै संविधानले अहिलेको उदार बजारमुखी अर्थतन्त्रको बाटोबाट त्यहाँ पुग्ने भन्छ। यो संविधानकै एउटा समस्या हो कि त्यसले लक्ष्य निर्धारण गर्योक तर त्यहाँसम्म जाने बाटो ९राजमार्ग० गलत लियो।
त्यस्तै, संविधानले आधारभूत मानवअधिकारसँग जोडिएका थुप्रै विषय प्रतिज्ञा गर्यो तर, त्यसलाई डेलिभरी गर्ने संयन्त्रहरू तयार थिएन, बनाइएन। क्रान्ति र ठूलो संघर्षबाट आएकाबाट ठूलो निष्ठाको स्वाभाविक अपेक्षा गरिन्छ। तर न क्रान्तिबाट, न संघर्षबाट आएकाहरूले आम मानिसले विश्वास गर्ने गरी त्यस्तो निष्ठा प्रदर्शन गर्न सके, सकेनन् ! फलतः उनीहरूमा मान्छेको विश्वास रहेन।
पार्टीहरू मतदाताको भोटबाट चुनिन्छन्, एउटा निश्चित प्रकारको अंकगणित तयार हुन्छ तर न भोट दिनेप्रति, न अरू कोहीप्रति जिम्मेवार भए। त्यसैले पार्टीहरूप्रति निष्ठा नै बाँकी रहेन।
सत्तासुखले नेतृत्वलाई यति धेरै गलत बाटोमा हिंड्न उत्प्रेरित गर्ने कि नेताहरू सजिलै धोका दिने, सहकर्मी बदल्ने, झुट बोल्ने गर्न सक्छन्। एकप्रकारले ढाँट्ने र धोका दिने प्रतिस्पर्धा देखिन्छ। हाम्रो समाज र संस्कृतिले यस्ता नेतृत्व कसरी जन्माउँछ ?
एउटा भनाइ छ- जस्तो जनता छन्, नेता त्यस्तै। तिमी अयोग्य छौं भने तिमीले पाउने नेता पनि अयोग्य नै हुन्छ अर्थात् अयोग्य नेता छान्नु तिम्रो अयोग्यता हो, योग्य मतदाताले योग्य नेता छान्छ भनिन्छ।
अर्को भनाइ छ- पानी र बानी माथिबाट तल झर्छ। छान्ने जनता दोषी हो कि छानिएपछि बानी र मति बिगारेर भ्रष्ट बन्ने नेताहरू दोषी हो ? यो बहसको विषय हुनसक्छ। एकातिर मात्रै दोष लगाएर अथवा जनता नै यस्तै छौं भनेर हुँदैन। किनकि हाम्रो समाज नेता जति भ्रष्ट भइसकेको छैन। भएको भए त समाजमा कोलाहल र एकदम अराजक अवस्था भइसकेको हुन्थ्यो। राजनीतिक नेतृत्वले काम गर्न नसकेको त्यस्तो नैतिकता समाजमा अझै पनि बाँकी छ। सुन्दा अप्रिय लागे पनि यथार्थ यही हो।
त्यस्तै, गठबन्धन गर्दा जूनतारा झारिदिने, सँगसँगै बाँच्ने-मर्ने भने जस्तो गर्ने, छुट्टिने बित्तिकै एकदमै भित्तामा पुर्याठएर भोलिपल्ट आफैंलाई मुख देखाउन गाह्रो हुने गरी रोष्ट्रममा उभिएर सत्तोसराप गरेको देखिन्छ।
हालसालै ‘स्वर्ग-नर्ग सँगै जाने’ भनिएको रहेछ…
यो धोका दिने भनेर तपाईं हामीले भनेको हो कि एउटा नेताले अर्कोलाई धोका दियो भनेको हो ? जनताले भनिरहेका छन् कि अमूक नेताले अमूकलाई भनिरहेका हुन् ? तपाईंले भनेको धोकाको भाष्य जनताले सिर्जना गरेको हो कि एउटा नेताले अर्को नेतालाई भनेको भाष्य हो ? मैले खाइपाइरहेको बेला तैंले कुर्सीबाट हटाइस्, तैंले मलाई धोका दिइस् भनिरहेका छन् कि जनताले पनि त्यही भनिरहेका छन् ? कुरा त्यहाँनेर हो।
गठबन्धन संस्कृतिको कुरा गर्दा चुनावअघिको कुनै गठबन्धनलाई मतदान गरेका मतदाताले चुनावपछि अर्को गठबन्धन बन्दा धोकाको महसुस गर्दैनन् र ?
