हेटौंडा/केही वर्षअघि दशरथ रंगशालामा भइरहेको राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रिय फुटबल खेलाडी मनिष डाँगी विपक्षी खेलाडीसँग ठोक्किएर अचेत हुनपुगे । तत्काल विपक्षी विदेशी खेलाडीले सीपीआर गरे र एकछिनमा होस आयो । पछि बुझ्दा रेफ्री तथा अन्य खेलाडीमा सीपीआरसम्बन्धि ज्ञान नभएको पाइएको चर्चा चल्यो ।

सीपीआर मुटुको धड्कन वा श्वासप्रश्वास अचानक रोकिएमा ज्यान बचाउन गरिने एक आकस्मिक प्राथमिक उपचार विधि हो । यसले मुटु र मस्तिष्कमा अक्सिजनयुक्त रगतको प्रवाह जारी राख्न मद्धत गर्दछ । यस प्रविधिले घाइते÷बिरामीलाई अस्पताल नपु¥याउञ्जेल मृत्युको मुखबाट फर्काउन सक्छ । हृदयघात, पानीमा डुब्नु, विद्युत् झट्का लाग्नु वा दुर्घटना हुँदा केही मिनेटमै मस्तिष्क क्षति भइ मानिसको ज्यान जानसक्छ । सीपीआरले यस्तो अवस्थामा रगत सञ्चार जारी राखेर ज्यान जोगाउँछ ।

हेटौंडामा सम्पन्न राष्ट्रिय बक्सिङ प्रतियोगितामा एक खेलाडीले खेलदौरान टाउकोमा चोट लाग्दा ज्यान गुमाए । सायद, तत्काल उपयुक्त उपचार पद्धति नभएर नै त्यस्तो हुन पुगेको बुझिन्छ । पूर्वी मकवानपुर हात्तीसुँडेको एक विद्यालयका क्षमतावान् विद्यार्थी खेलाडी तारा नेगी शरीरमा आवश्यक मात्रामा पोषण नपुगेका कारण बिरामी भए । घरको आर्थिक अवस्था र चेतना अभावका कारण उनी बिरामी भएर हेटौंडा अस्पतालमा भर्ना हुनुपर्ने अवस्था आयो । उनी एथलेटिक्समा जिल्लामा नाम कमाएका विद्यार्थी हुन्, जसले राष्ट्रपति रनिङशिल्डमा दर्शकबाट ‘चितुवा’ को संज्ञा पाएका थिए ।

खेल खेल्नुमात्र नभएर स्वस्थ्य रहँदै खेल्नु जरुरी छ । त्यसका लागि खेल्दा आइपर्ने समस्याबारे जानकारीको खाँचो छ । ‘यहाँका विभिन्न खेलका खेलाडीलाई स्पोर्टस् चिकित्सा कार्यक्रम हालसम्म राखिएको जानकारी छैन,’ नेपालका खेल स्वास्थ्यविज्ञ तथा बागमती प्रदेशका खेलकुद विकास परिषद्का लेखविज्ञ दीपेन्द्र ढकाल भन्छन्—खेलाडीलाई ज्ञान पटक्कै छैन । यसले खेलाडीलाई ठूलो खतरा देखिन्छ । खेलाडीलाई खेलअगाडि र पछाडि गरिने अभ्यास तथा पोषण (न्युट्रिसन) बारे पनि खासै जानकारी नभएको उनको बुझाइ छ ।

खेलमैदानमा खटिने जनशक्तिहरु दक्ष नहुनु पनि अर्को समस्या बनेको छ । नेपाली खेलमा स्पोर्टस् फिजियोको निकै अभाव छ, जसले खेलाडीहरुको पुनस्र्थापनामा ठूलै समस्या हुने गर्छ । पुनस्र्थापनापछि ठूलो चोटपश्चात् उपचारपछि पुनः खेलमा फर्किने प्रक्रिया शुरु हुने गर्दछ । भलिबल, कबड्डी, मार्सल आर्ट जस्ता खेलहरु हलभित्र उपयुक्त कार्पेटमा खेलाउनुपर्नेमा साह्रो जमिनमा खुला ठाउँमा खेलाउँदा टाउको, घुँडा तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लाग्ने गरेको छ । उनले भने—प्रतियोगिताहरु आयोजना गर्दा उचित जनशक्तिहरु परिचाल नगरिनु, पानी बोक्ने व्यक्ति र मैदानभित्र उपचार गर्ने व्यक्ति एउटै हुनु, एम्बुलेन्सलाई तयारीमा नराखिनु, तत्काल उपचारका लागि अतिसामान्य चिकित्सकीय प्रवन्ध मिलाउनु, उपकरणहरु पर्याप्त नहुनु नै नेपाली मैदानका मुख्य समस्याहरु हुन् ।