हो, जनताले देखाएको नैतिकता हो त्यो। त्यति नै बेला गरेको गठबन्धन पनि साँच्चिकै देश र जनताको लागि भन्दा पनि यसरी गयौं भने हामी सत्तासुख गर्न पाउँछौं भनेर हो नि त ! चुनाव अगाडि गठबन्धन गर्दा साझा मुद्दाहरू बनाएर त्यो प्राप्तिका लागि भनेका थिएनन्। आ-आफ्नो घोषणापत्र थियो। यसरी जाँदा सुविधाजनक सङ्ख्या हुनसक्छ र शासन गर्न सक्छौं भनेर हो।
हाम्रो जस्तो देशमा दलहरू जात, क्षेत्र, लिंग, वर्ग, वैचारिकी र सिद्धान्तका आधारमा आवश्यक मात्रामा समावेशी छैनन्। त्यसैले जनतालाई यी निश्चित दलले मात्र मलाई प्रतिनिधित्व गर्न सक्छ भन्ने भर र विश्वास छैन। त्यसैले आफूलाई प्रतिनिधित्व गर्ने विकल्पहरू खोजिरहेका हुन्छन्। फलतः हाम्रोमा कुनै दलले बहुमत हुने र लामो समयसम्म शासन टिक्ने अवस्था हुँदैन।
यदि दलहरू समावेशी भइदिएको भए यो अवस्था हुन्नथ्यो । मेरो विचार, वर्ग, जात, लिङ्ग र क्षेत्रको यसले प्रतिनिधित्व गर्छ भन्ने विश्वास भएको भए जनताले भोट दिइहाल्थे नि ! राजनीतिक स्थिरता पनि हुन्थ्यो। जनताले आफ्नो वास्तविक प्रतिनिधि खोज्दा धेरै थरीका र पार्टीका प्रतिनिधिहरू चुनिन्छन्। यसले संसद्मा कुनै अमूक दलको बहुमत पुग्दैन, त्यसैले गठबन्धन गर्नैपर्छ।
चुनावपछि निश्चित राजनीतिक संस्कृति, मूल्य–मान्यतामा आधारित गठबन्धन बनाएर साझा लक्ष्य तय गर्ने र त्यसलाई प्राप्त गर्न साझा कार्यक्रम बनाउन सक्दा गठबन्धन खराब अभ्यास होइन। गठबन्धनलाई गाली गर्नु भनेको अहिले भइरहेको संरचना गलत छ भनेर बुझ्नुपर्छ। त्यस्तो होइन। अल्पमतले शासन गर्नुपर्छ भन्ने पनि होइन। बहुमत पुर्यानउन गठबन्धन गर्नैपर्छ तर त्यो निश्चित मूल्य, मान्यता र संस्कृतिमा आधारित हुनुपर्छ।
मूल्य र मान्यतामा आधारित सुसंस्कृत राजनीतिको जग राजनीतिक नैतिकता होला। त्यो भनेको राजनीति नीति र विधिको सर्वोच्चता हो। यही नै कमजोर देखियो हाम्रोमा। यसका लागि हाम्रा केही ऐतिहासिक र सांस्कृतिक पक्षहरू जिम्मेवार छन् ?
राजनीति यो अवस्थामा पुग्न आर्थिक, सामाजिक लगायत कारण जिम्मेवार छन् र त्यसको निश्चित ऐतिहासिक कारण भइहाल्छ। त्यसका निश्चित कारक, सहयोगी तत्वहरू हुन्छन् जसले यहाँसम्म पुर्यािउँछ। मूल्यमा आधारित राजनीति गर्नेहरूको अभाव खड्किनुका पछाडि सामाजिक, सांस्कृतिक आधारहरू छन्। नेता आफैंमा सामाजिक, सांस्कृतिक लगायत दायित्वहरूबाट मुक्त भएर देशको नेता अथवा प्रधानमन्त्री हुन सकिरहेको छैन। उसले आफ्ना तिनै दायित्वहरूलाई प्रमुख ठानिरहेको हुन्छ।
हाम्रोमा, फलानो मन्त्री भएर एक जनालाई जागिर खुवाउन पनि सकेन, यस्ता मान्छे मन्त्री भयो भनेर के खुसी हुनु ? भन्ने धेरै मानिस भेट्छौं। यस्तो मानसिकता र मनोविज्ञान एकगठ भएपछि त्यसले कोही व्यक्तिलाई खास तरिकाले व्यवहार गर्न प्रेरित गर्छ।
तर यो त आम मानिसको लागि लागू हुने कुरा हो। त्यस्ता चिजबाट मुक्त भएर यो मानिसले हामीलाई नेतृत्व गर्न सक्छ भनेर उनलाई नेता भनिएको हो। किन सबै मानिस नेता हुन सकेनन् ? किनकि यस्ता केही सामाजिक, सांस्कृतिक लगायत बन्धनहरूबाट मुक्त भएर नेतृत्व गर्न सबैले सक्दैन। तर हाम्रा नेताहरू त्यसबाट मुक्त हुन सकेनन्।
हाम्रो नेतृत्वको चेतनास्तर र दूरदर्शिता छैन भन्न खोज्नुभएको ?
जतिसुकै आधुनिकता र नवउदारवादका कुरा गरे पनि हामीले नवउदारवादी चेतना नै विकास गर्न सकेका छैनौं। कम्तीमा हामीले गाली गर्ने नवउदारवादी चेतना मात्रै विकास भइदिएको भए पनि अहिलेका नेताहरू यति खराब हुँदैनथे। उहाँहरूमा त पश्चगामी र सामन्ती चेतनास्तर छ। त्यो पनि उन्नत सामन्त होइन कि पुरातन सामन्ती संस्कारबाट आइरहनुभएको छ। पुरातन सामन्तको पनि विभिन्न चरण हुन्छ, एउटा ठाउँमा पुगेपछि सामन्त पनि अलि प्रगतिशील हुन्छ।
पुरातन सामन्ती चेतबाट माथि उठ्न नसकेको राजनीति र राजनीतिक नेताहरू छन् भन्नुपर्ने हुन्छ। मैले आफ्नो जीवनभरि हेरें, हाम्रो नेताहरूमा पर्सिसम्म पनि देख्न नसक्ने, आज र भोलिको कुरा मात्रै गर्ने एकदमै अल्पदृष्टि देखिन्छ। यो एकप्रकारले गैरऐतिहासिक दृष्टिकोण हो। त्यसैले उहाँहरू दूरदृष्टिको अभावको भयंकर रोगी हुनुभयो। त्यसैले नजिक बसेकालाई खुसी बनाउने, जो अगाडि आइपुग्छ त्यसैलाई राम्रो देख्ने, वरिपरि झुम्मिएकाहरू नै आफन्त जस्तो लाग्ने भए।
१४ वर्षसम्म जेल बस्दा, भूमिगत भएर हतियार उठाउँदा पनि लोकतन्त्रको सपना देख्ने नेतृत्वलाई कसरी दूरदृष्टि नभएको नेतृत्व भन्नु फेरि ?
होइन, यो परिस्थितिजन्य कुरा हो। त्यो कुरा मानिस दूरदृष्टि र प्रगतिशील हुने कुराको पूर्वशर्त होइन। राजनीतिक संलग्नता लगायत खास कारण र अवस्थाले कोही जेल बसे, कोही लडाइँमा गए। तर त्यो नै दूरदृष्टिको पूर्वशर्त र आधार होइन। त्यति सबै गरेपछि भएको भए राम्रो हुन्थ्यो। तर उहाँहरूले त्यसलाई लगानी ठानेर प्रतिफल खान पाउनुपर्छ भने जसरी हेर्नुभयो।
व्यापारीले लगानी गर्छ र प्रतिफल खोज्छ। नेताले त त्यस्तो लगानी गरेका होइन नि ! तर नेताहरूले युद्ध लड्यौं, जेल बस्यौं, दुःख पायौं जुन हाम्रो लगानी थियो, अब प्रतिफल खान देऊ भने जस्तो गरी लिनुभयो। त्यो न राजनीतिक नैतिकता हो न राजनीतिलाई त्यसले स्वस्थ बनाउँछ।
अलिकति मतदाताको मनोविज्ञानको पनि समीक्षा गरौं न। हाम्रोमा नेताको देवत्वकरण र राक्षसीकरण कसरी गरिन्छ, हामी सबैले देखेरभोगेकै छौं। मन्त्रीरप्रधानमन्त्रीलाई खादा माला बोकेर बधाई दिन जानेहरूको लाइन देखिन्छ। मतदाता किन यस्ता भए, प्रश्न रित्तिएका, आलोचनात्मक चेत नभएका ?