उनले शारीरिक तन्दुरुस्ती परीक्षण पद्धति निकै कमजोर रहेको बताए । ‘अझ चोटग्रस्त खेलाडीलाई जबर्जस्ती खेलाउँदा थप गम्भीर चोट लाग्नसक्छ भन्नेमा ध्यान दिने गरिएकै छैन, जित्न पाए भयो,’ उनले भने—खेल्दा समस्या भए शरीरको पछाडि भागमा बढी समस्या हुने गर्छ, शरीरका जोर्नीमा असर गर्छ । मांशपेशी फर्किएमा पुरानै अवस्थामा फर्काउन जबर्जस्ती गर्न नहुने उनको भनाइ छ । ‘तर, स्थानीयस्तरमा घाइते भए पनि राम्रा खेलाडीलाई प्रशिक्षकले जबर्जस्ती मैदानका छिराउने गर्छन्,’ ढकालको गुनासो छ ।

खेलाडीलाई खेल्नुपर्ने वार्मअप तथा खेलिसकेपछि कुलडाउनको एक्सरसाइज अनिवार्य रहेको उनले बताए । यहाँ कुनै पनि निकायले खेलाडीलाई ज्ञान नदिएको भन्दै उनले खेल्दा हुने इञ्जुरी र खेलाडीलाई खेलअनुसार आवश्यक पोषणबारे जानकारी गराउने नगरिएको दाबी गरे । खेलाडीको तौल, खेलको प्रकृति र खेलाडीले लगाउने जुत्ताले समेत खेलमा प्रभाव पार्ने उनको भनाइ छ ।

खेलाडीको तौलअनुसार जुत्ता नमिलेको अवस्थामा खुट्टामा समस्या हुने उनले बताए । स्वस्थ्य रहने नाममा बढी शारीरिक अभ्यास गर्न पनि हानिकारका रहेको उनले सुनाए । शरीरमा पानीको मात्रा तथा मिनरल्सको मात्रा मिल्नुपर्छ । खेल खेल्दा इञ्जुरी भएको ७२ घण्टासम्म चिसो आइसले सेक्नुपर्ने भए पनि केही समय सेकेपछि खेलाडीले वास्ता गर्ने नगरेको उनले बताए । ‘यहाँ त सामान्य प्राथमिक उपचारबाहेक केही गरिन्न,’ उनी चिन्ता व्यक्त गर्छन्—हालै एक भलिबल खेलाडीलाई कार्टमै चोट लाग्दा त टेबुल छोप्ने कपडालाई स्ट्रेचर बनाएको देखियो ।

धेरैजसो जिल्ला र क्षेत्रीयस्तरका खेलमा दक्ष स्पोट्र्स फिजियो हुने नगरेका कारण गर्दा सानो चोट लागेका खेलाडीलाई पनि गलत मसाज वा व्यायाम गराउँदा चोट झन् बल्झिएर खेलजीवन नै समाप्त भएका कयौं उदाहरण रहेको उल्लेख गरे । चोटपटक लागेपछि खेलाडीमा आउने मानसिक दबाबलाई सम्बोधन गर्न नेपालमा स्पोट्र्स साइकोलोजिष्टको चरम अभाव छ । यसले गर्दा खेलाडीहरु डिप्रेसनमा जाने वा खेलबाट पलायन हुने गरेका छन् ।

उनका अनुसार समस्याका मुख्य कारण स्थानीयस्तरका प्रतियोगितामा त के राष्ट्रियस्तरका खेलमा पनि प्रविधिमैत्री खेल चिकित्सा विधि, दक्ष स्वास्थ्यकर्मी र एम्बुलेन्स हुँदैनन् । बीमाको अभावका कारण खेलाडी घाइते भएपछि उपचार खर्च धान्न नसकेर खेल छाड्न बाध्य हुन्छन् । शल्यक्रियापछि मैदान फर्किनुअघि गरिने विशेष अभ्यासका लागि नेपालमा आधुनिक सुबिधासम्पन्न केन्द्रहरुको अभाव छ ।