मतदाता होइनन् ती। मतदाता भनेका एउटा चुनाव क्षेत्रमा एउटा मान्छेले चुनाव जित्नका लागि झण्डै ३० हजार भोट ल्याउँछ। अहिले परिवारको संरचना हेर्योा भने झण्डै डेढ लाख मानिसको समर्थन उसलाई छ भन्ठानौं। यसरी नेता भेट्न जाने मानिस कति हुन्छ ? ५०० जना, २०० जना ?
प्रतिनिधिमूलक लोकतन्त्रमा अध्यक्षलाई चुन्ने केन्द्रीय सदस्यहरू पार्टीभित्रका मतदाता भएनन् र ?
राजनीतिक संगठनका हिसाबले ठिकै हो तर अघि हामीले भने जस्तो मतदाता यस्तो भएको होइन। मतदातामध्येका सीमित सङ्ख्याका केही मानिसहरूलाई थाहा छ कि नेताको दृष्टिकोण एकदमै सीमित र छोटो छ। उनीहरूले परसम्म हेर्न सक्दैनन् भनेपछि केही फाइदा पाउनको लागि उनीहरूको अगाडि पर्नुपर्यो । विवेकशील नेता भइदिएको भए अगाडि नबसे पनि उसले सबै मतदाता र जनतालाई समान रूपले हेर्थ्यो र सबैको समस्या बुझ्ने आफ्नो संयन्त्र निर्माण गर्थ्यो। तर त्यस्तो त छैन।
कार्यकर्तालाई पनि थाहा छ कि नेतासँग दूरदृष्टि छैन, म उसको अगाडि पर्नुपर्छ। त्यसैले खादा माला लिएर बधाई भन्नका लागि भीड लागेर नेताको घर, पार्टी कार्यालय, आवास र मन्त्रालयहरूमा धाउँछन्। त्यसो गर्दा नेताले मलाई काउन्ट गर्छ, मलाई नजरमा राख्छ र गणना गर्छ र मैले केही पाउँछु भन्ने आशा हुन्छ। र, केही खुसी पनि होला। तर अर्को एउटा कार्यकर्ता उत्तिकै खुसी भइरहेको हुनसक्छ, तर त्यो अगाडि आउन नसक्दा नेताले ऊ त आएन भनिरहेको हुन्छ।
तपाईंहरूले कक्षा कोठामा सिद्धान्तको कुरा गर्दा भन्ने गरेको मानव समुदायको निकै पुरातन अभ्यास ‘बिग म्यान’ र ‘चिफटेइन्सी’ अवधारणासँग कतै हाम्रो राजनीतिक नेतृत्वको शैली तुलना गर्न सकिने अवस्था देखिएको हो र ?
एक हिसाबले। हाम्रो संगठन परम्परा यति पुरानो छ कि हिजो कुनै ट्राइबलहरूको चिफ्टेन जस्तो हुन मन पराउँछन् नेताहरू र त्यस्तै भइरहेको छ। यो एक हिसाबले भर्खर–भर्खर समूह र सामूहिकता निर्माण भइरहेको बेला सामाजिक संगठनहरू बलियो हुँदै गर्दा त्यसलाई हिजो जस्तो खालको समानतामा आधारित बहुनेता भन्दा एकजना अलि बलियो खालको जसले संरक्षण पनि गर्न सक्छ भन्ठानिन्छ, त्यस्तोलाई चिफ ठान्ने चिफ्टेन प्रणाली। भर्खर समाज ब्यान्डबाट ट्राइबहरूमा विकास भइरहेको बेला हिजो त्यस्तो अभ्यास हुन्थ्यो।
अहिले हेर्यो भन्ने साँच्चै त्यस्तै देखिन्छ। नेताहरू एउटा समूहको मुखिया जस्तो देखिन्छन्। उसको वरिपरि हिंड्ने मानिसहरू, उसले सरसहयोग गर्ने र मनपराउने मान्छेहरू, सधैं वरिपरि राख्ने मान्छेहरू अर्थात् झुन्ड हिजोको ट्राइबल युगको झल्को दिने खालको छ र २१औं शताब्दीको नेताभन्दा पनि कुनै ट्राइबल मुखिया जस्तै देखिन्छ।
पार्टीभित्रको अभ्यास हेरेर जनता र मतदाताले होइन, पार्टीभित्रै, केन्द्रीय नेताले पनि सर्वोच्च नेतालाई त्यो मेरो पनि नेता हो भनेर अनुभूत गर्ने अवस्था छैन।
हामी समाजवादको नारा लगाउँछौं तर हाम्रो चेतना चाहिं नवउदारवादी तहसम्म पनि उठेको छैन, अभ्यास हेर्दा ट्राइबल युगतिरको छ। पार्टीभित्र प्राइमरीको नारा लगाउने पार्टीभित्र पनि यस्तै मुखिया प्रवृत्ति देखियो। यो समस्याको जरो के होला ?
आफ्नो प्रतिपक्षी कत्तिको बलियो छ, तपाईं त्यही अनुसार तयारी गर्नुहुन्छ। हाम्रा नेता उन्नत, प्रगतिशील र दूरदृष्टिवाला भएको भए ‘नो नट अगेन’ वाला नारा पनि आउँदैनथ्यो। त्यस्ता पार्टीहरू नै जन्मिंदैनथे। समस्या नयाँ आउनेमा होइन, पुरानो कमजोर भइसकेपछि कमजोरको विकल्प पनि कमजोर नै देखापर्ने हो। समस्या यो हो।
नेपाली समाजमा बढिरहेको भनिएको बेचैनी, कोलाहल र आक्रोशको सम्बन्ध यिनै राजनीतिक बेथितिसँग छ ?
छ, तर कोलाहल, बेथिति र आक्रोशका तीन परिभाषा र अर्थ छन्। त्यसका फरक फरक कारण छन्। बेथितिको एउटा कारण सुशासनको अभाव पनि हो। सडक, सरकारी कार्यालय, विश्वविद्यालय जता जानुस् बेथिति छ। बेथितिले एउटा बेचैनी पैदा गर्छ। तर मलाई नेपाली समाजको सबैभन्दा ठूलो समस्या नै आक्रोश र प्रश्नहरूको कमि हो जस्तो लाग्छ। तीव्र र क्षणिक प्रतिक्रिया धेरै छ हाम्रोमा तर आक्रोश छैन।
सामाजिक सञ्जालमा गाली गरिरहेको, निराशा व्यक्त गरिरहेको देख्छौं। केही अध्ययनहरूलाई आधार मान्ने हो भने सामाजिक सञ्जालको प्रयोगले मानसिक स्वास्थ्यलाई एकदमै असर गरेको देखिन्छ। फेसबुक लगायतले गरेको अनुसन्धानले सामाजिक सञ्जालको जति धेरै प्रयोग गर्योअ, त्यति नै धेरै मानसिक रूपमा विक्षिप्त र रोगी छन् रे ! सामाजिक सञ्जाल धेरै प्रयोग गर्नेहरू निराश हुने, डिप्रेसनमा जाने, एक्लोपन महसुस गर्ने र आत्महत्याको प्रयाससम्म गरेको आएको छ एकातिर।
अर्कोतिर, मनोवैज्ञानिकहरूले गरेको अध्ययनले आक्रोशले क्षतिग्रस्त मूडलाई रिपेर गरेको देखाउँछ। सामाजिक सञ्जालमा आउने कुराले बिरामी बनाउने रहेछ। आक्रोशले ड्यामेजलाई रिपेर गर्ने रहेछ। यसरी हामीले जेलाई आक्रोश भनिरहेका छौं, त्यो आक्रोश होइन।
तर मानिसहरू आक्रोशै आक्रोश छ भनिरहेका छन् ?
होइन, छैन। कहाँ छ आक्रोश ? आक्रोश त खास खालको मनोविज्ञान र समझ निर्माण हो। मान्छेले गाली र घृणा गरिरहेको छ। प्रतिक्रिया दिइरहेको छ, आवेग अभिव्यक्त गरिरहेको छ। तर त्यो आक्रोश होइन। आक्रोश त कुनै विषयप्रतिको असन्तुष्टि र प्रतिरोध हो। आक्रोशले जब एउटा सामूहिक आकार लिन्छ, त्यसले एउटा विकल्पको अपेक्षा गरिरहेको हुन्छ। अहिले हामीले जेलाई आक्रोश भनिरहेका छौं, खासगरी सामाजिक सञ्जालमा आइरहेको त घृणाको अभिव्यक्ति हो। कुनै पनि घृणाको अभिव्यक्ति आक्रोश होइन। तत्कालको प्रतिक्रिया पनि आक्रोश होइन।
अहिले भनिएको आक्रोश वास्तविक नभएर निर्मित आक्रोश हो भन्न खोज्नुभएको ?
निर्मित भन्दा पनि फेक आक्रोश भन्नुपर्ला। आक्रोश त निर्मित नै हुन्छ। हाम्रो कुनै पनि मानसिक अवस्थाहरू निर्मित हुन्छन्। जस्तो कि निराशा। एउटै घटनामा पनि तपाइँ र म बराबर निराश हुँदैनौं। तपाईंको सामाजिक सांस्कृतिक पृष्ठभूमिले एउटै घटनामा पनि हामी फरक फरक ढंगले निराश भइरहेका हुन्छौं। त्यसैले आक्रोश निर्मित नै हो अहिलेको हाम्रो समस्या आक्रोश निर्माण नै हुन सकेन।
हामीले बेथिति छ, सुशासन र अपेक्षाकृत डेलिभरी छैन भन्यौं। राजनीतिक नैतिकता छैन। तर हामीले घृणा मात्रै गरिरहेका छौं। क्षणिक प्रतिक्रिया दिएर छोडेर हिंडिरहेका छौं। आक्रोशको त आयु हुन्छ। यो टिकाउपूर्ण हुन्छ जुन केही समय बाँच्नुपर्छ। आक्रोश त लामो समय लगाएर बन्छ।
मानिसहरूमा बेचैनी, निराशा र घृणा छ। यस्तो हुनु गलत छ। तर यसो गरिरहँदा केही मानसिक सन्तुष्टि मिल्छ होला। नियमितता र प्रवृत्ति देखिंदैन भने आक्रोश निर्माण हुनसक्दैन। आक्रोशले आन्दोलनसम्म पुर्यालउने हो। परिवर्तनसम्म प्रेरित र निर्देशित गर्छ। सामाजिक सञ्जालमा देखिने असन्तुष्टिको आयु एउटा पोस्टदेखि अर्को पोस्टसम्म मात्रै हो।
नेपाली मतदातादेखि नेतासम्म नै एकप्रकारको अधैर्य देखिन्छ। लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्कियो। भारतमा कंग्रेस ११ वर्षदेखि प्रतिपक्षमै छ। हाम्रोमा प्रतिपक्षमा कुर्न कोही तयार छैन। सबैमा सत्तामा पुग्ने हतारो देखिन्छ। यस्तो अधैर्यको कारण के होला ?
बाहिरतिर, भारतमा पनि राजनीति तलमाथि पर्दा, सरकार अदलबदल हुँदा पनि दैनिक जीवनमा त्यति धेरै ठूलो असर पर्दैन। त्यहाँ एउटा स्थायी सरकार-कर्मचारीतन्त्र छ। प्रणाली छ। बेलायतमा त यो झन् बलियो छ। त्यसले एकप्रकारको सुशासनलाई सुनिश्चित गरिरहेको हुन्छ। त्यसैले जनताको दैनिक जीवनमा तलमाथि पार्दैन। त्यो अर्थमा मानिसहरूलाई राजनीतिप्रति धेरै रुचि पनि हुँदैन।
नेपालमा यस्ता धेरै सार्वजनिक संस्थाहरू जसले सुशासन कायम गर्नुपर्छ, ती त्यति शक्तिशाली छैनन् र ती राजनीतिमा निर्भर छन्। राजनीतिक परिवर्तनपिच्छे त्यो फरक पर्ने र त्यसले हाम्रो दैनिक जीवनलाई समेत असर पार्ने गरेकोले नेता र राजनीतिप्रति बढी नै आकांक्षा र अपेक्षा हुन्छ।
त्यस्तै, हाम्रो नेताहरूले पर्सिसम्मको पनि सोच्दैनन्। आज केही प्राप्त गर्न जस्तो पनि प्रतिज्ञा गरिदिन्छ। यति ठूल्ठूला प्रतिबद्धता व्यक्त गर्छ कि वास्तवमा नागरिकले त्यो अपेक्षा गर्नुहुन्छ। नेता र दलहरूले त्यसलाई पूरा गर्न सक्ने अवस्था हुँदैन। तथ्य र यथार्थमा आधारित वाचा नगरी चुनाव जित्नका लागि तत्काल एक भोट सुनिश्चित गर्न राजनीतिक नेतृत्वले जे पनि प्रतिज्ञा गरिदिन्छ। मतदाताले पत्याउँछन् तर व्यवहारमा त्यस्तो हुँदैन। त्यसैले मतदाता पनि हिजो मत दियो, आज नै गाली गर्न थालिहाल्छ। यस्तो मानसिकता निर्माण गर्न राजनीतिक दल र नेताहरू नै जिम्मेवार छन्।
यस्तो हतारोमा हाम्रो कमजोर ‘मोरल इकोनोमी’ पनि जिम्मेवार होला। हाम्रोमा अन्डरग्राउन्ड इकोनोमी बलियो भइरहेको छ भनिन्छ। चुनावदेखि चुनावसम्मको दुश्चक्रमा फसे जस्तो देखिन्छ। हाम्रो नेतृत्वले नैतिक धरातल गुमाइरहनुको पछाडि यही कारण हो ?
सकिन्छ होला। तपाईंले भने जस्तो मोरल इकोनोमी भर्सेस् अन्डरग्राउन्ड इकोनोमी होइन। मोरल इकोनोमी भनेको नाफा घाटा मात्रै सबै कुरा होइन भन्दै सांस्कृतिक र वैचारिक हिसाबले निर्देशित अर्थतन्त्र हो। त्यस्तो उल्टो सबै कुरा नाफा र तत्कालको फाइदा हो। जेगरी फाइदा हुन्छ त्यो लिइहाल। संसारका सबै मान्छे एउटै हुन्, उनीहरू कसरी हुन्छ आफ्नो फाइदा अधिक बनाउन मरिमेट्छन् भनेर छुट दिने अभ्यास हो। त्यसलाई फर्मालिस्ट र सस्ट्यान्टिभिस्ट पनि भनिन्छ। त्यो भनेको नाफा नै सर्वोपरि हो, त्यसैमा लागिहाल भन्नेहरूको भीड हो।
यसको अर्थ मोरल इकोनोमी छायाँमा पारिराख्यो जसले सामुदायिक अर्थात् लोक अर्थतन्त्रहरूलाई ध्वस्त बनायो। मूल्यमान्यता र सामाजिक मर्यादामा आधारित सांस्कृतिक चिन्तन र परम्परा अनुरूपको विचार निर्देशित अथवा वैचारिक अर्थतन्त्र र मानवीय व्यवहार मर्दै र मारिंदै गएको देखिन्छ। त्यसको विपरीत नाफामुखी व्यवहार र अर्थतन्त्र बढ्दै गएको छ। त्यसले राजनीतिलाई पनि अधिक नाफाका लागि आतुर बनाएकोले त्यो बढी भ्रष्ट हुन गएको हो।
सिद्धान्ततः राजनीतिक सत्ता सबैभन्दा माथि हुन्छ भन्छौं। तर, व्यवहारमा आर्थिक सत्ता नै माथि देखिन्छ। यसको पनि हाम्रो राजनीतिसँग कतै सम्बन्ध होला ?
आर्थिक, सामाजिक, राजनीतिक भनेर सिमाना तानेर तिनीहरूका बीचमा भेद देखाउन सकिंदैन। तिनीहरू एकदमै एकअर्कामा आश्रित र मिश्रित हुन्छन्। तर विचारले निर्देशित गर्योस भने राजनीतिले निर्देशित हुन्छ। विचार नभइकन नाफा, फाइदा र पैसाले निर्देशित गर्योि भने त्यो पूँजीले निर्देशित गरेको हुनेभयो।
उदाहरण हेरौं। भर्खरै भारतमा एक व्यवसायीले ५० अर्ब खर्च गरेर विवाह गरे। उनले यसरी बिहे गरिरहँदा प्रतिदिन हजारौं संख्यामा भारतीय नागरिक भोकमरीले मरिरहेको छ। यदि एकजना व्यापारीले आफ्नो बिहेमा गरेको खर्च भारतमा गरिबी निवारण अथवा खाद्य सुरक्षाको लागि उपयोग गरेको भए त्यसले धेरै मान्छेको ज्यान जोगाउन सक्थ्यो। तर भारतको मिडिया, राजनीतिकर्मी लगायत वाह् वाह् भनिरहेका छन्।
यसरी आर्थिक सत्ता, अझ विना श्रमबाट पाउने पूँजीको सत्ताले राज गरिरहेको अवस्था हो। नेपालको राजनीतिमा पनि त्यस्तो प्रभावहरू झन् झन् बढ्दै गइरहेको देखिन्छ। हामीले गएको चुनावमा टिकट पाएका नेताहरूले पैसाको अभाव देखाएर चुनाव नलड्ने बताए। त्यो कुनै पूँजीवादी पार्टीको नेताले नभएर क्रान्तिकारी र कम्युनिष्ट भनिने पार्टीका नेताले भनेका हुन्। सत्ताको पनि एउटा संरचना र नैतिक जिम्मेवारी हुन्छ, यहाँ त नैतिक जिम्मेवारीविहीन आर्थिक सत्ता देखिन्छ।
यी सबै गतिविधि र अभ्यासले हाम्रो आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, संवैधानिक संयन्त्ररसंरचनाहरूले राम्ररी काम गर्न सकिरहेको छैन भनिन्छ। जस्तो कि संवैधानिक निकाय र लोकतान्त्रिक संस्थाहरूको अवस्था हेर्न सक्नुहुन्छ। स्ट्रक्चरल फङ्क्सनालिज्मको दृष्टिकोणबाट हेर्दा यी सबै गलत अभ्यासको सिकार ती संरचना र संस्था भइरहेका छन् र काम भइरहेको छैन भन्न सकिन्छ ?
सकिन्छ। जब यी विभिन्न संरचनाहरू, अंगहरू, इकाइहरूले काम गर्दैनन्, त्यसपछि सिंगो संरचनाले पनि काम गर्दैन। अहिले भइरहेको लगभग त्यस्तै हो। अदालत, प्रहरी, सरकारी कार्यालय, सेवा प्रवाह गर्नुपर्ने संस्थाहरूले काम गर्न नसक्दा सिंगो सरकार नै अक्षम भइरहेको हो। तर त्यसको दोहोरो सम्बन्ध छ। अक्षमताबाटै कसैले फाइदा पाइराखेको छ र कोही त्यसैमा रमाइरहेको छ।
नेतृत्व अल्पदृष्टिको हुँदा परसम्म, गाउँको मान्छे नै देख्न नसक्ने अवस्था भएकोले यो स्थिति सिर्जना भएको हो। अस्पताल जानुस्, गर्नुपर्ने खर्च र दुःख, नागरिकता लिन जाँदा पाउने दुःख, राष्ट्रिय परिचयपत्र लिन यति झन्झट र दुःख छ। परिचयपत्र पाउने त कहिले हो कहिले। यस्ता सामान्य विषयमा त हामी असफल छौं भने हाम्रा संस्था र सेवा दिने सार्वजनिक निकायहरू सक्षम छन् र सरकार सक्षम छ भन्नै सकिंदैन।
कुनै पनि देशको सरकार कति सक्षम छ भनेर हेर्ने सडकमा हो भनिन्छ। हाम्रो सडकको अवस्था हेरौं। फुटपाथ हेरौं, त्यहाँ हिंड्ने मान्छे हेरौं। वरिपरि खानदेऊ भनेर मागिरहेका मानिस हेरौं। सडकको सवारी साधनहरूको अराजकता हेरौं। सरकार भनेको कुनै स्थूल विषय होइन, यी सबै विषयहरूबाट हेर्नुपर्छ।